बजेट बाँडफाँटपछि आयोजना खोज्न दौडेर पुँजीगत खर्च हुन सकेनः पूर्वमन्त्री झाँक्री



काठमाडौं । पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बजेट बाँडफाँटपछि आयोजना खोज्न दौडनुपर्ने प्रवृत्तिको कारण पुँजीगत खर्च हुन नसकेको बताएकी छिन् । राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘सरकार र निजी क्षेत्रको दक्षता कम हुनु, योजना चक्र पूरा नभएका आयोजनाहरु हुनु, आयोजनाहरुमा एयरमार्क गरेभन्दा कम पैसा हुनु र लहडमा आयोजना छानिनु नै पुँजीगत खर्च नहुनुको मुख्य कारण हुन्’ , झाँक्रीले भनिन्, ‘निर्माण व्यवसायी ऐनको संसोधन र खरिद बिक्री सम्बन्धी नियम कानूनहरु परिमार्जित हुनु पर्नेमा उनको जोड थियो ।

पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालमा कस्तो विकास चाहिने हो त्यसको प्रष्ट दृष्टिकोण हुनुपर्ने बताए । ‘बाटो घाटो र पुल बनाउनु मात्रै विकास होइन, विकासलाई कन्कृटाइजेसन नगरौं’ उनले भने, ‘विकासका आयोजनाहरू समावेशी र समन्यायिक हुनुपर्छ ।’
ज्ञवालीले पूँजीगत खर्चलाई बढाई नेपालको पूर्वाधार विकासलाई गति दिन सरकार, विकास साझेदार र निजी क्षेत्रबीच समन्वय र सहकार्यको आवश्यकता रहेको जिकिर गरे ।

कार्यक्रममा दायित्वका संस्थापक तथा अध्यक्ष डा. पुकार मल्लले संसदमा अरूको तुलनामा आर्थिक मुद्दाका विषयमा कमै छलफल हुने बताए ।

कार्यक्रममा नेपालमा पूँजीगत खर्चको पूर्ण उपयोग हुन नसक्नुका मुख्य कारणहरु, आयोजना कार्यान्वयनका क्रममा देखिएका चुनौती, सरकार, विकास साझेदार र निजी क्षेत्रबीचको समन्वयको अभाव, सरोकारवालाको अकुशल काम र ढिलासुस्ति, अत्यन्तै कडा नियम–कानुन, परिवर्तनशील सहरीकरणलाई अनुकूलन गर्ने, पूर्वाधार विकासको निम्ति प्राविधिक विकासको आवश्यकता लगायतका प्रमुख विषयमा छलफल भएको थियो ।


क्लिकमान्डु