देशभरका कर र भन्सारका प्रमुख काठमाडौंमा, लक्ष्य अनुसार राजस्व उठाउन रणनीति बनाउँदै



काठमाडौं । भन्सार विभाग र आन्तरिक राजस्व विभागले देशभरका कार्यालय प्रमुखलाई काठमाडौं बोलाएको छ ।

दुवै विभागले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलनको रणनीति बनाउनुको साथैं भन्सार र कर प्रशासनमा देखिएका समस्या समाधान गर्न कस्तो नीतिगत सुधार गर्ने भन्ने विषयमा छलफल गर्न कार्यालय प्रमुखलाई डाकेका हुन् ।

हरेक वर्ष दुवै विभागले देशभरका कार्यालय प्रमुखलाई बोलाएर आयोजना गर्ने व्यवस्थापन सेमिनार यो वर्षपनि भदौ दोस्रो साता आयोजना गर्ने तयारी थियो ।

तर, अर्थ मन्त्रालयले भदौ ७ र ९ गते ६० भन्दा बढी कार्यालय प्रमुख सरुवा गरेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको थियो ।

मंगलबारदेखि सुरु भएको भन्सार विभागको सम्मेलन आज (बुधबार) समाप्त हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार भन्सार विभागको कार्याक्रम उद्घाटन गरेका थिए ।

बुधबारदेखि आन्तरिक राजस्व विभागको व्यवस्थापन सेमिनार सुरु भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले लक्ष्य अनुसार कर संकलन गर्न आन्तरिक राजस्व कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

‘प्रविधिको प्रयोग बढाउँदै लक्ष्य अनुसार राजस्व काम गर्नु होला,’ अर्थमन्त्री शर्माले भने, ‘तपाईंको सानो त्रुटीले राज्यलाई ठूलो नोक्सानी हुन्छ । त्यसैले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नु होला ।’

यो वर्ष भन्सार विभाग र आन्तरिक राजस्व विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । दुवै विभागले चालु आर्थिक वर्षको भदौसम्ममा १ खर्ब ६५ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेका छन् । जुन लक्ष्य भन्दा १ प्रतिशत कम हो ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार यो वर्षको असोज १० गतेसम्म गत वर्ष भन्दा १४.०५ प्रतिशत कम राजस्व संकलन भएको छ । यो वर्ष असोज १० गते सम्म १ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा गत वर्ष १ खर्ब ८५ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको भन्सार विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।


क्लिकमान्डु