बिराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी हुने



काठमाडौं । बिराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी हुने भएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश एकको आयोजनामा माघ १९ गतेदेखि बिराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको हो ।

अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीमा प्रदेश एक सहित मुलुकका बिभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुनेछ ।

साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रबिधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकिकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रबिधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी बस्तुको उत्पादन साथै ब्यवसायिकरण, पर्यटनको सम्भावनासंगै ति स्थानहरुको पहिचान एवं गन्तब्यको सुनिश्चितताको खोजी हुने बताइएको छ ।

कृषि उत्पादन, पर्यटन बिकास र स्थानीय उत्पादनको बजार ब्यवस्थापनका लागि समेत महत्वपुर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगाानीकर्ताहरु समेत आकर्षित हुने हाम्रो बिश्वास रहेको छ ।

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको बताइएको छ । प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समाबेश गरिनेछ । प्रदर्शनी आगामी माघ १९ देखि २८ गतेसम्म बिराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमार्गमा संचालन गरिने छ ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार ब्यवस्थापन, उपभोक्ता माझ नयाँ प्रबिधि र बस्तुको पहिचान एवं प्रबद्र्धनको माध्यमबाट आर्थिक बिकासमा महत्वपुर्ण योगदान हुने हाम्रो विश्वास छ । प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल्स, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिने छ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरु रहने छन् ।


क्लिकमान्डु