सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक



काठमाडौं । नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधिर श्रेष्ठले हट एयर बलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् ।

सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रालाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रुपमा काम गर्दै आएका थिए । लामिछाने सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट पनि हुन् ।

सुधिर पनि अल्ट्रालाइटका पाइलटसमेत हुन् । उनले पाइलट कोर्स दक्षिण अफ्रिकाबाट गरेर नेपाल आएका थिए । पोखरामा हट एयर बलुन उड्ने भएपछि यही नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए । एडभान्स तालिम सन् २०२२ को १० जुनदेखि १६ सम्म लिए र प्राधिकरणको परीक्षा दिएका थिए ।

अहिले नेपालमा हट एयर बलुनको सर्टिफाइड टेक्निकल स्टाफ सुधिर र सन्तमात्रै हुन् । सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो । हट एयर बलुनको प्राविधिककालागि ५ वटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिन्छ ।

ुलामिछाने र श्रेष्ठ हट एयर बलुनको प्राविधिक हुनु अघि नेपाली प्राविधिक नभएका कारण सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो ।

‘बलुन नेपालका अध्यक्ष बिक्रम बाडे थप्छन् ‘समयमै प्राविधिक उपलब्ध नहुँदा एक दुई महिना नै अपरेसन बन्द गर्नु पर्ने अवस्था थियो । अब नेपालमै प्राविधिक भएपछि यस्तो परिस्थिति सिर्जना नहुने अपेक्षा गरिएको छ ।’


क्लिकमान्डु