विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटनः अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन भएको बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा उनले यस्तो बताएका हुन् । विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

परिसंघको उपाध्यक्ष समेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए ।

नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उनले बताए ।

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरेका छन् । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइनेछ ।


क्लिकमान्डु