दार्चुलामा नेपाल-भारत जोड्ने पक्की पुलको शिलान्यास



दार्चुला । दार्चुलास्थित महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गरिएको छ ।

भारत सरकारको सहयोगमा दार्चुला जिल्लाको महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदिमा पूल बन्न लागेको हो ।

सोमबार आयोजित कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पुल निर्माणको शिलान्यास गरेका छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार पुल शिलान्यास कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो ।

पुल शिलान्यासको अवसरमा महाकाली नदीको समेत पूजा गरिएको छ ।

पुलको शिलान्यास गर्दै मन्त्री बडूले सुदूरपश्चिमको पहाडमा नेपाल-भारत जोड्ने गरी बन्न लागेको पक्की पुलले सुदूरपहाडको समृद्धिको ढोका खुल्ने बताए ।

दार्चुला नेपाल, भारत र चीनको सीमा जोडिएको जिल्ला भएकोले यो पूल निर्माणले त्रिदेशीय व्यापारको समेत ढोका खुल्ने बडूको भनाइ छ ।

‘पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुन्छ’, मन्त्री बडूले भने,’ दार्चुलाको कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थले अन्तर्राष्ट्रिय बजार पाउन्छ ।’

२०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भए पनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा समझदारी पत्रमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताए ।

महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका व्यक्तिलाई भारत जान सुदुरपश्चिमको तराई जिल्ला कैलाली र कञ्चनपुर पुग्नु पर्ने बाध्यता समेत अन्त्य हुनेछ ।

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरले बताए ।

दार्चुलाको महाकाली नदीमा पक्की पूल नहुँदा झोलुंगे पुल र धेरै ठाउँमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ ।

मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै सडक यातायात र मालसामान ढुवानीमा पनि सहज हुने चैसीर बताउँछन् ।


क्लिकमान्डु