देशभर १९ सडक अवरुद्ध, वर्षाका कारण खुलाउन मुस्किल



काठमाडौं । पछिल्लो केही दिनयता परेको अविरल वर्षाका कारण देशभर १९ सडकहरु अवरुद्ध भएका छन् ।

सडक विभागकाअनुसार देशभरका विभिन्न क्षेत्रमा पर्ने १९ सडकखण्डहरु अवरुद्ध भएका हन् । विभागका अनुसार साँफेबगर–कोल्टी सडकखण्ड, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, सुर्खेत–जुम्ला सडकखण्ड, धनगढी–दार्चुला सडकखण्ड, बभाङको खोड्पे–चैनपुर, सुर्खेत–नाम्चेगोलालगायतका सडकखण्डहरु अवरुद्ध भएका हुन् ।

सडक डिभिजन कार्यालय साँफेबगरकाअनुसार साँफेबगर-मार्तडी-कोल्टी सडकखण्डको बाजुरास्थित अम्बोटदेखि बल्देसम्मको सडक अवरुद्ध छ । केही महिनाअघि बाट्रै अवरुद्ध रहेको यो सडकमा वर्षात र लेदो आउने क्रम रोकिएपश्चात यातायात कार्य खुलाउने तयारी रहेको छ भने हाललाई वैकल्पिक बाटोको लागि सहमति जुटाउने प्रयास भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।

त्यस्तै, पछिल्ला केही दिनमा भएको वर्षाका कारण तानसेन–रिडी–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तर्गत गलेश्वर, बैंसरी, गुइंठेभिर, रुप्से झरना क्षेत्रलगायतका ठाउँमा सडक अवरुद्ध भएको छ ।

गत बिहीबारबाट अवरुद्ध भएको सडक खण्ड खुलाउनका लागि एस्काभेटर र लोडर परिचालन भएपनि निरन्तर परिरहेको वर्षा र पहिरोका कारण सडक अवरुद्ध भएको कालिगण्डकी कोरिडोर (बेनी जोमसोम कोरला सडक आयोजना)ले जनाएको छ ।

गत बिहीबारबाटै डुम्रे–बेशीसहर–चामे सडकखण्ड पनि अवरुद्ध छ । यो सडकखण्डअन्तर्गतको अर्खले, घोप्टे, रामबजार, खोत्रो, धारापानीलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ । डुम्रे बेशीशहर चामे मनाङ्ग सडक योजनाको कार्यालयकाअनुसार निरन्तर परिरहेको वर्षाका कारण यी अवरुद्ध सडकलाई खुलाउन सकिएको छैन् ।

बेशीशहरबाट डुम्रेसम्मको सडकमा कुनै समस्या नभएपछि त्यसपछिको सडक भने अवरुद्ध छ । राजबजारमा एस्काभेटर तयारी अवस्थामा रहेतापनि अविरल वर्षाका कारण अवरुद्ध सडक खुलाउने काम सुचारु गर्न समस्या भइरहेको कार्यालयले जनाएको छ ।

त्यस्तै, कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–सुर्खेत–हिल्सा सडकखण्ड पनि अवरुद्ध भएको छ । सुर्खेतस्थित सडक डिभिजन कार्यालयकाअनुसार यो सडकखण्डको बोटखोला क्षेत्रमा सडक अवरुद्ध भएको हो । गत विहीबाटबाट सकड अवरुद्ध छ ।

अविरल वर्षा र पहिरोका कारण अवरुद्ध सडकहरु खुलाउन पनि समस्या भइरहेको छ । गत बिहीबाटै अवरुद्ध रहेको राप्ती राजमार्गको अमेलियादेखि मुसीकोटको सडकखण्ड अन्तर्गत पश्चिम रुकुम क्षेत्रमा पनि सडक अवरुद्ध छ ।

सडक डिभिजन कार्यालय चौरजहारीकाअनुसार गत असोज १९ गते राती पहिरो गएर अवरुद्ध भएको राजमार्गलाई भोलीपल्टै असोज २० मा खुलाएतापनि पुनः पहिरो गएकाले राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण सडक खुलाउनमा समस्या भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।

त्यस्तै, सुर्खेतदेखि दैलेखबाट गाल्जे हुँदै नाक्चेनान्गाको सडकखण्ड पनि अवरुद्ध छ । यो सडकखण्डअन्तर्गत जुम्ला, भुवलपाटा र वड्कीमा सडक अवरुद्ध भएको छ । शुक्रबारबाट अवरुद्ध भएको यो सडक खण्डलाई हाल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सुर्खेत–सातखम्बा–दुल्लु–मान्मा–नाग्मा–जुम्ला सडकखण्ड अन्तर्गत पनि रारालिहि, गडगढिनि र जुम्लामा सडक अवरुद्ध छ । यो क्षेत्रको सडक पनि खुलाउने काम भइरहेको छ ।

त्यस्तै, बझाङको खोड्पेदेखि चैनपुरको सडकखण्डअन्तर्गत बझाङको झनाना क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ । आइतबारबाट यो सडकखण्ड अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय बैतडीकाअनुसार हाल यो सडकखण्डलाई खुलाउने तयारी भइरहेको छ । यहि क्षेत्रमा बझाङको बहुलिगाड क्षेत्रमा पनि आइतबारबाट अवरुद्ध रहेको सडक खुलाउनलाई डिभिजन कार्यालय बैतडीले काम गरिरहेको छ ।

आइतबारबाटै धनगढी–वुडर–स्याउने, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर सडक खण्ड पनि अवरुद्ध भएको छ । बैतडीस्थित सडक डिभिजन कार्यालयकाअनुसार बैतडीको डोकडाकेदार क्षेत्रमा सडक अवरुद्ध भएको हो । हाल सडक खुलाउने प्रयास भइरहेको छ । यी बाहेक आइतबारबाटै सुर्खेतबाट दैलेख हुँदै मुहावुलेख–गाल्जे, नाग्मा–नाक्चेलान्गा सडकखण्ड, सुर्खेत–नाग्मा–जुम्ला सडक खण्डका विभिन्न क्षेत्र पनि अवरुद्ध छन् ।

विभिन्न ठाउँमा अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेतापनि अविरल वर्षा र निरन्तर खसिरहेको पहिरोका कारण ठाउँठाउँमा काम अघि बढ्न सकेको छैन् ।


क्लिकमान्डु