अर्थतन्त्र निराशाजनक अवस्थामा, बैंकले मात्र कमाए अरु सबैले गुमाए: शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलताले अर्थतन्त्र निराशाजनक अवस्थामा पुगेको बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीका अध्यक्ष गोल्छाले कोभिडको समयलाई बिर्साउने गरि अहिले अर्थतन्त्रमा समस्या आएको बताएका हुन् ।

‘सर्वसाधारणले महँगीको मार सहनु परेको छ । व्यवसाय गुमाउनु परेको छ र हामी निराशाजनक अवस्थामा पुगेको छौं’ उनले भने, ‘मुख्य समस्या शोधनान्तर घाटा हो ।’

एक वर्षदेखि शोधानान्तर झनझन कमजोर हुँदै गएको र विदेशी सञ्चिति एक वर्षमा १७ प्रतिशतले गिरावट आएको उनले बताए।

रेमिट्यान्सले धानेको अर्थतन्त्र भएकाले समस्याहरु निम्तिएको उनको भनाइ छ । धेरै कर्जा प्राप्तिको अवस्था नरहेको र निक्षेप संकलन कमजोर रहेको उनले बताए ।

पछिल्लो समय १८ प्रतिशतसम्म ब्याज पुगेको भन्दै उनले यसले उद्योगी व्यवसायीहरु समस्यामा परिहेको बताए ।

कात्तिक १ देखि लागू भएको चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकाले समस्या थपिएको उनको भनाइ छ । त्यसमा उद्योगी/व्यवसायीको विमति रहेको भन्दै त्यसलाई समाधान गर्दै जानु पर्ने उनले बताए ।

‘राष्ट्र बैंकको निर्देशिकाले झन् समस्याहरु निम्त्याएको छ । यसले अर्थतन्त्रलाई ठूलो निराशामा धकेल्ने छ’, उनले भने, ‘ठूला व्यवसायी मात्र होइन साना व्यवसायी पनि यसको चापमा छन् ।’

चालु आर्थिक वर्षमा १९ प्रतिशत राजस्व कम भइरहेको भन्दै अध्यक्ष गोल्छाले अब चालु खर्च चलाउन पनि गारो भएको र यसले गर्दा सरकार संकटमा पर्नेमा दुई मत नरहेको दाबी गरे ।

उद्योग, व्यापार व्यवसायमा गिरावट आइरहेको र औषत आर्थिक वृद्धिदर २ प्रतिशत मात्र रहेको उनले बताए ।

निर्माण उद्योगमा सबैभन्दा ठूलो गिरावट आएको गोल्छाले बताए ।

‘निर्माण उद्योगमा ६० प्रतिशतसम्म गिरावट आएको छ । अस्वाभाविक रुपमा नेपालमा निर्माण रोकिएको छ यसले सबैलाई असर गर्छ । इलेक्ट्रोनिक मार्केटमा पनि ठूलो गिरावट आएको छ । इन्स्योरेन्समा पनि गिरावट आएको छ । यो
ठूलो चिन्ताको विषय हो’ उनले भने ।

तर बैंकिङ क्षेत्रमा भने अस्वभाविक रुपमा नाफा बढेको उनको भनाइ थियो ।

‘गिरावट नआएको बैंकिङ क्षेत्र रहेको छ । बैंकिङ क्षेत्र बलियो हुनु हामी सबैको चासोको विषय हो । बैंकिङ क्षेत्र बलियो भएपछि मात्र हाम्रो अर्थतन्त्रमा स्थायित्व आउन सक्छ’, उनले भने, ‘तर अहिले बैंकिङ क्षेत्रमा मात्र अस्वभाविक रुपमा नाफा बढेको छ ।’


क्लिकमान्डु