चिप आयात कम गर्न अमेरिकामै माइक्रोन टेक्नोलोजिजको उत्पादन कारखाना



काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो मेमोरी चिप कम्पनी ‘माइक्रोन टेक्नोलोजिज आईएनसी’ले सोमबार इडाहोको बोइसमा १५ बिलियन डलरको कारखानाको घोषणा गरेको छ । कम्पनीका कार्यकारी प्रमुखले बताएअनुसार छिट्टै नै अमेरिकामा अर्को पनि कारखानाको घोषणा हुँदै छ ।

कम्पनीका कार्यकारी प्रमुख सञ्जय मल्होत्राले भनेका छन्, ‘हामी अर्को पनि उत्पादन कारखाना खोल्ने अन्तिम चरणमा छौं । केही हप्तामै यसको घोषणा हुने छ ।’

यी दुवै कारखानाबाट ‘डि–र्‍याम’ को उत्पादन हुनेछ, जसलाई अत्याधिक मात्रामा डाटा सेन्टर, व्यक्तिगत कम्प्युटर तथा अन्य उपकरणहरुमा प्रयोग गरिँदै आइएको छ । सञ्चालनमा आएसँगै माक्रोनको अमेरिकाको कारखानाबाट विश्वभरका लागि ४० प्रतिशत ‘डि–र्‍याम’को बजार हासिल गर्नेछ, जुन अहिले १० प्रतिशत रहेको छ । बोइसको कारखाना सन् २०२५ सम्ममा सञ्चालनमा आउने मल्होत्राले बताए ।

माइक्रोनको दाबीअनुसार यो नै अमेरिकामा पछिल्लो २० वर्षमा खुलेको चिप कारखाना हो । र यसले यो दशकको अन्त्यसम्ममा २ हजार जनालाई जागिर दिनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘चिप एण्ड साइन्स एक्ट’लाई पास गरेसँगै उक्त व्यवस्थाअन्तर्गत देशभित्रै उत्पादन हुने सेमिकन्डक्टरका लागि ५२ बिलियन रकम बराबरको सहयोग गरिने भएको थियो । त्यसपछि केही कम्पनीहरुले अमेरिकाममै चिपको उत्पादन सुरु गर्ने घोषणा गरेका छन् ।

इन्टेल कर्पले शुक्रबार मात्रै २० बिलियनको कारखाना ओहियोमा खोल्ने घोषणा गरेको छ, जसले प्रोसेसर चिपहरुको उत्पादन गर्नेछ ।

कुनै समय आफ्नो सुरुवात भएको बोइसमा माइक्रोनले चिपको उत्पादन गरेको भए पनि पछिल्लो समय त्यहाँबाट कम्पनीले ठूला उत्पादन कारखानाहरु जापान, ताइवान र सिंगापुरमा खोलेको थियो । कम्पनीको केन्द्रीय अनुसन्धान र सञ्चालन बोइसमै रहेको थियो । कार्यकारी प्रमुख मल्होत्रा अनुसन्धान र सञ्चालनसँगै उत्पादन पनि एकै ठाउँमा हुँदा बजारमा गतिशिल बन्नमा थप सहयोग पुग्ने बताउँछन् ।

मल्होत्रा अमेरिकी लगानीका कारण एसियाका देशबाट पछि नहटेको दाबी गर्छन् । उनी भन्छन्, ‘यो विषय संसारको अरु कुनै ठाउँबाट उत्पादन हटाउने वा फर्काएर यतै ल्याउने भन्ने कुरा होइन् । यो उत्पादन बढाउने कुरा हो । बढिरहेको मेमोरीको मागलाई धान्नका लागि हामीले हाम्रो उत्पादनलाई बढाउनुपर्छ । चिप एण्ड साइन्स बिलले अमेरिकामा यसको उत्पादन बढाउने बाटो खोलेको छ ।’

पछिल्ला केही साता यता अमेरिकामा रहेका कम्पनीहरुले एसियाली देशमा रहेका आफ्ना उत्पादन केन्द्र तथा आयात हुने क्षेत्रबाट चिप तथा आर्टिफिसिल इन्टिलिजेन्ससँग सम्बन्धित प्राविधिक वस्तुहरुलाई अमेरिकामै उत्पादन गर्न अग्रसर भइरहेका छन् ।

अमेरिकी वाणिज्य विभागले पछिल्लो समय केही कम्पनीहरुलाई पत्र लेख्दै चीनबाट आयात हुने चिपहरुमा रोक पनि लगाएको छ । उक्त पत्रमै समेटिएको विषय कानुन बन्नसक्ने र चीनबाट चिप आयात गर्नका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था हुनसक्ने पनि त्यहाँका स्रोतहरुमार्फत् सार्वजनिक भएको छ ।

जसकारण विश्वव्यापी बजार धानिरहेका थुप्रै प्राविधिक उत्पादन गर्ने कम्पनीहरुले आफ्नो उत्पादनका लागि आवश्यक चिप तथा मेमोरीहरु अमेरिकामा नै उत्पादन गर्ने वा अहिले भएका ठाउँबाट अन्य देशमा प्रतिस्थापन गरिरहेको छ ।

‘देशको राष्ट्रिय सुरक्षा तथा अमेरिकी सैन्य प्रविधि चीनसम्म नपुगोस्’ भन्ने अमेरिकी सरकारले गरको कडा व्यवस्थाका कारण हाल थुप्रै कम्पनीहरुले यस्तो विकल्प रोजिरहेका छन् ।

माइक्रोनले यसअघि यो दशकभित्रमा १५० बिलियन लगानी गर्ने बताएको छ, जसमध्ये ४० बिलियन अमेरिकामा नै लगानी हुनेछ।

मल्होत्राले बताएअनुसार यो रकममा अनुसन्धान र उत्पादन दुवैको खर्च समेटिएको छ, जसमा आधुनिक प्रविधिको माग धान्ने लक्ष्य प्रमुख छ ।


क्लिकमान्डु