पुर्नतालिकीकरण र पुनरकर्जाको सुविधा नपाए बैंकलाई साँवा व्याज तिर्न नसक्ने होटल संघको घोषणा



काठमाडौं । होटेल संघ नेपाल (हान) ले अहिलेको परिस्थितिमा होटलहरुले लिएको साँवाको किस्ता र त्यसको व्याज तिर्न नसक्ने जनाएको छ ।

अहिलेको परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा व्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुर्नतालिकीकरण र पुनरकर्जाको सुविधा समेत उपलब्ध गराउन हानले माग गरेको छ ।

कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले त्यसलाई अहिले पनि निरन्तारता दिइनुपर्ने र बैंकहरुबाट लागू गरिएको हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने हानकोे माग रहेको छ ।

कोरोनाले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिए पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको हानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पु¥याएको छ । यसमाथि पर्यटक बढी आउने यससमयमा आसन्न निर्वाचनले समेत परोक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने निश्चित रहेको हानको धारणा रहेको छ ।

चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागिपरेको भए तापनि राज्यबाट कुनै सुनुवाई नभएकोले हामी व्यवसायी स्वयम् सरोकारवाला मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक तथा अन्य निकायमा दिनहुँ पहल गरी विभिन्न सुझावहरु प्रस्तुत गरी निरन्तर पुनरुत्थानको लागि प्रयासरत रहेको हानले जनाएको छ ।

पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको स्मरण गराएको छ ।

होटल व्यवसायीले भोग्नुपरेको हुँदा यी विषयमा राज्यबाट अविलम्ब सम्बोधन नहुने हो भने होटल उद्योगहरु बैंकको साँवा र व्याज बुझाउन नसकेर क्रमिक रुपमा बन्द गरिनुपर्ने अवस्थामा पुग्ने भन्दै बैंकको साँवा व्याज भुक्तानीको समयसीमा बढाउन माग स‌घले गरेकाे छ ।


क्लिकमान्डु