भारतको नम्बर १ मिनरलवाटर बिस्लेरीको कथाः शुरु गर्दा रोसीलाई पागल भन्थे, खर्बौंको भयो, टाटाले किन्दै



एजेन्सी । भर्खरै स्वतन्त्रता प्राप्त गरेर नयाँ राजनीतिक वातावरण बनिरहेको भारतमा तीब्र गतिमा व्यवसाय विस्तार हुँदै थियो । ठीक त्यही समय सेसार रोसी नामक डाक्टरका दिमागमा एकदिन ‘बिजनेश आइडिया’ आयो । भारतमा भावी दिनमा पानीको ब्यापार निकै ठूलो हुने र सफल हुने नै उनको बिजनेश आइडिया थियो ।

त्यसबेला भारतमा पानीको उपलब्धता अत्यन्तै सहज थियो । तर, मिनरल वाटर पाउन भने निकै मुस्किल थियो । किनभने, त्यसबेलासम्म भारतीय बजारमा प्याकेजिङ गरेको पानीको ब्यापार नै हुँदैन थियो ।

तर, भविष्यमा मिनरल वाटरको मालामाल ब्यापारको अवसर देखेका डा. सेसार रोसीले सन् १९६५ मा सुन्तुक नाम गरेका एक वकिलसँग साझेदारी गर्दै बिस्लेरी ब्राण्डमा मिनरल वाटरको व्यापार शुरु गरे ।

डा रोसी

मुम्बईको ठाणेमा बिस्लेरीले प्लान्ट लगाएर उत्पादन शुरु भयो ।

एउटा मिनरल वाटरको मूल्य १ रुपैयाँ राखे । त्यो बेला १ रुपैयाँ खर्च गरेर मिनरल वाटर किनेर खाने भन्ने कुरा त निकै परको थियो । यो देखेर भारतीयहरुले डा. रोसीलाई मजाकमा उँडाइदिए । हाँसोको पात्र बनाइदिए । किनभने, त्यो समय भारतमा मिनरल वाटर उत्पादन गरी बिक्री गर्छु भन्नु पागलपनभन्दा कम थिएन ।

तर, आम मान्छेले सोचेजस्तो भइदिएन । त्यसबेलाको भारतको राजधानी मुम्बईमा विस्तारै स्वच्छ खानेपानीको अभाव हुन थालिसकेको थियो । शहरमा जनसंख्या बढेसँगै स्वच्छ पानीको अभाव हुन थालेको थियो । उनीहरुका लागि यही कुरा बरदान भइदियो । र, मुम्बईका धनाड्य र त्यहाँ घुम्न आउने पर्यटकका लागि बिस्लेरी अमृतजस्तै भइदियो ।

बिस्लरी ब्राण्डको शुरुवात इटालियन व्यापारी सिग्नोर फिलिस बिस्लेरीले गरेका थिए । उनको जन्म सन् १९५१ नोभेम्बर २० मा भएको हो । उनी एक इन्भेन्टर, केमेस्ट्री थिए । बिस्लेरी मलेरियाको औषधी बनाउने कम्पनी थियो । आफ्ना उत्पादन बिक्री गर्न फिलिसले मुम्बईमा जग्गा किनेका थिए । र, त्यहाँ सानो भवन पनि बनाएका थिए ।

सन्दुकका बुबा बिस्लेरी परिवारका कानूनी सल्लाहकार थिए भने रोसी भने बिस्लेरी परिवारका डाक्टर थिए । उनीहरु मित्र पनि थिए । बिस्लेरी ब्राण्डमा मिनरल वाटर बनाउने रोसीको आइडियालाई फिलिसले पनि साथ दिने बचन दिए ।

डा. रोसी बिस्लरी परिवारका कानूनी सल्लाहकार खुस्रो सन्तुकसँग पनि साथी भइसकेका थिए । सन्तुक ती व्यक्ति हुन् जसले फिलिसलाई भारतमा बिस्लरी कम्पनी स्थापना गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

रोसीको आइडिया, सन्दुकको र फिलिसको साथ र प्रोत्साहनले भारतमा पहिलोपटक सन् १९६५ मा बिस्लेरी ब्राण्डको मिनरल वाटर उत्पादन शुरु भयो ।

बिस्लेरीको स्थापना इटालीमा सिग्नर फेलिस बिस्लेरीले गरेका थिए । तर, जब उनको मृत्यु भयो, त्यसपछि भने सो कम्पनी डा. रोसीलाई हस्तान्तरण गरिएको थियो । आफ्नो बिजनेश आइडियाको मालिक आफैं बने रोसी ।

बिस्लेरीले भारतीय बजारमा मिनरल वाटर र सोडाका साथ आफ्नो उपस्थिति जनाएको थियो । शुरुका दिनमा उनीहरुको उत्पादन धनी व्यक्तिको पहुँचमा मात्रै सीमित भयो । साथै, पाँचतारे होटेलले मात्रै उनीहरुको उत्पादन किने । रोसी र सन्तुकलाई थाहा थियो कि सीमित व्यक्तिको मात्रै पहुँचमा आफ्नो उत्पादन रहिरहने हो भने सफलता मिल्दैन । त्यसैले उनीहरुको कम्पनी बिक्री गर्ने निधो गरे ।

बिस्लेरी कम्पनी बिक्री गर्ने खबर भारतीय व्यावसायिक क्षेत्रमा जंगलको आगोसरी फैलियो । र, उक्त हल्ला पार्ले कम्पनीका मास्टर माइन्ड ‘चौहान ब्रदर्स’सम्म पुग्यो । बिस्लेरी मिनरल वाटरको प्लान्ट शुरु भएको ४ वर्षपछि अर्थात् सन् १९६९ मा रमेश चौहानले बिस्लेरीलाई ४ लाख भारतीय रुपैयाँमा किने ।

पार्ले ग्रुपको स्थापना सन् १९४९ मा जयन्तीलाल चौहानले गरेका थिए । रमेश चौहान जयन्तीका छोरा हुन् । पार्ले बहुचर्चित ब्राण्ड लेमी, गोल्डस्टप लागयतका पेय पदार्थ उत्पादन तथा बिक्री बितरण गर्ने कम्पनी हो । पार्ले ग्रुपले बिस्लेरीको गज्जपसँग ब्राण्डिंग गर्यो । किनभने, चौहान ब्रदर्स त्यसअघि नै स्थापित व्यवसायी थिए । र, बिस्लेरीले राम्रोसँग बजार पिट्यो । उसले आफ्नो बजार हिस्सा यसरी बढाउँदै लग्यो कि भारतमा बिस्लेरी मिनरल वाटरको पर्याय नै बन्यो ।

सन् २०१९ मा बिस्लेरीको भ्यालुएसन २४ बिलियन अमेरिकी डलर थियो । सन् २०२२ मा ५० बिलियन (करिब ४० खर्ब भारतीय रुपैयाँ) र २०२३ मा ६० बिलियन डलर पुग्ने विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।

भारतमा वार्षिक ७ खर्ब थाप प्याकेजिंग पानी अर्थात् जार र मिनरल वाटरको बजार छ । जसको ६० प्रतिशत हिस्सा बिस्लेरीले ओगट्छ । बिस्लेरीको वृद्धि यति भव्य भएको छ कि यसले आफ्ना ग्राहकहरुको वृद्धिसँगै ब्राण्डलाई स्थापित गर्न सफल भएको छ ।

जब मान्छेहरु तपाईंको कपी गर्न थाल्छन्, तब बुझ्नुहोस् तपाईंले आफ्नो जीवनमा सफलता चुमिसक्नुभयो । यो भनाइ मिनलर वाटर कम्पनी बिस्लरीको हो । अहिले बिस्लरी अत्याधिक लोकप्रिय मिनरल वाटर कम्पनीका रुपमा भारतमा मात्रै होइन, अन्तर्राष्ट्रियरुपमा पनि ठूलो सफलता हासिल गरेको छ । बिस्लरीको सिको गर्दै धेरै छ्याप्छ्याप्ती मिनरल वाटर कम्पनी खुलिसकेका छन् । बिस्लरी ब्राण्डमा कयौं नक्कली मिनरल वाटर उत्पादन भइरहेका छन् ।

तपाईं सोचिरहनु भएको होला यो कहानी आज किन बताइँदैछ । तर, महत्वपूर्ण कुरा यो छ कि त्यही भारतको सबैभन्दा ठूलो बिस्लेरी ब्राण्डको मिनरल वाटर उत्पादन गर्ने सो कम्पनी भारतकै ठूलो व्यापारिक घराना टाटा समूहले किन्न लागिरहेको छ ।

पछिल्लो समय व्यवसाय विस्तारमा आक्रामक भएको टाटा समूहले बिस्लेरीको सेयर किन्नका लागि घनिभूत छलफल गरिरहेको छ । सम्झौता अन्तिम चरणमा रहेको टाटाका तीन कार्यकारी अधिकारीहरुले सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिस्लेरी किनेसँगै टाटालाई इन्ट्री–लेभल, मिड–सेगमेन्ट र प्रिमियम मिनरल वाटरमा बलियोसँग खुट्टा गाड्न मौका दिनेछ । यसले टाटालाई रिटेल स्टोर, केमिस्टच्यानल र संस्थागत च्यानलहरूको रेडी–टु–मार्केट नेटवर्क पनि दिनेछ । बिस्लेरीसँग बल्क वाटर डेलिभरीको नेटवर्क पनि छ । यसले होटल, रेस्टुरेन्ट र एयरपोर्टहरूमा पानी आपूर्ति गर्दछ ।

जब रंग बदल्यो

सन् २००६ मा बोतलको लेबलको रंग परिवर्तन गरी हरियो बनायो । बिस्लेरीले आफ्ना प्रतिस्पर्धीहरुभन्दा भिन्न रंग रोज्यो । त्यसपछि मिनरल वाटरको प्रतिस्पर्धा झनै बढ्यो ।

बिस्लेरीले आफ्ना उत्पादनहरुमा विविधता ल्यायो । जसले मिनरल वाटरको बिस्लेरीको बजारलाई झनै फराकिलो बनायो । कम्पनीले ग्राहकलाई सन्तुष्टि बनाउने काममा ध्यान दियो । पार्लेको अनुसन्धान टोलीले सँधै सामान्यभन्दा सामान्य मानिसको पहुँचमा कसरी पुगिरहने भनेर लगातार काम गरिरहेको हुन्छ ।

फलस्वरुप अहिले बिस्लेरी मिनरल वाटरको पर्यायबाची नै बनेको छ भारतमा । बिस्लेरीका उत्पादन उपभोक्ताले सस्तो दरमै किन्न सक्छन् । उसले ठाउँका आधारमा फरक फरक मूल्य लिने बिजनेश रणनीति अबलम्बन गरिरहेको छ । रेस्टुरेन्ट र थ्रिएटरमा बिस्लेरी खुद्रा पसलभन्दा निकै महंगो छ ।

ग्राहकमैत्री बजार विस्तारको रणनीति

बिस्लेरीले आक्रामक शैलीमा ग्राहकमैत्री बजार विस्तारको रणनीति लियो । उसले आमसञ्चारका माध्यममा ठूलो रासीमा विज्ञापनका लागि खर्च गर्यो । त्यस्तै, पोस्टर र होडिंगबोर्डमा पनि । कम्पनीले आफ्ना उत्पादनका बारेमा वेबसाइटमा विस्तृत उल्लेख गर्यो । विज्ञापनमा नारा राख्यो कि बिस्लेरी धेरै एक्स्ट्रा अर्डिनरी छ, यसले आम सर्वसाधारणको ध्यानाकर्षण गर्यो । विभिन्न क्याम्पेनहरुमा बिस्लेरीले आफ्नो ब्राण्डलाई स्थापित गर्न केन्द्रित भयो ।

त्यस्तै, उसले लेबलमा विभिन्न भाषामा एक देश, एक पानी भन्ने नारा लेखेर विभिन्न स्थानका भिन्नाभिन्नै भाषाका ग्राहकको मन जित्यो । त्यस्तै, उसले प्रत्येक पानीको बोतल बिस्लेरी होइन भन्ने अभियान पनि चलायो । जसले बिस्लेरी मात्रै शुद्ध र हाइजेनिक पानी हो भन्ने स्थापित गर्यो ।

भारत र छिमेकी देशमा १०३ वटा प्लान्ट राखेर बिस्लेरीले मिनरल वाटर उत्पादन गर्दै आएको छ । हरियो बिर्को भएको बोतल भएको बिस्लेरीबारे अधिकांश भारतीयहरु परिचित छन् ।


क्लिकमान्डु