मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्र रोक्का गर्ने निर्देशिका अन्तिम चरणमा, कहिले होला जारी ?



काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का राख्ने निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।

बोर्डका अनुसार उक्त निर्देशिका निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ । सम्भव भएमा तिहारअघि, अन्यथा तिहारपछि जारी गर्ने गरी गरी काम भइरहेको बोर्डले जानकारी गराएको छ ।

बोर्डले विभिन्न सरोकारवाला निकायसँग निर्देशिका निर्माणका लागि सुझाव मागेको र सोही अनुसार निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुर्याएको जानकारी गराएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीका अुनसार नेपाल राष्ट्र बैंक, विद्युत् नियमन आयोग, बीमा समिति लगायत नियामक निकायसँग सुझाव मागेको र आएका सुझावमध्ये उपयुक्तलाई समावेश गरेर निर्देशिका निर्माणको काम अब अन्तिम चरणमा पुगेको छ ।

धितोपत्र बोर्डले साउन २६ गते संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका-२०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ । जारी गरेको मस्यौदामा निर्देशन जारी भएपछि मर्जर तथा एक्विजेशनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का हुने छैन ।

हाल मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार एकीकृत कारोबार नभएसम्म रोक्का हुने गरेको छ । जसले गर्दा लगानीकर्ताको सम्पत्ति बर्षौंदेखि बन्धक बनि रहेको छ ।

अहिले करिब दुई दर्जन कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरेको व्यवस्थालाई विनियमावली संशोधन गरेर नै बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजेसनको हकमा सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियमअनुसार हुने व्यवस्था गरिसकेको छ । मौद्रिक नीतिले गरेको व्यवस्थालाई टेकेर बोर्डले निर्देशिका तयार पारेको हो ।

केन्द्रीय बैंकले नै बैंक तथा वित्तीय संस्था एक आपसपमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली-२०७५ को पाँचौ संशोधन-२०७९ मा नै ‘गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुनेछ’ भन्ने व्यवस्था गरेको छ । जसले गर्दा बोर्डलाई थप अघिबढ्न सजिलो भएको छ ।

बोर्डले हाल जारी गरेको प्रारम्भिक मस्यौदामा गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारीसहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने उल्लेख छ ।

‘धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोवार रोक्का राख्नु पर्नेछ,’ बोर्डको मस्यौदामा उल्लेख छ ।

यस्तै संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुनपर्ने मस्यौदामा व्यवस्था रहेको छ ।

नयाँ व्यवस्थामा संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति गर्दा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रक्रिया, लाग्ने समय र लागतको विवरण, गाभ्ने/गाभिने तथा प्राप्ति पछि कायम हुने संस्थाको नाम तथा ठेगाना, गाभ्ने÷गाभिने तथा प्राप्ति पछि कायम हुने संचालक समितिको संरचना र संचालक समितिको नामावली पनि पहिला नै खुलाउनु पर्ने व्यवस्था हुने भएको छ ।

संगठित संस्थाको गाभ्ने÷गाभिने वा प्राप्त कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था मस्यौदामा रहेको छ ।


क्लिकमान्डु