राष्ट्र बैंकको दबाबपछि कुमारी र एनसीसी बैंकबीच मर्जरको सम्झौता



काठमाडौं । कुमारी र एनसीसी बैंक मर्जरमा जाने भएको छन् । दुई बैंकबीच सोमबार काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्र अनुसार सेयर आदान प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ । यसको अर्थ के हो भने कुमारी वा एनसीसी बैंकमा सेयरधनीको अहिले जतिकित्ता सेयर छ, मर्जरपछि बन्ने संस्थामा पनि त्यति नै कित्ता सेयर हुनेछ ।

पछिल्लो समय यी दुई बैंकलाई मर्जरमा जान नियामक नेपाल राष्ट्र बैंकले दबाब दिँदै आएको थियो । मर्जर तथाद एक्विजिशनमार्फत् बैंकको संख्या घटाउन केन्द्रित रहेको राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरमा जान बारम्बार दबाब दिँदै आएको थियो ।

मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् ।चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीइओ हुनेछन्।


क्लिकमान्डु