राष्ट्र बैंकको कदमले ब्याजदर बढ्दा व्यवसाय सञ्चालन गर्न कठिन भयोः पैठारी संघ



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले राष्ट्र बैंकको कदमले ब्याजदर बढ्दा व्यवसाय सञ्चालन निकै कठिन भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै आर्थिक क्रियाकलापमा गिरावट आउँदा व्यापारी, सर्वसाधारण र सरकारी राजस्व सबैमा नकारात्मक असर परेको जनाएको छ ।

बढ्दो ब्याजदरले अर्थतन्त्रलाई मन्दीको अवस्थामा पुर्याउने जोखिम उच्च रहेकाले यसलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक जस्ता निकायले चाँडोभन्दा चाँडो उपयुक्त कदम चाल्नुपर्ने संघको माग रहेको छ ।

राष्ट्र बैंकले महँगी नियन्त्रण गर्न भन्दै मुद्रा प्रदायलाई कसिलो बनाउँदै ब्याजदर बढाउने नीति लिएको भएपनि महँगी नेपालको आन्तरिक कारणले नभई बाह्य कारणले भएको संघको धारणा छ ।

संघले बैंकिङ कारोबार गर्ने सहकारी क्षेत्रमा विकृति बढेको, एकपछि अर्को बचत तथा ऋणको कारोबार गर्ने सहकारी समस्याग्रस्त बनेको र सर्वसाधारणको अर्बौं रुपैयाँ डुबेका खबर बारम्बार सार्वजनिक भइरहेको स्मरण गराएको छ । संघले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकले अनुगमन गर्ने र सहकारीहरुले अनौपचारिक तवरमा गर्ने बैंकिङ कारोबारलाई औपचारिक दायरामा ल्याउने पहल गर्न ढिला भइसकेको जनाएको छ ।

यस्तै माइक्रोफाइनान्स कम्पनीहरुले निश्चित सीमाभन्दा बढी ऋण लगानी गर्न नपाउने प्रावधानले गर्दा लघु, साना तथा मझौला उद्यम, व्यवसायले पर्याप्त मात्रामा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले विज्ञप्ति जारी गर्दै जीप भ्यान, ३०० डलरभन्दा बढी मूल्यको मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध खोल्न समेत माग गरेको छ ।

सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको र तीमध्ये ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरेको छ । अब कार जीप भ्यान, ३०० डलरभन्दा बढी मूल्यको मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध खोल्न आग्रह गरेको छ ।

बढी राजस्व संकलन हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको र ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको संघको धारणा छ ।


क्लिकमान्डु