प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन



कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।

प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाकोतर्फबाट सहभागी २६ वर्षीय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो’, एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको दुःख निधन भयो ।’

लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा- १० का बासिन्दा हुन । उनको घर भने गोरखा पालुङटार हो । प्याराग्लाइडिङ खेलाडीको छाता संस्था एफएआइका कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत रहेका थिए ।

मृतक थपामगरको शव पोखरा–८ सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा रहेको छ । दुर्घटनाबाट प्रतियोगि खेलाडीको निधन भएपछि आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।


क्लिकमान्डु