ब्रोकर लाईसेन्सको आवेदन दिने समय ५ दिन बाँकी, अहिलेसम्म एउटा मात्रै कम्पनीको निवेदन



काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय ५ दिन बाँकी रहँदा अहिलेसम्म जम्मा एउटा मात्रै कम्पनीले आवेदन दिएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार नयाँ ब्रोकर खोल्नका लागि भन्दै हिमालयन सेक्युरिटीज लिमिटेडले आवेदन दिएको छ । हिमालयन सेक्युरिटीजे सिमित कार्य गर्न भन्दै आवेदन दिएको छ । सिमित कार्य गर्नका लागि धितोपत्र दलालको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ हुनुपर्ने नयाँ व्यवस्था रहेको छ ।

हिमालयनले सोमबार सिमित कार्य गर्नका लागि भन्दै बोर्डमा आवेदन दिएको सेबोनका प्रवक्ता रुपेश केसीले बताए ।
केसीका अनुसार अहिलेसम्म एउटा मात्रै कम्पनीले नयाँ ब्रोकर खोल्नका लागि आवेदन दिएको । नयाँ ब्रोकर खोल्नका लागि असोज ३१ गतेसम्म आवेदन दिन सकिने समय रहेको छ ।

हिमालयनले नयाँ ब्रोकरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिफारिससहित आवेदन दिएको केसीको भनाइ छ ।
असोज ३१ गतेसम्म आवेदन दिने समय रहेको छ । उक्त अवधिसम्म आवेदन दिएका कम्पनीबाट योग्यलाई छनौट गरेर पूर्वाधार तयार गर्न अनुमित दिने र बोर्डले तोकेको मापदण्ड अनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिने छ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि असोज २ गते ३० दिन भित्र आवेदन दिन भन्दै सूचना जारी गरेको छ । त्यसको अवधि ३१ गतेसम्म रहेको छ ।

निवेदकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नुपर्ने छ ।

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको बोर्डले जनाएको छ ।

निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नुपर्नेछ ।

रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही नहुने बोर्डले जनाएको छ । बोर्डका अनुसार सिमित कार्य गर्नका लागि न्यूनतम चुक्तापुँजी २० करोड, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लािग १ अर्ब ५० करोड चुक्तापुँजी आवश्यक पर्छ ।


क्लिकमान्डु