बैंकको ब्याजदरमा अर्थमन्त्रीको हस्तक्षेप, व्यवसायीलाई राहत दिन कमिटी गठन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन हस्तक्षेप गरेका छन् । केही दिनअघि देखि सार्वजनिक कार्यक्रममै ब्याजदरका विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै आएका मन्त्री शर्माले सरोकारवालाहरुसँग साढे ३ घन्टा छलफल गरे ।

आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको छलफलमा उद्योगी/व्यवसायी, बैंकर, राष्ट्र बैंकका प्रतिनिधि, अर्थ र वाणिज्य मन्त्रालयका सचिव लगायतका सरकारी अधिकारीहरु उपस्थित थिए ।

असोज १ देखि लागू हुने गरी बैंकर्स संघले ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गरेपछि बैंकहरुले धमाधम ब्याजदर बढाएका थिए । कतिपय बैंकहरुले निक्षेपमा १५ प्रतिशतभन्दा बढी ब्याज दिने घोषणा गरेका छन् ।

बैंकले ब्याजदर बढाएपछि व्यवसायीहरु आक्रोशित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति नै जारी गरेर ब्याजदरका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । व्यवसायीले सरकारलाई तीब्र दबाब दिएपछि अर्थमन्त्री शर्माले सरोकारवालासँग छलफल गरेका हुन् ।

आइतबार दिउँसो १२ बजेदेखि भएको छलफल साढे ३ बजे सकिएको थियो ।

व्यवसायीहरुले बैंकको ब्याजदर अचाक्ली भएको भन्दै सरकारसँग राहत दिनुपर्ने माग राखेका थिए । व्यवसायीले यस्तो माग गरेपछि अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको संयोजकत्वमा कमिटि गठन गरेका छन् ।

उक्त कमिटिमा राष्ट्र बैंकबाट १ जना, बैंकर्स संघबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना, एफएनसीसीआई, सीएनआई र चेम्बरबाट १/१ जना र आपूर्ति मन्त्रालयबाट १ जना प्रतिनिधि रहने छन् । त्यस्तै, अर्थमन्त्रालयको उपसचिव सदस्य सचिव रहने छन् ।

उक्त कमिटिलाई ५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन समय दिइएको छ । ब्याजदरमा के कति छुट तथा राहत दिने भन्ने अध्ययन समितिले सिफारिस गर्नेछ ।

छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले ब्याजदर बढ्न नहुने तर्क राखे ।

‘ब्याजदर बढ्यो भने अर्थमन्त्र नै मारमा पर्छ, त्यसैले हामी सबै मिलेर यसलाई बढ्न दिनु हुँदैन,’ उनले भने, ‘अहिले गठन गरिएको कमिटीको सिफारिसका आधारमा हामी निर्णय लिन्छौं ।

आइतबारको छलफलमा अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका सचिव, आपूर्ति सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष विष्णु अग्रवाल, चेम्बर अध्यक्ष राजेन्द्र मल्ल लगायतको उपस्थित थिए ।


क्लिकमान्डु