विश्व पर्यटन दिवस नेपालमा यसरी मनाइँदैछ



काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।

‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

काठमाडौँ, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको निर्देशक लामिछानेले जानकारी दिनुभयो । दिवसको अवसरमा बिहान राजधानी काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा प्रभातफेरी आयोजना गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा विभिन्न पर्यटन क्षेत्रका संस्था प्रभातफेरीमा सहभागी छन् ।

यस्तै बिहान ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० को अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्ड र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकोको सहकार्यमा कागेश्वरीधाम वडा नं १ स्थित गागलफेदीमा वृक्षरोपण एवं सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको बोर्डले जनाएको छ ।

दिउँसो बोर्डको सभाहलमा औपचारिक समारोह आयोजना हुने र त्यहाँ सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनीलाई सम्मान गरिने कार्यक्रम छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले रक्तादान, फुटसल र बुङ्मतिमा सम्पदा यात्रा कार्यक्रम गरिएको छ ।

कोभिडपछिको पर्यटन पुनरुत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र व्यवसायीबीचको साझेदारितालाई फराकिलो बनाएर पर्यटन विकास गर्न दिवसले प्रोत्साहन गर्ने नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताए । उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र सांस्कृतिको आधारमा नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गरे ।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन क्षेत्रको चाँडो पुनरुत्थान गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने भन्दै पर्यटन चलायमान भएको सन्देश दिन दिवस सान्दर्भिक हुने धारणा राखे । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा रहेको छ । पर्यटकीय गतिविधि बढेका छन् । विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख छ ।

यसैबीच सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकका रूपमा मनाउने निर्णय गरेको हो । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागन भएको थियो ।

कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रूपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ ।


क्लिकमान्डु