ड्रागन फल बिक्रीबाट १२ लाख आम्दानी



फाइल तस्बिर

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाख रुपैयाँ सम्म आम्दानी गर्दै आएको बताए ।

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थाल्नुभएका उहाँले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन् । अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपाल बताउँछन् ।

त्यस्तै, नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । फलफूल खेतीबाट वार्षिक बाह्र लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए ।

‘फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु’, उनले भने, ‘वर्षमा रु बाह्र लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।’

नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन फल लगाएका छन् । ड्रागन फल रातो प्रतिकेजी पाँच सय रुपैयाँ र सेतो प्रतिकेजी चार सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

त्यस्तै, कागती फार्मबाट प्रति केजी एक सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पु¥याउन भने सास्ती हुने गरेको नेपाल बताउँछन् । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ ।

‘मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु’, नेपाल भन्छन्, ‘बजार माग राम्रो छ । तर सडकको कारणबजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।’

नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती सुरु गरेका थिए । जिल्लामा पहिलो पटक व्यावसायिकरुपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित छन् । उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको बताउँछन् । व्यवसाय गर्नको लागि विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनले बताए ।

‘२२ वर्ष विराटनगर बसेँ,’ उनी भन्छन्, ‘गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरुले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।’

अहिले आफैंले विभिन्न फलफूलको पनि बिरुवा उत्पादन थालेको नेपाल बताउँछन् ।

ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने हुन्छ । पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण पनि हुने मानिन्छ । प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ ।

ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ । आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उनी बताउँछन् ।

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उनको भनाइ छ ।

‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्’, उनी भन्छन्, ‘सरकारबाट खास सहयोग पाएको छैन् । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।’

गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको उहाँको भनाइ छ ।

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुने गर्दछ । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ ।

कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने नेपाल बताउँछन् ।

रासस


क्लिकमान्डु