गोयन्का ग्रुपको एभरेष्ट रोलिङ उद्योगले एकै वर्ष गर्यो २ अर्बको व्यापार



काठमाडौं । गोयन्का ग्रपद्वारा सञ्चालित एभरेष्ट रोलिङ उद्योग प्रालिले एकै वर्ष २ अर्बका व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ९ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले नेपाली बजारमा ‘इभरोल’ ब्रान्डको स्टिलजन्य सामग्री बेच्दै आएको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ७३ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ४० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । भैरहवा उद्योग रहेको कम्पनीसँग वार्षिक २९ हजार ७ सय मेट्रिक टन स्टिलजन्य सामग्री उत्पादन क्षमता छ ।

कम्पनीले एंगल, पत्ती, स्क्वायर छड, प्लेन छड, तोर्कारी र टीएमटी बार उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले ग्याल्भानिज्ड वायर, बाइन्डिङ वायर, रुफ नेल र अन्य लाइन्ड सामग्री उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३६ करोड ८४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८४ लाख रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि १ अर्ब ३६ करोड अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीका अध्यक्ष नन्दलाल गोयन्का हुन् । कम्पनीअनुसार सन् २०२२ मा १.४१ प्रतिशतले मात्रै नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले ५.६७ प्रतिशतले नाफा कमाएको थियो । सन् २०२२ मा कच्चा पदार्थको मूल्य बढ्दा नाफामा असर परेको कम्पनीको भनाइ छ । तर, पनि कम्पनीले कोरोना महामारीमा समेत उच्च व्यापार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न देशबाट एमएस बिलेट र अन्य आवश्यक सागम्री विभिन्न देशबाट आयात गरी उत्पादन गर्दै आएको छ । कम्पनीले व्यापार गरेकामध्ये ९५ प्रतिशत सामग्री पश्चिम क्षेत्रमा बिक्री भएको कम्पनीले उल्लेख गरेको छ ।


क्लिकमान्डु