एकै व्यक्तिले १२ करोड गुमाएको क्रिप्टो करेन्सीको ठूलो घोटला



एजेन्सी । साइको ह्वाट्सएपमा अचानक म्यासेज आएको थियो । जेसिकाले उनको नम्बर फोनमा सेभ भएको पाएको र पुरानो साथी हुनसक्ने भन्दै म्यासेज गरेको बताएकी थिइन् ।

क्यालिफोर्नियाको खाडी क्षेत्रमा बस्ने ५२ वर्षिय साइले उनलाई चिन्न सकेनन् । तर, उनलाई जेसिका दयालु, सौहार्दपूर्ण र कुरा गर्दा प्रभाव गर्न सक्ने थिइन् । उनले आफूले खाइरहेको खानाको तस्बिर पठाइन् । उनीहरु दुबैलाई मन पर्ने खाना ‘सुसी’को बारेमा कुरा भयो ।

साइले त्यो कुराकानीलाई निकै रोचक माने, जसकारण अर्को दिन पनि उनीहरुबीच कुरा भएको थियो ।

विस्तारै कुराकानी साधारणबाट व्यक्तिगत हुन थाल्यो । साइले जेसिकालाई आफ्नो परिवारलाई सहयोग गर्न गरेको संघर्ष बारे सुनाए । आफ्नो बिरामी बुबाको बारेमा सुनाए । र, कसरी बुबालाई बृद्धाश्रम पठाउने निर्णयले उनलाई असर गर्यो भन्ने बारेमा सुनाए ।

यो घट्ना अक्टोबर २०२१ मा भएको थियो । डिसेम्बरसम्ममा साइको एक मिलियन अमेरिकी डलरभन्दा धेरै रकम फसेको थियो, जसमध्ये एक चौथाई पैसा उनले सापटी लिएका थिए । उनको आर्थिक अवस्था नाजुक थियो । छद्म नामबाट चिनाउन आग्रह गरेका साई ‘पिग बचरिङ’को सिकार भएका थिए ।

‘पिग बचरिङ’ भनेको एउटा लामो आर्थिक बाजी हो, जसमा साइजस्तै मानिसहरुलाई तहसनहस गरिन्छ । उनीहरुलाई अरु कसैले ठूलो रकम क्रिप्टो मुद्राको ट्रेडिङ हुने प्लेटफर्महरुमा लगानी गर्न भनिन्छ । तर, यी प्लेटफर्महरु फेक हुन्छन् । यीनिहरु हेर्दा वास्तविक क्रिप्टो प्लेटफर्मजस्तै देखिएपनि यसको वास्तविकता भने फरक हुन्छ ।

यस्ता प्लेटफर्महरुको डिजाइन वास्तविकजस्तै देखिएको हुन्छ, जसकारण उनीहरु यसबाट राम्रो परिणाम आउने आशा गर्छन् । तर, त्यो आशा पुरा हुनुअघि नै उनीहरुलाई लगानी गर्न भन्ने ‘स्केमर’ र उनीहरुले लगानी गरेको सोचेको सबै रकम गायब हुन्छ ।

पिडितहरुले धेरै रकम गुमाएका हुन्छन् । यो चलन यति व्यापकरुपमा चलेको छ कि कम्बोडिया, लाओस र म्यानमारजस्ता देशहरुमा सामुहिकरुपमा नै सञ्चालन गरिएको हुन्छ । हालसम्म अमेरिकाको केन्द्रिय र स्थानीय दुबै सरकारको कानुनी निकायले यसरी लुटिएको रकम फिर्ता गर्ने वा यस्ता ‘शिकारी’ पक्राउ गर्ने कुरामा निकै कम प्रगति गरेको छ ।

मानव बेचबिखनको विषयमा कानुनको व्यवस्था निकै जटिल छ । मानव अधिकारवादीहरु यस्ता स्केमरहरु आफैं पिडित हुने बताउँछन् । दक्षिणपूर्वी एसियाली देशहरुका मानिसहरुलाई राम्र्रो आम्दानी हुने जागिर भन्दै फसाएर उनीहरुलाई यस्तो शिकार गर्न बाध्य बनाइन्छ । कहिलेकाँही त उनीहरुमाथि हिंसा पनि हुन्छ । प्रायः उनीहरुको पासपोर्ट र मोबाइल फोन आगमनकै समयमा खोसिएको हुन्छ ।

यस्ता स्केमहरु ठूलो मात्रामा करिब करिब उद्योगकै रुपमा सञ्चालन भइरहेको हुन् बताउँछन् ग्लोबल एन्टि स्केम अर्गनाइजेसनका उपाध्यक्ष जेन सेन्टिआगो बताउँछन् । उनको अनुमानमा विश्वभरबाट यस्तो स्केममा खर्बौं रकम गुमिरहेको छ।

साइले स्केममा एक मिलियन अमेरिकी डलरभन्दा धेरै रकम गुमाए । साइले यो गुमाउनुको पछाडि महिनौ लामो कुराकानीमार्फत् उनलाई उक्साइएको थियो । ह्वाट्सएपबाट भएको उक्त कुराकानीमा २ लाख ७१ हजार शब्द छन्, जुन ४८० पेज हुन्छ ।

साइले उपलब्ध गराएको उक्त कुराकानीले जेसिकाले उनको डर र असुरक्षालाई आधार बनाएर फाइदा लिएको देखाउँछ । बिरामी बुबा, धेरै काम गर्ने श्रीमती र कलेज पढ्न जान लागेकी छोरी भएको साइले जेसिकाले भनेको पैसा सजिल्यै कमाउने बाटोलाई छिटो र छरितो ठोका थिए । उनको व्यक्तिगत जीवन बारेका जानकारीहरु नै जेसिकाले साई र उनको पैसामाथि चलाएको हतियार थियो । हरेक कदममा उनलाई जेसिकाले थप खर्च गर्न उक्साएकी थिइन् ।

जेसिकालाई साइले चिनेसँगै उनले साइलाई ‘मेटाट्रेडर’ नामक एक एपबाट उनले लाखौं पैसा कमाएको बताएकी थिइन् । त्यो एप एप्पलको एप स्टोरमा उपलब्ध थियो । जेसिकाले साइलाई उनले सुनको विषयमा भित्री सुचना पाइरहेको बताएकी थिइन् । त्यो सुचना जेसिकालाई हङकङका कुनै आफन्तले उनलाई दिएका थिए । हङकङ त्यीह ठाउँ थियो जहाँ साइका बुबा आमा हुर्किका थिए ।

अक्टोबरको अन्त्यतिर जेसिकाले साइलाई बिहानको १० बजे म्यासेज गरेकी थिइन् । उक्त म्यासेजमा आफूलाई अंगलले कुनै भित्री सुचना दिएको र त्यसको आधारमा दुबैले फाइदा निकाल्न सक्ने बताइन् । उनले साइलाई एउटा नमुना कारोबार गर्न भनिन् । साइलाई विश्वास दिलाउन जेसिका लेख्छिन्, ‘यसमा पैसा लाग्दैन ।’

केही मिनेटमा नै जेसिकाले आदेश दिए जस्तो शैलीमा साइलाई विभिन्न प्रक्रियाहरुबाट अघि बढाइन् ।

‘पैसा बनाउन मन छ भने मैले भनेको मान्नुपर्छ,’ जेसिकाले म्यासेजमा लेखकी छिन् ।

जेसिकाले साइलाई आफ्नो फोनमा ‘मेटाट्रेडर फाइभ’ नामक एप डाउनलोड गर्न लगाइन् र केही जानकारीहर दिइन् । फोनमा दुई वटा बटम देखिएका थिए । रातोले ‘सस्तोमा किन्ने’ र निलोले ‘महंगोमा किन्ने’ भनिएको थियो ।

तर, त्यो नमुना कारोबारमै पनि साइले पैसा गुमाए । जेसिका भने उनलाई विश्वास दिलाउन लागि परेकी थिइन् । जेसिकाले आफूले यस्तै भित्री सुचनाको आधारमा ५ मिलियन अमेकिरी डलरको लगानी १० मिलियन बनाएको भन्दै नआत्तिन भनिन् । र, त्यो नै साइको ठूलो गल्ती भयो ।

त्यही दिन साँझ साइले पुनः नमुना कारोबार गरे । यसपटक भने साइले २८ हजार अमेरिकी डलर कमाई गरेको देखियो । जेसिकाले भनेअनुसार नै गर्दा यो रकम कमाई भएको देखिएको थियो । तर, त्यो नमुना कारोबारमात्रै थियो ।
जेसिकाले त्यसपछि भने उनलाई १० हजार अमेरिकी डलर लगानी गर्न भनिन् । जुन लगानी गर्ने सबैभन्दा कम रकम थियो । त्यसबाट हुने फाइदाले साइले आफ्नो परिवारलाई सहयोग गर्न सक्ने जेसिकाको तर्र्क थियो ।

भोलीपल्ट साइले जेसिकालाई आफूले ५ हजार डलर लगानी गर्ने र उनले ५ हजार गर्ने भन्दै प्रस्ताव राखे । कारोबारमा फाइदा भएपछिको रकम बाँढने साइको प्रस्ताव थियो । तर, जेसिकाले त्यो प्रस्तावालाई अस्विकार गरिन् ।

यस्तो पटक पटक भयो । अन्त्यमा साइले आफूलाई पैसा गुमाउने चिन्ता भएको बताउँदै १० हजार अमेरिकी डलर नै लगानी गर्ने बताए । त्यो बेला जेसिकाले भनेकी थिइन्, ‘पुरुष मान्छे यस्तो हुनुहुँदैन । चिन्ता लागेको छ भने नगर्दा हुन्छ ।’

जेसिकाको सहायताले साइले १० हजार रुपैयाँ ‘क्वाइनबेस’मा लगानी गरे । केही दिनपछि साइले जेसिकालाई पुनः म्यासेज गरे । केही पटक ‘क्वाइनबेस’मा कारोबार गरेपछि जेसिकाले साइलाई क्रिप्टो डट कममा पैसा प्रतिस्थापन गर्न भनिन् । उनले त्यो बेला इथेरकम नामक क्रिप्टो किन्न भनेकी थिइन् । १० हजार डलरको त्यो क्रिप्टो किन्न भन्ने जेसिकाले पछि टेथर भनने क्रिप्टो किन्न भनेकी थिइन् ।

अक्टोबर २७ मा जेसिकाले पुनः साइलाई म्यासेज गरिन् । त्यो बेला साइको पैसा दाउमा थियो ।

जेसिकाको म्यासेजमा भनेजस्तै साइले कारोबार गर्न थाले । उनी अरु केही नबोली उनले भनेअनुसार गर्न थाले । जेसिकाले मेटाट्रेडर एपमार्फत् सुन किन्न भनेकी थिइन् । साइले आफूले भविष्यका लागि डिजिटलरुपमा सुन किनेको भन्ने सोचिरहेका थिए ।

क्रिप्टो र डिजिटल कारोबारबाट आम्दानी हुने विश्वास जेसिकाले साइलाई गराएपछि साई त्यसमा रुचि राख्न थाले । उनले २७ अक्टोबरमा जेसिकालाई भोलिपल्ट २० हजार अमेरिकी डलर पठाउने भनेका थिए ।

‘मैले यस्तो धेरै पैसा आजसम्म कतै कारोबार गरेको छैन,’ साइले जेसिकालाई भनेका थिए, ‘मलाई डर लागिरहेको छ ।’

जेसिकाले भने आफूले साइलाई पैसा बनाउने माध्यम र बाटो सिकाइरहेकाले शंका किन गरेको भन्ने प्रश्न गरेकी थिइन् । साइले केही दिनपछि पुनः लगानी गरे । त्यो बेलासम्म उनको लगानी ५० हजार अमेरिकी डलर लगानी गरेका थिए । यो समयमा उनको फाइदाका रुपमा १३ हजार अमेरिकी डलर देखिएको थियो ।

यो सबै मेटाट्रेडर नामक एपबाट भइरहेको थियो । मेटाट्रेडरले आफ्नो लाइसेन्स कानुनी र वैद्य कारोबार हुने विभिन्न कम्पनीलाई दिन्छ । तर, सँगै यसले भर्चुअल डिलरका रुपमा पनि ‘प्लग इन’ प्रयोग गरेर काम गर्न मिल्ने ठाउँ छोडेको छ । त्यसैको प्रयोग गरेर स्केमरहरुले बजारको भाउ घढबढ भएकोदेखि वास्तविक कारोबार खाताकै जस्तो नमुना बनाउन सक्छन् ।

सबै कुराहरु वास्तविक देखिएपनि त्यो सबै एउटा नमुना मात्रै हुन्छ ।

साइको घट्नामा पनि जेसिकाले आफ्नो ल्यापटपमार्फत साइले चलाइरहेको ‘मेटाट्रेडर फाइभ’को सम्पूर्ण कुराहरु नियन्त्रण गरिरहेकी थिइन् । साइलाई उनले भनेका सुचनाहरु सबै उनी आफैंले बनाएका थिए । एपमा पैसा बढेको देखिने वा गएको देखिने भन्ने सबै जेसिकाकै हातमा थियो ।

एपस्टोरबाट एप डाउन्लोड गरेको भएकाले साइलाई यो एप वैद्य र राम्रो हो भन्ने लागेको थियो । एप स्टोरमा ४.७ रेटिङ भएको एप देख्दा उनलाई यो कुनै स्केम हुनसक्छ भन्ने लागेकै थिएन ।

तर, जे नसोचेको थियो त्यहि भयो । साइ शिकार भए । ‘पिग बुचरिङ’ भनिने यो किसिमको स्केमको शिकार भएका साइले १ मिलियन अमेरिकी डलर गुमाए ।

साइलेजस्तै यस्तो प्रविधि र स्केमको मारमा परेका धेरै पिडितहरुले आफ्नो स्थानिय प्रहरीलाई उजुरी दिएका छन् । तर, यस्ता घट्नाहरु इन्टरनेटको माध्यमबाट विभिन्न देशमा बसेर गरिने भएकाले खासै प्रगती यसमा हुन सकेको छैन ।
साइले पटक पटक गर्दै हजारबाट लाखौं डलरमा लगानी गर्न थालेका थिए। आफ्नो घरलाई बन्धकी राखेर उनले २ लाख अमेरिकी डलर निकालेर लगानी गरेका थिए । त्यो बेलासम्म उनको लगानी ४ लाख ४० हजार अमेरिकी डलर भएको थियो । बीचका केही समयमा उनको लगानीमा फाइदा भएको एपमा देखिन्थ्यो । जेसिकाले उनलाई ‘ठूलो बजार’ भइको भन्दै थप लगानी गर्न भनिरहेकी थिइन् ।

नोमेम्बर १८ मा उनले गरेको ४ लाख ४० हजार अमेरिकी डलरको लगानी बढेर २.२ मिलियन अमेरिकी डलर भएको देखियो ।

तर, तत्कालै उनको खातामा ४ लाख ८० हजार अमेरिकी डलर रकम नेगेटिभमा देखाएको थियो । साइलाई एपमा कुनै घढबढ भएको जस्तो लाग्यो । उनले तत्कालै जेसिकालाई म्यासेज गरे, ‘मैले मेरो सबै पैसा गुमाए ।’

जेसिकाले तत्कालै उनलाई म्यासेजको रिप्लाइ गरिन् । उनले लेखेकी छिन्, ‘मैले के गर्नुपर्छ । पुँजी पर्याप्त छैन भने भएको फाइदाको रकम खातामा रहन सक्दैन ।’

जेसिकाले त्यो पैसा फिर्ता ल्याउन सहयोग गर्ने आवश्वासन दिइन् । साइले पनि आफूसँग भएका अन्य सम्पतीहरु बेच्दै र बैंकमा राख्दै पैसा निकाले त्यो एपमा लगानी गर्न थाले । साइलाई जेसिकाले पैसा फिर्ता आउने भनिरहेकी थिइन् । तर, अब साइसँग कुनै विकल्प नै थिएन् । यसअघि नै उनले ४ लाख ४० हजार अमेरिकी डलर लगानी गरिसकेका थिए ।

साइले एकदिन जेसिकालाई आफ्नो परिवारले घर र अरु सम्पत्ति बैंकमा राखेर पैसा निकालेको थाहा पाएको र प्रहरी बोलाइरहेको बताए । हुन त त्यो कुरा आफ्नो पैसा फिर्ता ल्याउनका लागि साइले बनाएको एउटा बहाना थियो । किनकी, उनलाई आफ्नो पैसा डुबेको हो कि भन्ने डर भएको थियो ।

जेसिकाले त्यो बेला तत्कालै घाटा कम गर्ने र पैसा फिर्ता ल्याउने हो भने थप लगानी गर्नुपर्ने बताइन् । केही पैसा ऋण लिएरै भएपनि लगानी गर्न भनिन् । साइलाई त्यसलाई विश्वास गराएर जेसिकाले थप रकम लगानी गर्न बाध्य बनाइन् ।

अन्त्यमा साइले १ लाख अमेरिकी डलर आफ्नो साथीबाट मागे । केही रकम आफूसँग भएको सामग्री बेचेर निकाले । पहिले लगानी भएको ४ लाख ४० हजार अमेरिकी डलरमा साइले पुनः ६ लाख अमेरिकी डलर लगानी गरे । साइलाई आफ्नो पैसा १.१ मिलियन अमेरिकी डलर पुगेको थियो जस्तो लाग्छ ।

जब उनको खातामा भएको पैसा १.८ मिलियन पुग्छ, तब जेसिकाले उनलाई पैसा निकाल्न सिकाउने भनेकी थिइन् ।

तर, डिसेम्बर ३ मा केही कारोबार गर्न खोज्दा उनको एपमा पुनः नेगेटिभ ब्यालेन्स देखियो । दोस्रो पटक साइले हालेको पैसा पनि डुबेको संकेत थियो त्यो ।

यो समयमा उनले आफ्नो बुबा गुमाइसकेका थिए । तत्कालै साइले जेसिकालाई म्यासेज गरे । सहयोग गर्न बिन्ती गरे । तर, जेसिकाले उनलाई थप पैसा खोज्न भनिन् । साइसँग अब पैसा खोज्ने वा माग्ने कुनै पनि ठाउँ बाँकी थिइन् । जेसिकाले त्यसपछि साइलाई आफूलाई सम्पर्क नगर्न र प्रहरीकोमा जान भनिन् ।

निराश र उपाय बिहिन भएका साई सेनफ्रेनस्सिकोमा भएका आफ्नो साथीकोमा पुगे । उनले आफ्नो १.४ मिलियन वास्तविक पैसा गुमाएका थिए । पहिलो चरणमा लगानी गरेको ४ लाख ४० हजार र पछिल्लो पटकको ६ लाख अमेरिकी डलर पैसा बेपत्ता भयो । साइलाई त्यो बेला आत्महत्या गर्ने सोच आइरहेको थियो ।

‘म अरु कसैलाई हानी गर्न चाहने मान्छे होइन,’ उनी भन्छन्, ‘यो सबै मेरै कारणले भएको थियो । मैले नै गर्दा यो सबै भयो ।’

एम्बुलेन्समा हुँदा तस्बिर खिचेर जेसिकालाई पठाए । तर, त्यसको जवाफले उनलाई खिन्न बनायो ।

‘आफैंलाई हानी गर्नु भनेको नालायकीको संकेत हो,’ उनले भनेकी छिन्, ‘मेरो सुझाव, तिम्रो दिमागले तिमीलाई मर्न तयार गरेको छैन भने राम्रोसँग बाँच्नु ।’

जेसिकाले साइको जीवनभरको सबै कमाई लुटेकी थिइन् ।

त्यो महिना साइले स्थानीय प्रहरीमा रिपोर्ट दर्ता गरेका थिए । तर, उनलाई अब आफ्नो पैसा फिर्ता आउँछ भन्ने आशा निकै कम छ । उनी भन्छन्, ‘उनीहरुसँग स्रोत र क्रिप्टोकरेनसीमा काम गर्ने प्रविधिहरुको कमि छ । उनीहरुले मेरो उजुरी लिएका छन् र अब एफबिआईलाई मुद्दा दिन खोजेका छन् ।’

साइले जेसिकालाई अन्तिम म्यासेज १ जुन २०२२ मा पठाएका छन् । त्यसअघि उनले जेसिकालाई मानव बेचबिखनको कारण यहाँसम्म आइपुगेको हो भने सहयोग गर्ने पनि भनेका थिए ।

उनले भनेका छन्, ‘मसँग पैसा त छैन् । तर, केही मान्छेहरु छन् जसले तिमीलाई यो काम जबर्जस्ती लगाएको हो भने सहयोग गर्न सक्छन् ।’

तर, जेसिकाको कुनै जवाफ छैन ।

अहिले साइ आफ्नो परिवारसँग बिग्रिएको सम्बन्ध र आर्थिक कुराहरु मिलाउन संघर्ष गरिरहेका छन् । उनले तिर्नुपर्ने पैसाले उनलाई दैनिक सताइरहेको छ । ‘गोफण्डमि’मा उनका लागि उठेको पैसाले भएको हानीको थोरै अंश तिर्न पुगेको छ ।

‘छोराछोरीका लागि म आफ्नो भावना लुकाउन खोजिरहेको छु,’ उनले भनेका छन्, ‘म दैनिक आफूभित्रको राक्षससँग लडेर बाँचिरहेको छु ।’


क्लिकमान्डु