नेपालमै एलजी टिभी उत्पादन गर्न चौधरी ग्रुपले प्लान्ट लगायो



काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप (सिजी)ले नेपालमै एलजी टिभी उत्पादन गर्ने भएको छ । त्यसका लागि सिजीले काठमाडौंको सतुंगलमा प्लान्ट स्थापना गरेको छ । उक्त प्लान्टबाट एलजी टिभी उत्पादन गर्ने चौधरी ग्रुपका प्रबन्ध निर्देशन निर्वाण चौधरीले जानकारी दिए ।

एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले उक्त एसेम्बल प्लान्टको उद्घाटन गरे । सो क्रममा चुनले एलजी इलेक्ट्रोनिक्स दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यको संकेत गरेको प्रष्ट पारे ।

नेपालमा एसेम्बल गरिएको उत्पादनहरुको गुणस्तर एलजीको मापदण्ड अनुसार कायम राख्नका लागि एलजी इलेक्ट्रोनिक्सका प्राविधिक विशेषज्ञहरुको टोलीले नेपाली इन्जिनियरिंग टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।

‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरु नेपालमा पनि व्यापकरुपमा रुचाइएको छ, चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्षदेखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रामकरुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ,’ चुनले भने, ‘प्राकृतिक सौदर्यको धनी देश नेपालीका लागि एलजीको नयाँ एसेम्बल प्लान्टले यसका उत्पादनलाई थप किफायती बनाउने छ ।’

निकट भविष्यमै एलजीका होम एप्लायन्स र इन्टरटेनमेन्ट एप्लायन्स नेपालमै उत्पादन हुने भएका छन् । जसले नेपाली ग्राहकलाई कम लागतमै बढी उपयोगीताको प्रत्याभूति गराउने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।

‘एलजी जस्तो विश्वस्तरीय ब्राण्डसँग आवद्ध हुन पाउँदा हामी गौरवान्वित छौं, हामीबीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष बैदेशिक लगानीको आगमन गराउन निश्चित रुपमा मद्दत गर्नेछ,’ उनले भने, ‘यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरु सिर्जना हुने र गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरु अझ सुपथ मूल्यमा पाउने छन् ।’

चुनले काठमाडौंको मिनभवनमा रहेको एलजी सपको पनि भ्रमण गरे । र, ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा देशभर यस्ता शोरुमहरु विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे ।

हाालसम्म नेपालमा नेपालमा एलजीका ८ वटा शोरुम छन् । चुनले नेपालमा टिभी प्यानल इकाइ स्थापना गर्न संभाव्यता अवलोकन गर्न नवलपरासीकाको देवचुलीस्थित सिजी औद्योगिक पार्कको समेत भ्रमण गरे ।

एलजी इलेक्ट्रोनिक्स संसारका अधिकांश देशमा उपस्थिति राख्ने र ७५ भन्दा बढी अन्तर्राष्ट्रिय कार्यबल भएको टेक्नोलोजी र इलेक्ट्रोनिक्समा प्रभुत्व जमाएको विश्वव्यापी आविस्कार हो । दक्षिण कोरियाको सोलमा मुख्य कार्यालय रहेको एलजीले २०२१ मा ६३ अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार गरेको थियो ।

टिभी, होम एप्लायन्स, एयस सोलुसन, मनिटर सर्भिस, रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिन्क्यू लगायतका उत्पादनहरु विश्वविख्यात छन् ।


क्लिकमान्डु