नेपाल टेलिकमले ल्यायो सामूहिक म्यासेज पठाउन मिल्ने सुविधा



काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने यही कात्तिक ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।

यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रतिसन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ मात्र लाग्नेछ ।

त्यसैगरी २,५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र ५ हजार रुपैयाँमा १० दिनभित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कनेक्ट भएका नम्बरहरु एक्सल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु