कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै गुरुङ घरबास
त्रिवेणी । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ।
स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ ।
जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौदीकाली गाउँपालिका–६ लहापेमा पर्ने गुरुङ घरबासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको छ ।
पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाइमा कोदोको ढिडो, सिस्नोको तरकारी र तामाको अचार पर्ने गरेको छ ।
घरबासमा आएका पाहुनाको रोजाइमा परेका ती परिकारको स्वाद चखाइरहेका छन् गुरुङ घरबासका सञ्चालक । ‘यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरू खुसी हुँदै त्यही माग्नुहुन्छ’, घरबास सञ्चालक पवित्रा गुरुङले भनिन् ।
कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभवसमेत नहुने हुँदा त्यसको माग गर्ने उनले बताइन् ।
यससँगै स्थानीयरूपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरबासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको उनले जानकारी दिइन् ।
‘हामीले घरबासमा स्थानीयतालाई जोगाउन कोसिस गरिरहेका छौँ, त्यो खानाका परिकारमा मात्रै होइन, मनोरञ्जनका लागि प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिमा समेत ग्रामीण कला, संस्कृति र रहनसहनलाई समेट्ने गरेका छौँ’, सञ्चालक गुरुङले भनिन् ।
मनोरञ्जनका लागि झाम्रे, कुरुवालगायत लोकगीतसहितका सांस्कृतिक कार्यक्रम पाहुनाका लागि प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ । ती गीतमा स्थानीय विषयवस्तु, जीवनका सुख, दुःखका भोगाइ पर्ने गरेका छन् ।
धौबादी फलाम खानीको उत्तरी सिमाना लहापेमा पर्ने गुरुङ घरबास अग्लो पहाडको काखमा छ । प्राकृतिकरूपमा मनोरम स्थानमा पर्ने गुरुङ घरबास यहाँ रहेका १० घरपरिवार मिलेर विसं २०७३ देखि सञ्चालनमा ल्याएका हुन् ।
पहाडी क्षेत्रमा पर्ने यहाँको घरबासमा नवलपुरसहित आसपासका जिल्लाबाट समेत पाहुना आउने गरेका छन् । मुख्यगरी नवलपुरका राजमार्ग आसपास र चितवनबाट गर्मीको समयमा पाहुना लहापेस्थित घरबासमा आउने गरेका छन् । गर्मी छल्न बजार धेरैजसो यहाँ आउने गरेको गुरुङ घरबासका अध्यक्ष यमबहादुर गुरुङले बताए ।
गर्मी समयमा यहाँको मौसम चिसो हुने हुँदा पाहुनाको आगमन धेरै हुने उनले बताए । गुरुङ घरबासमा आउने आँखै अगाडि लमतन्न परेका अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि हिमशृङ्खलाका दृश्यावलोकन गर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको अध्यक्ष गुरुङले बताए ।
‘यहाँबाट मुख्यगरी विभिन्न हिमाल नजिकै देखिन्छ, यहाँ आउने जो–कोहीको मन हिमशृङ्खलाका दृश्यले तान्ने गर्दछ, पहाडी टाकुरा उस्तै देखिन्छन्’, अध्यक्ष गुरुङले भने, ‘यसकारण यहाँ आउने पाहुनाले रमाइलो महसुस गर्ने गर्दछन् ।’ घरबासमा आएका पाहुना पहाडी पाखामा पैदलयात्राको अनुभवसहित मृग र घोरल अवलोकन गर्न पाउने उनको भनाइ छ ।
वर्षाको समयमा पहिरोका कारण बाटो अवरुद्ध हुँदा भने घरबास सुनसानजस्तै हुने गरेको अध्यक्ष गुरुङले बताए ।
‘वर्षामा बाटो छेकिन्छ, बाटोको स्तरोन्नति गरे बाह्रै महिना घरबासमा सहजरूपमा पाहुना आउन सक्थे, यसका लागि सरोकारवालाले पहल गरिदिए हुन्थ्यो’, उनले भने ।
दश घरमा घरबास सञ्चालन गरिएको यहाँ २० वटा आवासीय कोठा छन् । एउटा कोठाको तीन सय ५० देखि चार सय रुपैयाँसम्म लिने गरेको घरबास सञ्चालक चमकुमारी गुरुङले बताइन् । घरबास सञ्चालनपछि जीविकोपार्जनमा सहयोग पुगेको उनले बताइन् । पहाडी क्षेत्रमा अन्य रोजगकारको अवसर नहुने भए पनि घरबास सञ्चालनपछि आयआर्जनको माध्यम बनेको उनले बताइन् ।