सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो सबै लाइसेन्स बाँडने प्रक्रिया



काठमाडौं । नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको छ ।

बोर्डका अनुसार कात्तिक ४ गते सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट असोज २ मा प्रकाशित सूचना बमोजिमका आवेदन लिने लगायतका थप काम कारबाहीहरु बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितीमा राख्ने निर्णय भएको छ ।

बोर्डले असोज २ गते नयाँ स्टकका लागि लाइसेन्स दिने भन्दै ३० दिने र एउटा नयाँ स्टक र २ वटा कम्पनीलाई बस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन माग गर्दै सूचना प्रकाशित गरेको थियो । ब्रोकरका लागि पुरानो १ र नयाँ ४५ सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

स्टक र बस्तु विनिमय बजारका लागि आवेदन दिने आज अन्तिम दिन थियो । सर्वोच्चको उक्त आदेशपछि भने सबै प्रकृया स्थगित भएको छ ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त आदेश जारी गरेको थियो । अधिवक्ता दिपक बिक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रकृया रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

मिश्रले दायर गरेको रिट निवेदनमा अदालतले अर्को सुनुवाई नहुँदासम्म लागू हुनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अर्को सुनुवाइका लागि सर्वोच्चले दुवै पक्षलाई २२ गते बोलाएको छ ।


क्लिकमान्डु