विराटनगरमा अपाङ्गता भएकाहरुको रोजगारसम्बन्धी मेला कात्तिकमा



विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चितासम्बन्धी मेला २०७९ आयोजना गरिने भएको छ । मेला आगामी कात्तिक महिनामा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) प्रदेश १ संयोजन तथा निजी क्षेत्रका विभिन्न संघसंस्थारूको सहकार्यमा गर्न लागिएको हो ।

कात्तिक १८ र १९ गते दुई दिनसम्म सञ्चालन गरिने रोजगार मेलाको तयारी बारे बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको थियो ।

सो क्रममा एफएनसिसिआई प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्ने दायित्व निजी क्षेत्रले लिने दाबी गरे । उनले मेलाको औचित्वबारे प्रष्ट पार्दै रोजगारदाता र लाभग्राहीबीच प्रत्यक्ष भेटघाट र सम्वाद गराउन लागिएको जानकारी दिए ।

मेलमा प्रदेश १ का ८ जिल्लाका ३५० जना लाभग्राही र १ सय रोजगारदातालाई एकैथलोमा सहभागी गराइने भएको छ । मेलामा मोरङ, सुनसरी, झापा, धनकुटा, संखुवासभा, भोजपुर इलाम, पाँचथर जिल्लाका प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन् । मेलामा सहभागीहरुको व्यक्तिगत विवरण यसअघि नै तयार गरी रोजगारदाताहरूको नक्साङ्कन गरिसकिएको जानकारी दिएको छ ।

सो क्रममा नौ क्षेत्रका रोजगारदाताहरूसँग दक्षता र क्षमताका आधारमा लाभग्राहीहरूले परामर्श दिने योजना रहेको छ । मेलामा स्वास्थ्य, शिक्षा, उत्पादन, बैंक, विकास साझेदार, गार्मेन्ट, हस्पिटालिटी, साना उद्योगअन्तर्गतका सिलाइ–कटाइका स्टलहरू रहने एफएनसिसीआईका उपाध्यक्ष राउतले स्पष्ट पारे ।

‘मेलामा रोजगारदाताको माग र लाभकर्ताको क्षमताको परीक्षण हुनेछ’ एफएनसिसिआइका उपाध्यक्ष राउतले भने– ुत्यसका आधारमा उनीहरुलाई छनौट गर्ने र रोजगार सुनिश्चित गरिनेछ ।’

प्रदेश १ मा अपाङ्गता भएका ९० प्रतिशत व्यक्ति रोजगारविहीन अवस्थामा रहेको भनेर तथ्यांक पनि सार्वजनिक गरिएको छ । सोही क्रममा सिआइएमका अध्यक्ष सुयस प्याकुरेलले मेलाले रोजगारीको अवसर प्रदान गर्नेमा आफू पूर्णरूपमा विश्वस्त रहेको बताए ।

‘रोजगारीमा अपाङ्गता भएका व्यक्ति नछुटौं, राष्ट्र निर्माणमा सबै जुटौं’ भन्ने नारासहित आयोजना हुने मेलामा एफएनसिसिआईसहित राष्ट्रिय अपाङ्गता महासंघ–ुनेपाल, करुणा फाउण्डेशन र द लेप्रोसी मिसन नेपाल आयोजकका रूपमा रहने छन् ।’

सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने मेलामा उद्योग संगठन मोरङ (सिआइएम), नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट व्यापार संघ र मोरङ व्यापार संघ, सहयोगीको संस्थाहरूको रूपमा सहभागी हुनेछन् । प्रदेश १ मा अहिलेसम्म २५ जनाभन्दा बढीलाई रोजगारी दिइरहेका रोजगारदातालाई मेलामा सहभागी गराइने मापदण्ड बनाइएको छ ।

यस प्रदेशमा ७९ वटा स्थानीय तहले अपाङ्गता रोकथामसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । एफएनसिसिआई प्रदेश १ ले अहिलेसम्म ७५ जनालाई रोजगारसँग जोडेको र १२५ जनालाई स्वरोजगार बनाएको तथ्यांक पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।


क्लिकमान्डु