होङ्सी शिवम् सिमेन्टको व्यापार २.३६ प्रतिशतले घट्दा पनि नाफा ११ प्रतिशतले बढ्यो



काठमाडौं । होङ्सी शिवम् सिमेन्ट प्रालिको व्यापार २.३६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २ं३६ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा घटेर १७ अर्ब ४ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) मा सिमित भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वार्षिक २० लाख मेट्रिक टन क्लिकङ्कर र २३ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता भएको कम्पनीमा दुई वटा कम्पनीको स्वामित्व छ । हङकङ रेड लाइन सिमेन्ट नम्बर ३ लिमिटेडको ७० प्रतिशत र शिवम् होल्डिङ प्रालिको ३० प्रतिशत हिस्सा रहेको कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०१५ देखि ‘होङ्सी’ ब्रान्डमा सिमेन्ट बिक्री गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा उत्पादन लागत बढ्दा कारोबार घटेको जनाएको छ । कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादनमा वृद्धि गर्दै लगेको जनाएको छ । जसमा कम्पनीले वार्षिक ग्रान्डिङ सिमेन्ट ३१ प्रतिशत र क्लिङ्कर ५ प्रतिशत बढी परिमाणमा बिक्री भइरहेको उल्लेख छ ।

पछिल्लो ३ वर्षको अवधिमा कोरोना महामारी र तरलता अभावमा समेत कम्पनीले हालसम्मकै उच्च व्यापार गरेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार २०२२ मा सिमेन्ट उद्योग क्षेत्रमा सबैभन्दा बढी कारोबार कम्पनीको रुपमा स्थापित भएको जनाएको छ ।

कम्पनीले आम्दानी गरेकोमध्ये ५६ प्रतिशत क्लिङ्करबाट हुने जनाएको छ । त्यस्तै, कम्पनीले सन् २०२२ मा ५३ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ४२ प्रतिशतले नाफा कमाएको थियो । जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

कम्पनीको सन् २०२२ मा व्यापार गरेकोमध्ये ३० प्रतिशत ग्रान्डिङ सिमेन्ट र ९० प्रतिशत क्लिङ्कर सिमेन्ट मुख्य १० ग्राहकबाट भएको छ । अहिले नेपालमा ५५ वटा सिमेन्ट उद्योग छन् । त्यसमा २० वटा क्लिङ्कर उद्योग छन् भने केही थप हुन लागेको उद्योग पाइपलाइनमा छन् । सिमेन्ट क्षेत्रमा उच्च प्रतिस्पर्धा भएकाले पनि नाफा कमाउन निकै चुनौती रहेकोक कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई एलए प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु