लक्ष्यअनुसार राजस्व नउठेपछि आत्तिए अर्थमन्त्री, भन्सार र राजस्वका हाकिमलाई भने- इमानदार हुनूस्



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष बराबर पनि राजस्व संकलन नभएपछि आन्तरिक राजस्व विभाग र भन्सार विभागका उच्च अधिकारीसँग छलफल गरेका छन् ।

शुक्रबार अर्थमन्त्रालयमा भएको छलफलमा अर्थ सचिव कृष्णहरी पुष्कर कर्ण, दुबै विभागका उच्च अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख, काठमाडौं उपत्यका भित्रका आन्तरिक राजस्व कार्यालय प्रमुखसमेत उपस्थिति थियो । मन्त्री शर्माले गत वर्ष बराबर पनि राजस्व संकलन नहुँदा असन्तुष्टी व्यक्ति गरे ।

गत वर्ष असोज मसान्तसम्म सरकारले २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्षभने असोज मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजस्व संकलन गरेको छ । जुन गत वर्षभन्दा १८ प्रतिशत कम हो ।

सबै निकायले इमान्दारीपूर्वक काम गर्दा लक्ष्यअनुसार राजस्व संकलन गर्न कुनै समस्या नरहेको मन्त्री शर्माको भनाइ थियो ।

‘लक्ष्यअनुसार राजस्व संकलन गर्न धेरै काम गर्नु पर्ने अवस्था छैन,’ मन्त्री शर्माले भने, ‘लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दा मात्रै तपाईंहरुले धेरै काम गर्नु पर्छ । यदि तपाईंहरु सबैले इमान्दारीपूर्वक काम गर्नु भयो भने चालु आर्थिक वर्षको राजस्व लक्ष्य धेरै होइन ।’

छलफलमा भन्सार विभागका अधिकारीले मौद्रिक नीतिमा कडाइ गर्दा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको धारणा राखे।

छलफलमा भन्सार विभागका अधिकारीले प्रतितपत्र (एससी) राष्ट्र बैंकले खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेपछि अवैध व्यापार बढेको गुनासो गरेका थिए ।

राष्ट्र बैंकको एलसी सम्बन्धि नीतिले घरायसी प्रयोजनका साना सामानहरु भन्सारबाट भन्दा पनि तस्करी भएर आयात भएपछि राजस्व लक्ष्य प्रभावित भएको भन्सार विभागका एक अधिकारीले बताए ।

यस्तै, भन्सार विभागका एक अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंक दर बढाउने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाले ब्याज महँगो बनाउँदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको भनाइ राखे ।

छलफलमा बैंक वित्तीय संस्थाले ऋण नदिँदा बजारमा आर्थिक गतिविधि सुस्त हुनुको साथै बढी राजस्व संकलन हुने निजी सवारी साधान खरिद गर्नेको संख्या घट्दा राजस्व लक्ष्य प्रभावित भएको विषय उठेको थियो ।

भन्सार विभागका अधिकारीले अवैध व्यापार नियन्त्रण नुहुँदा र आयात वृद्धि नहुँदासम्म लक्ष्यअनुसार राजस्व संकलन नहुने धारणा राखेका थिए ।

यस्तै, आन्तरिक राजस्व विभागका अधिकारीहरुले चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्यभन्दा ९ अर्ब रुपैयाँ कम राजस्व संकलन भए पनि आगामी दिनमा आर्थिक अवस्था थप खराब नभए लक्ष्यअनुसार राजस्व संकलन हुने धारणा राखेका थिए ।

बजारमा तरलता अभाव भएपछि आर्थिक गतिविधि कम हुनुको साथै यो वर्ष शेयर बजारमा गिरावट आउँदा गत वर्षको तीन महिना भन्दा ९ अर्ब कम पुँजीगत लाभ कर उठेकाले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको उनीहरुको भनाइ थियो ।

‘हामी लक्ष्य अनुसार नै राजस्व संकलन गरिरहेका छौं’, विभागका एक अधिकारीले भने, ‘यो वर्ष पनि गत वर्ष बराबर नै पुँजीगत लाभ कर उठेको थए राजस्व लक्ष्य पूरा हुने थियो ।’ यस्तै सरकारको पुँजीगत खर्च बढ्दा ठेक्कामा उठ्नु पर्ने मूल्य अभिवृद्धि कर पनि लक्ष्यअनुसार संकलन हुने विभागका अधिकारीको भनाइ थियो ।

कार्यक्रममा अर्थसचिव कर्णले राजस्व लक्ष्य चुनौतिपूर्ण नरहेकाले सबै निकायका अधिकारीलाई इमान्दारीपूर्वक काम गर्न निर्देशन दिए ।

अर्थमन्त्री शर्माले राजस्व लक्ष्य उठ्नै नसक्ने किसिमको नभएकाले सबै अधिकारीलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए ।

राजस्व सचिवको नेतृत्वमा टास्क फोर्स

कार्यक्रमको अन्त्यमा अर्थमन्त्री शर्माले देशभर सुक्ष्म निगरानी बढाउन राजस्व सचिव रामेश्वर दंगालको नेतृत्वमा टास्क फोर्स बनाउने प्रस्ताव गरेका छन् ।

टास्क फोर्सलाई बजार अनुगमन गर्दै विभिन्न कारबाही गर्ने सम्मका अधिकार दिने मन्त्री शर्माको प्रस्ताव छ ।

राजस्व सचिव इटाली भ्रमणका रहेकाले टास्क फोर्स कस्तो हुने भन्ने विषयमा निर्णय भने हुन सकेको छैन ।


क्लिकमान्डु