५ अर्ब बढी लागतमा गैरिटाडदेखि चिसापानीसम्म १०२ किमी सडक स्तरोन्नति हुने



काठमाडौं । कैलालीको गैरिटाडदेखि चिसापानीसम्मको १०२ किमि सडक खण्ड स्तरोन्नति हुने भएको छ । गैरिटाड–कमल बजार–तुर्माखांद–जंगलेघाट–बबियाचौर–चिसापानीको १०२ किमि सडक खण्डको स्तरोन्नति हुने भएको हो ।

सडक विभागअन्तर्गतको योजना तथा अनुगमन महाशाखाअन्तर्गत योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यो सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरेको हो ।

सडक विभागअन्तर्गत काम हुने योजनाको अनुमानित कुल लागत ५ अर्ब २३ करोड २५ लाख १२ हजार ७५ रुपैयाँ रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिममा रहेको यो सडकखण्ड सुर्खेत, अछाम र कैलाली जिल्लामा पर्छ । सहायक राजमार्गका रुपमा रहेको यो सडकखण्डलाई दोहोरो बिटुमिनस सतह उपचार डिजाइन (डबल बिटुमिनर सर्फेस ट्रिटमेन्ट) शैलीको डिजाइनअनुसार स्तरोन्नति गर्न लागिएको हो ।

सडक खण्डको स्तारोन्नति गर्दा थप चौडाई वृद्धि गर्नुपर्ने भएकाले २७(०७ हेक्टर सामुदायिक वन क्षेत्र आवश्यक पर्ने देखिएको छ भने क्षेत्राधिकार (राइट अफ वे–आरओडब्ल्यु)का लागि २०२.८ हेक्टर वन आवश्यक देखिएको छ । प्रस्तावित सडकखण्डअन्तर्गत ३० किमी सडक चुरे क्षेत्र अन्तर्गत रहेको छ ।

यो सडकखण्डअन्तर्गत कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ र लम्किचुहा नगरपालिकाको वडा नम्बर ३, अछाम जिल्लाको कमलबजार नगरपालिकाका वडा नम्बर १, २, ५, ६, ८, ९ र १०, ढकारी गाउँपालिकाको वडा नम्बर ८ र तुर्माखांद गाउँपालिकाको वडा नम्बर ४, ५, ७ र कर्णाली प्रदेशअन्तर्गतको सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, १० र ११ अन्तर्गतका वस्तीहर रहेका छन् ।

सडक क्षेत्रको क्षेत्राधिकार सडकको बीच रेखाबाट दायाँबायाँ दुवै तिर १५/१५ किमि रहने गरि ३० मिटर र फर्मेसन चौडाइ ९.५ मिटर रहने प्रतिवेदनमा उललेख छ ।

स्तरोन्नतीका लागि प्रस्तावित सडक हाल ग्रावेल तथा माटे भएकाले यसको चौडाई बृद्धि गर्दै कालोपत्रे गरेर नाली, कल्भर्ट र पुलको निर्माण गर्ने गरि आयोजना सुरु हुन लागेको हो ।


क्लिकमान्डु