वैदैशिक रोजगारीका क्रममा ठगिएकालाई ४८ करोड रुपैयाँ क्षतिपूर्ति



काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।

मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनि वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ती भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको जानकारी दिए ।

वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको उनको दाबी छ ।

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडि बढेको उल्लेख गरे ।

त्यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन बैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको उनले जानकारी दिए ।

इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भइ कार्य भइरहेको, सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको उनले जानकारी दिए ।

मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुनेगरी कार्यान्वयन गरिएको उल्लेख गरे ।

उनले श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भइ जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको बताए ।


क्लिकमान्डु