यी हुन् दशैं बिदामा घुम्न उपयुक्त १२ ठाउँ



काठमाडौं । यस वर्षको दशैं आउन अब केही दिनमात्र बाँकी छ । १० गते घटस्थापनापछि कतिपय विद्यालयहरु बन्द हुने छन् भने फूलपाती देखि सरकारी बिदा सुरु हुन्छ । यसपटक दशैंमा ९ दिन बिदा रहेको छ । दशैको समयमा मौसम पनि राम्रो हुने र बिदा लामो समय हुने हुँदा परिवार, साथीभाइसँग देशका विभिन्न स्थानमा घुम्न जान सकिन्छ । पछिल्लो समय नेपालीहरुमा घुमघाम गर्ने संस्कृति विकास भइरहेको पाइन्छ ।

नेपाल भौगोलिक रुपमा विविधतायुक्त स्थान हो । उचो हिमाली क्षेत्रदेखि समुद्री सतहदेखि सबैभन्दा गहिरो स्थानसम्म रहेको नेपालमा प्राकृतिक क्षेत्रहरु भ्रमणका लागि धेरै स्थान छ । समय र पैसाको व्यवस्थापन मिलाउन सकिएको खण्डामा बिदाको समयमा यस्ता क्षेत्रहरुको भ्रमण गर्न सकिन्छ ।

इलाम

चिया बिना इलामको परिचय अधुरो हुन्छ । हिल स्टेसनको रुपमा विदेशी पर्यटक माझ परिचित इलामलाई धेरै नेपालीले ’चिया बगान’ रुपमा चिन्छन् । इलाममा विसं १९२० मा ११८ हेक्टर जमिनबाट सुरु गरिएको चिया खेति अहिले ५५ हजार हेक्टर भन्दा बढीमा फैलिएको छ ।

महेन्द्र राजमार्गको चारआलीबाट उत्तर तर्फ लागेपछि चिया बगानका मनोरम दृश्य देखिन्छन् । चैतदेखि मंसिरसम्म बगानमा चियाका मुना टिपेको सुन्दर दृश्यले त्यहाँ पुग्ने प्रायलाई लोभ्याउँछ । कन्याममा १ सय ४० वर्ष पुराना चियाका बगानहरु रहेको छन् ।

पुर्वमा फिक्कल र कन्याम पिक्निकका लागि पनि निकै प्रख्यात रहेको छ । इलाम पुग्नेहरु मध्ये कन्याममा चिया बगानको मनोरम दृश्य नियाल्दै फोटो नखिच्ने सायदै कोही होला ।

फिक्कलबाट ३५ किलोमिटरमा इलाम बजार पुग्न सकिन्छ भने १० किलोमिटरमा दार्जि्लिङ पस्ने नाका पशुपतिनगर। धेरै नेपाली फिक्कल हुँदै दार्जि्लिङ जाने गर्छन् । फिक्कलमा रहेको कन्याम बगान घुमेर फर्किदा इलामका धेरै आकर्षण छुट्छन् । अन्तुडाडाँ, माईपोखरी, सन्दकपुर, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धिथुम्का, गजुरमुखी, पाथिभरा मन्दिर इलामका पर्यटकिय आकर्षण हुन् ।

समुद्र सतहबाट २३२८ मिटरको उचाईमा रहेको अन्तुडाडाँबाट ईमामे चियाको चुस्की लिदैँ चिसो हावामा सुर्योदयको मनोरम दृश्य हेर्न हजारौं पर्यटक इलाम पुग्ने गर्छन् । इलाम सदरमुकामबाट गाडिमा ३ घण्टामा पुग्न सकिने अन्तुडाडाँबाट देखिने सुर्यास्तको दृश्य पनि अलौकिक हुन्छ । बेलुका होमस्टेको अर्गा्निक खाना अन्तुडाडाँको स्मरणिय पक्ष हो ।

इलामको अर्को आकर्षण हो माईपोखरी । इलाम बजारबाट १८ किलोमिटरको दुरीमा रहेको माईपोखरीमा नवरात्रीको समयमा मेला लाग्ने गर्छ ।

इलामबाट हिमाल हेर्न चाहनेले छुटाउनै नहुने ठाउँ हो सन्दकपुर ।

३,६३६ मिटरको उचाईमा रहेको भारत नेपालको सिमानामा पर्ने सन्दकपुरबाट कञ्चनजंगा, कुम्भकर्ण, मकालु र समरमाथा हिमाल देखिन्छ । सन्दपुर माईपोखरीबाट ५ घण्टाको पैदल दुरीमा पर्छ । इलाम बजारमा पनि कन्याम जस्तै चियाको बगान रहेको छ ।

इलाम बजार जादाँ बाटोमा पर्ने देविको मन्दिर ताप्लेजुङमा रहेको पाथिभरा देविको कान्छी बहिनी भएको जनविश्वास छ । मेचि राजमार्गमा पर्ने देवी मन्दिरमा ताप्लेजुङको पाथिभरा पुग्न नसक्नेले पुजा गर्ने गर्दछन् ।

राई, लिम्बू, बाहुन, क्षत्री, मगर, नेवार, शेर्पा, लाप्चा र मधेसी रहेको समुदायको बसोबास रहेको इलाममा पाँच सयदेखि हजारौं मूल्यका होटल पाइन्छ । यस्तै होटल भन्दा सस्तोमा होमस्टे पनि इलाममा पाउन सकिन्छ ।

इलाम घुमेर पाचौँ दिनमा काठमाडौं फर्किन सकिन्छ । तीन दिन समय भए इलाम पुगिसकेपछि छुटाउन नहुने ठाउँ हो ताप्लेजुङको पाथिभरा ।
कसरी पुग्ने ?

काठमाडौंको कोटेश्वरबाट इलाम जाने बसहरु पाईन्छन् । ६९० किमिमा इलाम बजार कोटेश्वरबाट १४ घन्टामा पुगिन्छ । यस्तै प्लेनमा जानेहरुले झापाको चन्द्रगढी हुदै ३ घण्टामा इलाम पुग्न सकिन्छ । गाडि भाडा बाहेक दिनमा २ हजार ५ सय रुपैयाँ खर्च गर्दा इलाम घुम्न सकिन्छ ।

पाथिभरा

३,७९४ मिटरको उचाईमा रहेको पाथिभरा अन्न भरिएको पाथीजस्तो देखिने डाँडाको नामले चिनिएको छ । फागुनदेखि कात्तिकसम्म पाथिभरा दर्शन गर्नु राम्रो मानिन्छ। असोज–कात्तिकमा पाथिभराबाट टल्क्क टल्केका सगरमाथा लगाएका हिमालहरु देख्न सकिन्छ । हरेक वर्ष ३ लाख भन्दा धेरै तिर्थालु पुग्ने पाथिभरामा तिर्थालुको सुविधाका लागि धर्मशाला बनाईएका छन् ।

इलाम बजारबाट ४ घण्टामा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार हुदै पाथिभरा मन्दिर जान सकिन्छ । फुङलिङ बजारबाट सुकेटारसम्म पिच बाटोमा र सुकेटार सम्मबाट तल्लो फेदी सम्म कच्चीबाटो हुदै पुगिन्छ ।

सुकेटारमा विमानस्थल पनि रहेको छ । कति मानिसहरु काठमाडौँबाट सुकेटार हुदैँ पाथिभरा जाने गर्छन् ।

तल्लो फेदीबाट ५ घण्टाको पैदल यात्रामा पाथिभरा मन्दिर पुगिन्छ । फुङलिङ बजारमा सामान्य सुविभा भएका होटलहरु रहेका छन् ।

सिन्धुलीगढी

सिन्धुलीगढी, विस १८२४ कार्तिकमा गोर्खाली फौजले बाहादुरीपूर्वक लडेर अंग्रेजलाई पराजित गरेका ठाउँहो सिन्धुलीगढी । उक्त युद्धमा गोरखाली फौज पराजित भएको भए विस १८२५ मा गोरखालाई काठमाडौँ जित्न कठिन हुन्थ्यो ।

इतिहासकारका अनुसार गोरखाले काठमाडौँलाई घेरेर नाकाबन्धि लगाएपछि राजा जयप्रकाश मल्लले अंग्रेजसँग सहयोग मागेका थिए । कप्तान किनलकको नेतृत्वमा २४०० जनाको अंग्रेज सेनाको फौज उनलाई सहयोग गर्न काठमाडौँ आईरहेको थियो । तर गोर्खाली सेनाले सिन्धुलीगढीबाटै उनिहरुलाई परास्त गर्दै फर्काईदिएका थिए ।

विश्वमा सबैलाई पराजीत गर्दै हिडेको अंग्रेज सेनालाई गोर्खाली फौजले पराजित गर्न नसकेको भए नेपालको अवस्था फरक हुन्थ्यो । इतिहासकारहरूका अनुसार भारतवर्षमा तत्कालिन समयमा इस्ट इण्डिया कम्पनीको आक्रमण पछि सिन्धुलीगढीको युद्ध गोर्खालीको लागि जिवनरमरणको युद्ध थियो ।

सिन्धुलीगढीको यूद्घमा गोर्खालीले कम्पनी सेनालाई पराजित नगरेको भए सिङ्गो नेपालको निर्माण असम्भव थियो ।

केहि वर्ष यता हरेक बर्ष कात्तिक २४ गोरखाली फौजले अग्रेजलाई पराजीत गरेको सम्झनामा विजय उत्सब मनाउन सुरु गरिएको जसले नयाँ पुस्तालाई गढीको महत्व बुझाएको छ ।

इतिहासकारले बिभिन्न पुस्तकहरुमा सिन्धुलीगढीलाई नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज भएको उल्लेख गरेका छन् । गढी क्षेत्रमा बनाईएका खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले पनि हेर्न सकिन्छ । नेपाली योद्धाको युद्ध रणनीति र शाहस महसुस गर्न एक पटक सिन्धुलीगढी पुग्नै पर्छ ।

ईतिहास बोकेको शहर सिन्धुलीगढी समुद्री सतहबाट १४३३ मिटरको उचाईमा रहेको छ ।

इतिहासकारहरूको अनुमानमा विसं १४११ र १४५२ को बिचमा तत्कालिन राजा जयस्थिति मल्लले काठमाडौं माथि हुन थालेको आक्रमणबाट बचाउन सिन्धुलीगढी निर्माण गरेका थिए ।

सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तरतर्फ र काठमाडौँबाट १ सय ४० किलोमिटर पूर्वमा पर्ने गढीले नेपालको गौरबमय इतिहास बोकेको छ ।

विक्रम संम्बत २०१९/२० साल सम्म काठमाडौंबाट पूर्वी तराई जान सिन्धुलीगढीको बाटो प्रयोग हुन्थ्यो ।

नारायणगढ काठमाडौँ सडक बनेपछि सिन्धुलीगढीको चहलपहल कम हुदै गएको थियो ।

तर जापान सरकारको सहयोगमा बनेपा बर्दिवास सम्म बीपी राजमार्ग सञ्चालमा आएपछि सिन्धुलीगढी पुग्नेको संख्या बढ्न थालेको छ ।

सिन्धुली नपुग्ने पनि कृष्ण विक्रम थापाको ’सिन्धुली गढी घुमेर हेर्दा ’ भन्ने गितबाट पनि सिन्धुलीको बारेमा सुनेकै हुन्छन् । सरकारले सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी आकर्षक बनाएको छ ।

नागबेलीझै रहेको विपी हाईवेमा यात्रा गर्ने प्रायले ’सेल्फी डाडाँ’ मा फोटो खिचेकै हुन्छन् ।

काठमाडौँबाट २ दिन शान्त र रमणीय ठाउँमा जान चाहनेहरुका लागि सिन्धुली राम्रो गन्तव्य हो । १ दिन थप समय छ भने धार्मिक र पैराणिक शहर जनकपुरधाम पुग्न सकिन्छ ।

२ दिन समय भए खोटाङको हलेसि दर्शन गरेर आउन सकिन्छ । सिन्धुलिबाट करिब ४ घण्टामा खोटाङको हलेसी महादेव पुग्न सकिन्छ । जनकपुर भने २ घण्टामै पुगिन्छ ।

सिन्धुलीमा २ हजारदेखि होटलहरु पाईन्छन् । नेपाल पर्यटन एसोसियसनका पूर्व अध्यक्ष सिएन पाण्डे ट्राभल एजेन्सीबाट र आफैं पनि सिन्धुली जाने पर्यटकको संख्या बढिरहेको बताउँछन् ।

जुनारका लागि पख्यात सिन्धुली सामान्य खर्च मात्र गर्ने हो भने काठमाडौँबाट १० हजार रुपैयाँमा घुमेर फर्किन सकिन्छ ।

कसरी पुग्नेः काठमाडौं कोटेश्वरबाट सिन्धुली जाने गाडिहरु १५–१५ मिनेटमा छुट्ने गर्छन् । गाडीमा ३ घण्टामा सिन्धुली पुग्न सकिन्छ । बाईक र आफ्नो गाडीमा सिन्धुली जान पनि राम्रै हुन्छ ।

पर्सा, गढिमाइ र सिम्रौनगढ

जंगल सफारी भन्दा धेरैको दिमागकमा चितवन राष्ट्रिय निकुञ्जको नाम आउँछ । चितवन कति जाने भन्नेहरुका लागि पर्सा राष्ट्रिय निकुञ्ज राम्रो विकल्प हो । त्यसो त पर्सा राष्ट्रिय निकुञ्ज आफैमा पनि महत्वपुर्ण छ ।

गौरी गाई पर्साको प्रमुख आकर्षण हो । गौरी गाई लगाएतका वन्यजन्तु संरक्षणका लागि सन् १९८४ मा स्थापित पर्सा बन्यजन्तु आरक्षलाई सरकारले पर्यटकिय गन्तव्यको रुपमा पनि विकास गर्न गत वर्ष राष्ट्रिय निकुञ्जमा बढोत्तरी गरिएको थियो ।

पर्सा मकवानपुर र बारा जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज ४३५ मिटर देखि ९५० मिटर सम्मको उचाईमा फैलिएको छ । राष्ट्रिय निकुञ्जमा ९१९ प्रजाती बोट विरुवा र एक सय भन्दा बढी किसीममा जंगलि जनावरहरु रहेका छन् ।

पर्सामा हात्ती सफारी र जंगल सफारीका प्याकेज पाईन्छन् । पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पुरानो रेल्वे स्टेसन अमलेखगञ्जबाट १ किलोमिटरको दुरीमा छ ।

६२७.३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको सिमाना पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको वाल्मिकी राष्ट्रिय निकुञ्ज सँग सिमा जोडिएको छ ।

त्यसलै पर्सामा प्राय चितवनमा पाईने सबै किसिमका जनाबरहरु पाईन्छन् । पर्सा पुग्ने पर्यटकले पाटेबाघ, हात्ति, एक सिङे गैडा, मृग र जरायोको बथानहरु देख्न सकन्छन् ।

निकुञ्ज भित्र रहेको हलखोरिया दह, कामीनि दह वरीपरि जंगली जनावरले पानी खाईरहेको मनोरम दृश्य देख्न सकिन्छ ।

पर्यटन व्यवसायी मोहन प्रसाद शर्मा दशैंको समयमा पर्सा राष्ट्रिय निकुञ्जको भ्रमण पछि करिब ४० किलोमिटरको दुरीमा रहेको बाराको गढिमाई जाने पर्यटक बढिरहेको बताउँछन् । ५ वर्षमा बिषेश मेला लाग्ने गढीमाईलाई तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो ।

यस्तै एक दिन थप समय हुने हो भने बारा जिल्लामा रहेको सिम्रौनगढ पनि पुग्न सकिन्छ । सिम्रौनगढ, प्राचिन मिथिला राज्यको राजधानी । सन् १०९७–१३२६ सम्म मिथिला राज्यको राजधानी रहेको सिम्रौनगढ अहिले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पर्छ ।

जमिनमा गढेका ढुंगामा सन्दुक, काला चिल्ला ढुंगाका मुर्तिहरु कङ्कालीनी माईको मुर्ति, चौडा ईटा, पुराना रुख मार्फत सिम्रौनगढको पुरानो उपस्थिति कायम गरेका छन् ।

यस्तै ५२ विघा क्षेत्रफलमा रहेको पोखरी सिम्रौनगढको अर्को आकर्षण हो । १ हजार वर्ष पुरानो राजधानी अहिले भग्नावशेष, प्राचिन मुर्ति र सुन्दर पोखरीमा बाचिरहेको छ ।

तराईको संस्कृतिबारे थप जान्ने रुचि हुने हो भने जनकपुर जान सकिन्छ । सिम्रौनगढबाट करिब ४ घण्टामा जनकपुर पुग्न सकिन्छ ।

निकुञ्ज नजिकै अम्लेखगञ्जमा र सिमरामा चार तारे सम्मका होटलहरु रहेका छन् ।

एक हजार रुपैयाँमा साधारण कोठा र सुविधा अनुसार २ हजार देखिका एसी सहितकोठा पाईने व्यवसायी शर्मा बताउँछन् ।

कसरी जानेः काठमाडौँबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार हात्तिसार १५० किलोमिटरको दुरीका रहेको छ ।

आफैं गाडी ड्राईभ गरेर हेटौडाबाट पर्सा राष्ट्रिय निकुञ्ज, गढिमाई , सिम्रौनगढ र जनकपुर सम्म घुमेर विपी हाईवे हुदै सिन्धुलीगढी भएर काठमाडौँ फर्किन सकिन्छ ।

सार्वजनिक गाडीमा जाने हो भने बल्खुबाट सुमोमा चढेर ३ घण्टामा हेटौडा पुगिन्छ । हेटौडाबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार गाडीमा २० मिनेटमा पुगिन्छ ।

प्लेनमा काठमाडौँबाट सिमरा १५ मिनेटमा । सिमराबाट हात्तिसार १० किलोमिटरको दुरीमा रहेको छ ।

पाल्पा

विस १८६० सम्म पाल्पा स्वतन्त्र र शक्तिशाली राज्य थियो । पाल्पाले सोह्रौ शताब्दीमा धनकुटा सम्म शासन गरेको ईतिहासहरुमा उल्लेख छ ।

वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्‍याईले पाल्पा राज्य विस १८६१ मा नेपाल राज्यमा गाभिएको थियो ।

अहिले पाल्पा जिल्ला सदरमुकाम रहेको तानसेन विगतमा सेनवंशीय राजाहरू राजधानी थियो ।

ढाका टोपी, करुवा पाल्लालाई चिनाउने बस्तु हुन् । यस्तै पाल्लाको चुकाउनीले पनि धेरैको जिब्रो रसाउन्छ ।

पाल्पा जिल्ला समुद्री सतहबाट २०० मिटर देखि २००० मीटरसम्मको उचाईमा रहेका छ ।

जेठ बैशाखमा ४० किलोमिटरको दुरीमा रहेको बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम हुदाँ पाल्पाको तापक्रम २५ भन्दा माथि उकिल्दैन । जाडो याममा पनि तापक्रम ३.७ डिग्री सेल्सियस भन्दा कम हुँदैन ।

रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, राम्दी सुन गुफा, कालीगण्डकी, पाल्पाका प्रमुख पर्यटकीय स्थलहरू हुन् । यस्तै जिल्ला सदरमुकाम तानसेनमा प्राकृतिक सोन्दर्य निहाल्न भ्यू टावर पनि बनाईएको छ ।

रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएका थिए । जसलाई नेपालको ताजमहल पनि भनिन्छ । पाल्पा सदरमुकाम तानसेनबाट १५ किलोमिटरको रानीमहल पुग्न गाडिमा १ घण्टा र हाईकिङ गर्दा करिब ३ घण्टा लाग्ने गर्छ ।

एक नास सुस्याउँदै बगिरहेको कालीगण्डकी नदिको तिर र सुनसान जंगलको बीचमा रहेको रानीमहलमा पुग्ने जो कोहि पनि मन्त्रमुग्द्ध हुन्छन् । रानीमहल क्षेत्रमा खानाको व्यवस्था भएका सामान्य होटलहरु रहेका छन् । पाल्पा पुग्नेले छुटाउन नै नहुने ठाउँ हो सदमुकाम मै रहेको ’श्री नगर’ डाँडा ।

तानसेनबाट २० मिनेट हाईकिङ गर्दै पुग्न सकिने श्री नगरडाँडाबाट धौलागिरी, अन्नपूर्ण १, अन्नपूर्ण २, अन्नपूर्ण ३, माछापुच्छ्रे लागाएतका हिमालहरु देख्न सकिन्छ ।

श्री नगरलाई आकर्षित बनाउन बुद्ध मुर्ति, प्रकृति नियाल्दै ध्यान गर्न सकिने ठाउँ बनाईएको छ । पाल्मा सदरमुकामबाट १५ किमीको दुरीमा अर्गली दरबार पुग्न रहेको छ । संरक्षणको अभावमा एतिहासिक दरबारको स्वरुप बिग्रदै गएको छ ।

यस्तै गुल्मी र पाल्पाको सिमानामा रहेको रिडी मन्दिर त्यस क्षेत्रको आकर्षक गनतव्य हो । रानिमहल मात्र गए १ दिनमा घुम्न सकिने पाल्पा २ दिनमा राम्ररी घुम्न सकिन्छ । तानसेनमा १ हजार ५ सय रुपैयाँमा सामान्य होटल पाईन्छ । पछिल्लो समय पाल्पामा सुविधा सम्पन्न होटलहरु खुलिरहेको छन् ।

पाल्पाबाट करिब २ घण्टामा भैरहवा पुगिन्छ । त्यहाँबाट समय भए लुम्बिनी पुग्न सकिन्छ । यस्तै सिमानामा सुनौली पुगेर सपिङ गर्न पनि सकियो । सुनौलीमा नेपाल भन्दा सस्तोमा सामान पाईने भए पनि भन्सारले धेरै सामान ल्याउन दिदैन ।

कसरी पुग्नेः काठमाडौंको नयाँ बसपार्कबाट माईक्रोले ७–८ घण्टामा पाल्पा पुर्याउँछ । यस्तै प्लेनबाट भैरहवा ३५ मिनेटमा र त्यहाँ बाट २ घण्टामा तानसेन पुग्न सकिन्छ । यस्तै पोखरा घुमेर पनि पाल्पा पुग्न सकिन्छ ।

गोरखा, बन्दीपुर र मनकामना

गोरखा एतिहासिक शहर । मुख्य रुपमा गोरखा चार कारणले प्रसिद्ध रहेको छ । पहिलो नेपाल एकिकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने पृथ्विनारायण शाहको जन्मस्थल । दोस्रो शाहबंशको पुरानो गोरखा दरबार । तेस्रो हरेक वर्ष आधिकारीक रुपमा दशैं सुरु हुने ठाउँ र चौथों विश्वमा चर्चित गोरखाली सेनाको उद्गगम स्थल ।

गोरखालाई विशाल नेपालको आधार पनि भनिन्छ । नेपाल एकिकरणमा महत्वपुर्ण भुमिका खेलेका पृथ्वी नारायण शाहको जन्म भएको गोरखा दरबार अझै पनि गोरखामा देख्न सकिन्छ ।

गोरखा जिल्ला सदरमुकामबाट पुर्व दक्षिण क्षेत्रमा रहेको ऐतिहासिक दरबार सहर भन्दा माथि पहाडको टुप्पामा छ ।

बजारबाट दरबार सम्म पुग्ने पक्की मोटर बाटोे छ । तर धेरै पर्यटकहरु करिब एक घण्टा उकालो चढेर दरबार पुग्ने गर्छन् ।

दरबारबाट चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला देखिन्छन् । संसारको पाँचै अग्लो हिमाल मनास्लु देखी धवलागिरी, गणेश हिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरणले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ ।

गोरखा दरबार भित्र पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर र बाबा गोरखनाथको मुर्ति रहेको छ । पृथ्वीनारायण शाहलाई नेपाल एकिकरण गर्ने प्रेरणा गोरखनाथबाट मिलेको ईतिहासहरुमा उल्लेख गरिएको छ ।

विश्वको पाचौँ उच्च शिखर मनास्लु पदयात्रामा जान पनि गोरखा पुग्नै पर्छ ।

अन्नपुर्ण क्षेत्रको पदमार्ग मोटरबाटोले बिगारेपछि पछिल्लो समय मनास्लु जाने पर्यटकको संख्या बढेको छ ।

गोरखामा २०७२ साल बैशाख १२ गते आएको भूकम्पको केन्द्र बिन्दु बारपाक पनि पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको । उच्च हिमाली क्षेत्रमा रहेको लाप्राक गाउँ पनि पर्यटकको रोजाईमा पर्छ । सदरमुकाम बरिपरि पनि गोरखामा नेपालका पुराना मुस्लिम समुदाय रहेका छन् ।

गोरखा सदरमुकाममा सुविधा एक हजार रुपैयाँ देखि सुविधा अनुसारका होटल पाईन्छन् । १ रात २ दिनमा गोरखा घुमेर फर्किदाँ बन्दिपुर जान सकिन्छ ।

२०२५ सालसम्म तनहुँको सदरमुकाम रहेको बन्दीपुर केही वर्षयता आकर्यक परिवारिक पर्यटकीय गन्तव्य बनेको छ । इँटा र कलात्मक झ्याल–ढोकाले बनेका घरहरु भएको बन्दीपुरबाट धौलागिरि, माछापुच्छे्, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखला देखिन्छ ।

बजारमा रहेको पुरानो नेवार बस्तीले भक्तपुरको झल्को दिन्छ । बजार भित्र छ सय मिटर क्षेत्रमा गाडी निषेध गरिएको छ । सन् १७७८ तिर पृथ्वीनारायण शाहले काठमाडैंमाथि आक्रमण गर्दा भक्तपुरबाट भागेका नेवारहरु बन्दीपुर बसेका थिए ।

बन्दिपुरको अर्को आकर्षण हो, सिद्ध गुफामा । बन्दिपुर बजारबाट एक घण्टा ओरालो हिडेपछि गुफा पुगिन्छ । फर्किदा भने २ घण्टा नै लाग्छ ।

बन्दिपुरमा पाँच सय रुपैयाँको होमस्टे देखि हजारौं मूल्य पर्ने होटलका कोठा पाइन्छन् ।

एक रात बन्दिपुर विताएर काठमाडौँ फर्किदा मनकामना दर्शन गर्न सकिन्छ । पृथ्वी राजमार्गको कुरिनटारबाट १५ मिनेटमै केबुलकारमाबाट मनकामना मन्दिर पुग्न सकिन्छ ।

समय भए कुरिनटारमा एक रात बस्न सकिन्छ । कुरिनटारमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढ्दो छ ।

कसरी पुग्नेः काठमाडौं नयाँ बसपार्कबाट मुग्लिन हुँदै आबुखैरेनीबाट २४ किलोमिटरको दुरीमा गोरखा बजार रहेको छ । बसले बढिमा ४ घण्टामा गोरखा पुर्याउँछ । बन्दिपुर जाने गोरखाबाट आबुखैरेनीबाट हुदै डुम्रेसम्म गाडीमा र डुम्रेबाट आठ किमि उकालोमा बन्दीपुर बजार। डुम्रेमा बन्दीपुर जाने बस र जीप पाइन्छ । सार्वजनीक गाडिमा यात्रा गर्दै ५ दिनमा गोरखा बन्दिपुर र मनकामनाको यात्रा सक्काउने हो भने दैनिक ३ हजार रुपैयाँ भए पुग्छ ।

लाङटाङ र गोसाईकुण्ड ट्रेक

लाङटाङ हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज हो । सन् १९७० साल देखी संरक्षण गरिएको क्षेत्रलाई सन् १९७६ मा राष्ट्रिय निकुञ्ज बनाईएको थियो । ६६० वर्ग किलोमिटर क्षेत्रफल रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज नुवाकोट रसुवा र सिन्धुपाल्चोक जिल्लामा ६४४० मिटरको उचाई फैलिएकोे छ ।

हिम उपत्यका रुपमा चर्चित लाङटाङ राष्ट्रिय निकुञ्जमा लाङटाङ उपत्यका, केन्जीन भ्याली उपत्यकाका साथैं हिन्दुकोहरुको पवित्र धार्मिक स्थल गोसाईकुण्डको रहेको छ । हिमाली क्षेत्रको पदयात्रामा लाङटाङ पदयात्रा विश्वमा नै चर्चित गन्तव्य हो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने गोसाईकुण्ड र लाङटाङ उपत्यका जाने छुट्टा छुट्टै ट्रेकिङ ट्रेल रहेका छन् ।

लाङटाङ र केन्जीन भ्याली उपत्यकाको पदयात्रा पुरा गरेर काठमाडौँ फर्किन ६ दिन लाग्द । यस्तै गोसाईकुण्डको पदयात्रा भने ४ दिनमा पुरा गर्न सकिन्छ ।

पुराण अनुसार समुद्र मन्थनपछि निस्केको कालकुट बिष खाएका महादेब आराम गर्न गोसाईकुण्ड पुगेका थिए । यस्तै ईतिहास अनुसार अंग्रेज सँगको युद्धपछि आराममा लागि अमर सिंह थापा गोसाईकुण्ड पुगेका थिए ।

सेप्टेम्बर अक्टोबर लाङटाङ ट्रेकमा जाने सबै भन्दा राम्रो समय हो । यो सिजनमा कुहिरो र बादल खासै नलाग्ने भएकाले पलयात्राको क्रममा टलक्क टल्केका हिमालहरु देख्न सकिन्छ ।

चारैतिरबाट हिउँले घेरेको लाङटाङ उपत्यकामा नजिकैबाटै हिमाल देखिन्छन् । काठमाडौँको तुलनामा हिमाली जिल्ला भएकाले रसुवामा चिसो बढी हुने भएकाले लाङटाङ वा गोसाईकुण्डको पदयात्रामा न्यानो लुगा छुटाउनु नै हुन्न ।

ट्रेकिङ गर्दा बोक्न सहज हुने ब्याग, ट्रेकिङ सुज, बेलुका र विहान लगाउन न्यानो लुगा, सिरसिरे हावाले ओठ मुख फाट्ने हुदाँ भ्यासलिन, चक्लेट र ड्राई फ्रुट छुटाउनु हुदैन । पानी पर्ने सिजन नभए पनि परिहाले जोगिन रेन कोट वा पलास्टिक लैजादा राम्रै हुन्छ ।

पलयात्राका क्रममा रेड पाण्डा, हिम चितुवा, जंगली कुकुर लगाएतका जंगली जनावर देख्न सकिन्छ ।यस्तै लाङटाङमा ३७३ प्रजातीका चरा चुरुङ्गि पाईने गरेको छन् । पदयात्रा सुरु गर्दा घना जंगल भए पनि माथि उक्लिदै गर्दा जंगल पातलो हुदै जान्छ ।

चारैतिर हिमालले घेरेकाले लाङटाङमा ट्रेकिङ गर्दा हिमालमा चढेझै भान हुने गर्छ । क्यामेराको मेमिरी भरिने गरि फोटो खिच्दा पनि धत पर्दैन । जति हेर्यो हेर्रैँ लाग्ने दृश्यहरु कयौँ हुन्छन् । नियमित कामको तनाव र धुलो धुवाको संसारबाट मिल्ने राहतले आफैं भित्र सकारात्मक उर्जाको संचार गर्छ ।

एक रात बस्नु पर्ने स्याफ्रुबेसि र धुन्चेमा तातो चिसो पानी आउने सुविधासम्पन्न होटलहरु १ हजार ५०० देखि पाईन्छन् । यस्तै पदपात्रामा क्रममा गोसाईकुण्ड र लाङटाङ रुटमा पनि सुविधा सम्पन्न होटलहरु छन् । एक दिनमा खाना र बस्न २ हजार ५०० रुपैयाँ हुँदा पर्याप्त हुन्छ ।

रसुवा पुग्दा चिलिमे हाईड्रोपावरको पावर आउस हेर्न नछुटाउँदा राम्रो । स्याफ्रुवेसीबाट हिडेर २० मिनेटमा पुगिने पावरहावसमा जान पास चाहिन्छ । चिलिमे हाईड्रोपावर कार्यायलले निशुल्क दिने पास होटलले व्यवस्थापन गरी दिन्छन् ।

समय छ भने काठमाडौँ फर्किदा नुवाकोट दरबार जादाँ राम्रो । नुवाकोटको विदुरबाट ६ किलोमिटरको दुरीमा रहेको दरबार पृथ्वी नारायण शाहले बसन्तपुर दरबार सँगै बनाएका थिए ।

कसरी पुग्ने

गोसाईकुण्डः

काठमाडौँ माछापोखरीबाट रसुवा सदरमुकाम धुन्चेसम्म सार्वजनीक गाडिले ५ घण्टामा पुर्याउँछ । एक रात धुन्चे बसेर बिस्तारै हिड्दा पनि २ दिनमा गोसाईकुण्ड पुगिन्छ । फर्किदा ओरालो पर्ने भएकाले १ दिनमा सहजै धुन्चे पुगिन्छ ।

लाङटाङ उपत्यकाः

काठमाडौँ माछापोखरीबाट रसुवाको धुन्चे हुँदै स्याफ्रुबेसीसम्म सार्वजनिक गाडिमा ६ घण्टामा पुगिन्छ । स्याफ्रुवेसीमा १ रात बसेर ट्रेकिङ गर्दै लाङटाङ उपत्यका र केन्जीन उपत्यका पुग्न ४ दिन र फर्किन २ दिन लाग्ने गर्छ ।


क्लिकमान्डु