मुड्खु–तीनपिप्ले सडक निर्माणको ठेक्का कमलजित–ड्रागन जेभीलाई



काठमाडौं । बालाजु–रानीपौवा सडकखण्ड अन्तर्गतको मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजित–ड्रागन जेभीले पाउने भएको छ ।

सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कमलजित–ड्रागन जेभीसँग मुड्खु–तीनपिप्ले निर्माणको ठेक्का सम्झौता हुने तयारी भएको जनाएको हो ।

चार महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरि यो ठेक्का सम्झौताको तयारी गरिएको छ । १२ करोड १८ लाखमा ठेक्का सम्झौता हुन लागेको छ । फास्ट्र ट्राकमार्फत गएर यो सडकखण्डको निर्माण आगामी चार महिनाभित्रमा गर्ने विभागले जनाएको छ ।

काठमाडौंको फोहोर विर्सजनका लागि लैजाने सडकखण्डअन्तर्गतको यो बाटो विगत आठ वर्षदेखि बन्न सकेको थिएन । यसअघि ठेक्का सम्झौता भएर निर्माणको जिम्मा पाएको कम्पनी शैलुङ कन्स्ट्रक्सनले सात पटक म्याद थपिँदासम्म काम नगरेपछि उक्त सडकखण्डको ठेक्का रद्द भएको थियो ।

त्यसपश्चात पुनः ठेक्का सम्झौताका लागि भएको बोलपत्र आह्वानमा सबैभन्दा कम आर्थिक प्रस्ताव कमलजित–ड्रागन जेभीले गरेपछि सोही कम्पनीसँग ठेक्का सम्झौता हुन लागेको हो ।

बोलपत्र आह्वान हुँदा चार कम्पनीहरु गौरी पार्वती कन्स्ट्रक्सन, समानान्तर कन्सट्रक्सन, देव एण्ड सायर कन्सट्रक्सन र कमलजित एण्ड ड्रागन कन्स्ट्रसनले टेण्डर भरेका थिए ।


क्लिकमान्डु