हिमाल आरोहण गर्न ९०१ आरोहीले लिए अनुमति



काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १०८ आरोही समूहका ९०१ आरोहीले आरोहण अनुमति लिएका छन् ।

पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा ८,८४८.८६ मिटर, मनास्लु ८,१६३ मिटर लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका ४०४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि १ समूहका ५ आरोहीले अनुमति पाएका छन् । अमादब्लङ ६,८१४ मिटर, हिमाल आरोहणमा ११ आरोही समूहका १३१ ले अनुमति पाएका छन् । हिम्लुङ हिमालका ७,१२६ मिटर मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन् ।

यस्तै, धौलागिरि ८,१६७ मिटर आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से ७,८५५ आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् । अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ । यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका नौ सय एक आरोही यहाँ आएका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिए । उनले अहिले पनि केही हिमालमा आरोहण अनुमति पनि जारी भइरहेको बताए । उनका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौं अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताए ।

गोरखाको आरुखेतमा रहेका उनले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा रहेका छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ ।


क्लिकमान्डु