बैंकको ब्याज बढाउने निर्णय स्वभाविक छैन: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुको ब्याज बढाउने निर्णय स्वभाविक नभएको बताएका छन् ।

नेपाल बैंकर संघले विगत ६ महिनादेखि ब्याजदरका विषयमा गर्दै आएको भद्र सहमति खारेज गरेपछि बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि निक्षेपमा ब्याज बढाएका छन् ।

केही बैंकहरुले रेमिट्यान्स निक्षेपमा १५ प्रतिशतभन्दा बढी ब्याज दिन थालेका छन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले दैनिक ब्याज दिने, हरेक दिन ब्याज सावाँमा गणना गर्ने जस्ता कयौं स्किमहरु ल्याएका छन् । जसले गर्दा आगामी दिनमा बैंकहरुले आधारदर बढ्ने र कर्जाको ब्याजदर झनै महँगो हुनेछ ।

बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रमपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले वाणिज्य बैंकले ब्याज बढाउँदैमा निक्षेप बढ्ने सम्भावना नरहेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न सहयोग गर्नुमा बैंकहरुले उद्योगको लागत बढाउने गरी ब्याजदर बृद्धि गर्नु उपयुक्त नभएको बताए ।

‘रेमिट्यान्स र पर्यटन क्षेत्रमा भईरहेको सुधारले तरलता समस्या समाधान गर्न सहयोग गर्छ भन्ने विश्वास छ,’ ढकालले भने, ‘कोभिड १९ महामारीपछि लगानीयोग्य पूँजीको अभाव छ । जसले गर्दा देशभित्र व्यवसायिक गतिविधि र उद्योगको क्षमता बिस्तार गर्न सकिएको छैन् । व्यवसायीक गतिविधि बढाउन सहयोग गर्नु पर्ने अवस्थामा बैंकहरुको ब्याजदर बढाउने निर्णय स्वाभाविक छैन ।’


क्लिकमान्डु