अनलाइन प्रणालीमार्फत् धितो बन्धक रोक्का तथा फुकुवा कसरी गर्ने ? यस्तो छ प्रक्रिया



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको धितो बन्धक रोक्का तथा रोक्का फुकुवाको काम अनलाइन प्रणालीमार्फत् गर्न सक्ने व्यवस्था गरेको छ ।

विभागले निर्देशिका संशोधन गरेर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ऋण लिन धितो बन्धक राखी रोक्का, रोक्का फुकुवाको अनलाइनबाटै हुने व्यवस्था गरेको छ । जसमा सरकारले छुट्ट कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ऋण लिन धितो बन्धक राखी रोक्का, रोक्का फुकुवाको कार्य अनलाइन प्रणालीबाटै हुने गरी विभिन्न क्षेत्रसँग चरणबद्ध विभागले समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभागले यसअघि नै कर्मचारी सञ्चय कोषसँग सम्झौता गरेर अनलाइन प्रणालीबाटै रोक्का तथा फुकुवाको कार्य सुरु गरिसकेको छ ।

त्यस्तै, हालै मेगा बैंक नेपालले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहजरुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र अर्थात् अनलाइन प्रणालीमा आबद्ध भएको छ ।

विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू-सेवा केन्द्र सञ्चालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरु गरेको मेगा बैंकले जनाएको छ ।

मालपोत कार्यालयमा रोक्का तथा रोक्का फुकुवाको काम मात्रै ६० प्रतिशत हुने भएकाले भीड कम गर्नका लागि अनलाइन प्रणालीको विस्तार गरिएको विभागले जनाएको छ ।

त्यस्तै, सरकारले उक्त व्यवस्था लागू गरेपनि कसरी धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्न सकिन्छ भन्नेबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले स्पष्ट पार्ने उद्देश्यले यस सामग्री तयार गरिएको छ ।

अनलाइन प्रणाली सञ्चालनका लागि कुनै पनि संस्था पहिलो भू–सेवा केन्द्रको अनुमति लिनुपर्नेछ । अनलाइन प्रणाली रोक्का, रोक्का फुकुवा गर्नको लागि बैंक तथा वित्तिय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सहकारी संस्थाले अनिवार्य रुपमा भूसेवा केन्द्र सञ्चालनको अनुमति लिनुपर्नेछ ।

त्यसपछि सम्बन्धित भू–सेवा केन्द्र सञ्चालकले रोक्का तथा रोक्का फुकुवाका लागि अनुरोभ भई पेश गरेको जग्गाधनी प्रमाणपूर्जा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस)मार्फत् जारी भएको हो÷होइन यकिन गर्नुपर्नेछ ।

एलआरआइएमएसमार्फत् जारी नभएको जग्गाधनी प्रमाणपूर्जा भए प्रणालीमा अपडेट गर्न सम्बन्धित मालपोत कार्यालयमा पठाई प्रणालीमा अपडेट गराई प्रणालीमार्फत् जारी भएको जग्गाधनी प्रमाणपूर्जा पशे गर्न लगाउनुपर्नेछ ।

त्यसपछि, एलआरआइएमएसमार्फत् जारी भएको जग्गाधनी प्रमाण पूर्जा पेश भएपछि भू–सेवा केन्द्र सञ्चालक संस्थाले सम्पूर्ण विवरणहरु भरी आवश्यक कागजात स्क्यान गरी अनलाइन आवेदनमा संलग्न गर्नुपर्नेछ ।

त्यस्तै, आवेदन संलग्न गरेपछि नियमानुसार लाग्ने राजस्व रकम तोकिएको बैंक खातामा जम्मा गरी सोको स्क्यान कपिसमेत संलग्न राखी रोक्का तथा रोक्का फुकुवाको लागि अनुरोध गरी सम्बन्धित मालपोत कार्यालयमा अनलाइन प्रणालीमार्फत् पठाउनुपर्नेछ ।

रोक्का तथा रोक्का फुकुवाको लागि अनुरोध भई अनलाइन प्रणालीमार्फत् प्राप्त लिखत मालपोत कार्यालयको सर्भिस डेस्कको भूमिका प्राप्त कर्मचारीले सो लिखत सम्बन्धित संस्थाको भू–सेवा केन्द्र प्रयोगकर्ताबाट आएको हो वा होइन एकिन गर्नुपर्नेछ ।

तर, अनलाइन प्रणालीबाट प्राप्त विवरण रुवू गर्दा विवरण अपुरो भए वा थप कागजात आवश्यक पर्ने भए कारण उल्लेख गरी सर्भिस डेस्कको भूमिका प्राप्त अधिकृत वा लिखत पारित गर्न तोकिएको कर्मचारीले सम्बन्धित भू–सेवा केन्द्रमा फिर्ता पठाउनुपर्नेछ ।

त्यसैगरी, आवश्यक कागजात संलग्न राखी अनलाइनमार्फत् प्राप्त हुन आएको विवरण ठिक दुरुस्त भए सर्भिस डेस्कको भूमिका प्राप्त प्रयोगकर्ताले पब्लिक एक्सिस मोडल प्रणालीबाट एलआरआइएमएसमा डाटा स्थान्नतरण गर्नुपर्नेछ । डाटा स्थानान्तरणको कार्य सम्बन्धित मालपोत अधिकृत वा लिखत पारित गर्न तोकिएको कर्मचारीले मात्र गर्नुपर्नेछ ।

स्थानान्तरण भएको डाटा एलआरआइएमएस प्रणाली सञ्चालन गर्ने सर्भिस डेस्कको भूमिमा प्राप्त कर्मचारीले जुनियर अफिसरलाई पठाउनुपर्नेछ ।

रुजुको लागि प्राप्त लिखत जुनियर अफिसरले रुजु गरी सबै विवरण दुरुस्त रहेको र नियमानुसार लाग्ने दस्तुरसमेत दाखिला भएको पाइएमा मालपोत अधिकृतसमक्ष पेश गर्ने र मालपोत अधिकृतले रोक्का लिखत पारित गरिदिने र रोक्का फुकुवा गर्नुपर्नेमा फुकुवा गरिदिनु पर्नेछ ।

रोक्का राख्ने तथा र फुकुवा गर्ने कार्य सम्पन्न भएपछि कार्यालयले रोक्का/फुकुवा पत्र प्रिन्ट कपीमा प्रमाणित गरी बैंक तथा वित्तिय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सहकारी संस्थाको आधिकारिक इमेल ठेगानामा स्क्यान प्रति पठाउने र सो पत्रको अभिलेख कार्यालयमा व्यवस्थितसँग राख्नुपर्नेछ ।

प्राप्त भएका रोक्का तथा फुकुवा सम्बन्धि विवरणलाई सम्बन्धित भूमिसुधार तथा मालपोत/मालपोत कार्यालयले प्राथमिकतामा राखी रुजु तथा पारित गरिदिनुपर्नेछ ।


क्लिकमान्डु