मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का गर्ने निर्देशिका दशैंअघि नआउने



काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का गर्ने निर्देशिका दशैंअघि नल्याउने भएको छ ।

बोर्डका अनुसार उक्त निर्देशिका निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । तर, दशैंअघि ल्याउने सम्भावना भने न्यून प्रायः रहेको छ । बोर्डले विभिन्न निकायसँग निर्देशिकाका लागि सुझाव मागेको र केही निकायबाट सुझाव आएको र केहीबाट आउने क्रममा रहेको बताइएको छ ।

आएका सुझावमध्ये उपयुक्तलाई समावेश गरेको र आउनेलाई थप्दै निर्देशिका तयार भइरहेको छ । बोर्डका अनुसार दशैंअघि भने निर्देशिका जारी हुने सम्भावना निकै न्यून रहेको छ ।

धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीका अुनसार नेपाल राष्ट्र बैक, विद्युत् नियमन आयोग, बीमा समिति लगायत नियामक निकायसँग सुझाव मागेको र त्यसबाट आएका सुझावमध्ये उपयुक्तलाई समावेश गरेर निर्देशिका तयार पार्ने काम भइरहेको बताए । सबै ठाँउबाट आएका सुझावमध्ये उपयुक्त सुझाव राखेर निर्देशिका तयार भइरहेको र आउनेलाई थप्दै जाने केसीको भनाइ छ ।

धितोपत्र बोर्डले साउन २६ गते संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका-२०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ । बोर्डले निर्देशन जारी भएपछि मर्जर तथा एक्विजेशनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का हुने छैन।

हाल मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार एकीकृत कारोबार नभएसम्म रोक्का हुने गरेको छ । अहिले पनि दुई दर्जनभन्दा बढी कम्पनीको कारोबार रोक्का रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजेसनको हकमा सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियमअनुसार हुने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई टेकेर बोर्डले निर्देशिका तयार पारिरहेको बोर्डको भनाइ छ ।

बोर्डले हाल जारी गरेको प्रारम्भिक मस्यौदामा गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारीसहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने उल्लेख छ ।

‘धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोवार रोक्का राख्नु पर्ने छ,’ बोर्डको मस्यौदामा उल्लेख छ ।

यस्तै संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुनपर्ने मस्यौदामा व्यवस्था रहेको छ ।

नयाँ व्यवस्थामा संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति गर्दा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रकृया, लाग्ने समय र लागतको विवरण, गाभ्ने/गाभिने तथा प्राप्ति पछि कायम हुने संस्थाको नाम तथा ठेगाना, गाभ्ने/गाभिने तथा प्राप्ति पछि कायम हुने संचालक समितिको संरचना र संचालक समितिको नामावली पनि पहिला नै खुलाउनु पर्ने व्यवस्था हुने भएको छ ।

संगठित संस्थाको गाभ्ने/गाभिने वा प्राप्त कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था मस्यौदामा रहेको छ ।


क्लिकमान्डु