बढदो ब्याज र विप्रेषणले बढायो बैंकमा निक्षेप, कर्जा प्रवाह न्यून
काठमाडौं । असोजमा वाणिज्य बैंकले बढाएको ब्याज र चावपर्डसँगै थपिएको विप्रेषणका कारण एक साताको अवधिमा बैंकिङ प्रणालीमा २६ अर्ब १४ करोड रुपैयाँले निक्षेप बढेको छ ।
चालु आर्थिक वर्षयता बढ्न नसकेको निक्षेप पछिल्लो समय केही बढेको छ । भदौ मसान्तमा पनि प्रणालीमा निक्षेप ४० अर्ब ५४ करोड रुपैयाँले बढेको छ । भदौ मसान्तमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेस असोज पहिलो सातामा २६ अर्ब १४ करोड रुपैयाँले बढेर ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर लागू गरेका छन् । बैंकर्स संघको पूर्णबैठकले यसअघिको भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले तलमाथि गर्न पाउने व्यवस्था गरेको छ ।
यो सँगै नयाँ ब्याजदर अनुसार बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर कायम गरेका छन् । यसले पनि निक्षेप बढेको बताइन्छ । यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणका कारण निक्षेप बढेको जानकारहरुको भनाइ छ । पछिल्लो समय डलरको भाउ पनि दैनिक बढिरहेको छ । त्यसले गर्दा पनि विप्रेषण पठाउनेलाई सहज बनेको छ ।
बैंकमा २६ अर्ब १४ करोड रुपैयाँले निक्षेप बढ्दा कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेको छ । कर्जा ४ अर्ब रुपैयाँले बढ्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । असोज ७ गतेसम्म बैंकहरुको निक्षेप–कर्जा अनुपात (सिडी रेसियो) ८७.२१ प्रतिशत रहेको छ ।