निर्वाचनको मुखमा राजस्व अनुसन्धान विभागका महानिर्देशकको सरूवा, आयोगले दियो सहमति



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको ४ महिनामै सरूवा भएको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख मदन दाहाललाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सरूवा गरेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन १९ दिन मात्रै बाँकी रहेको अवस्थामा राजस्व छली सम्बन्धी अनुसन्धान गर्ने विभागको महानिर्देशक सरूवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्वाचन आचारसंहिता लागेकाले निर्वाचन आयोगसँग सरूवा सहमति लिएर विभागको महानिर्देशक परिवर्तन गरेको हो ।

निर्वाचन आयोग स्रोतकाअनुसार विभागको महानिर्देशक हेरफेर गर्न सहमति प्रदान गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि तेस्रो पटक विभागका महानिर्देशक परिवर्तन गरिएको हो ।

गत जेठ ३० गते प्रकाश पौडेललाई विभाग महानिर्देशकबाट हटाएर अधिकारीलाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो।

पौडेल असोज १३ गते विभागको महानिर्देशक भएका थिए । विभागमा रहेका महानिर्देशक रामप्रसाद आचार्यलाई गण्डकी प्रदेशमा सरूवा गरेर पौडेललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।


क्लिकमान्डु