विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी हुने, साढे ३ लाखले भ्रमण गर्ने अपेक्षा



विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघ महिनाको तेस्रो साता प्रदेशको राजधानी औद्योगिक नगरी विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी (सिएनआई २०२३) हुने भएको छ ।

परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेका अनुसार सो प्रदर्शनीमा प्रदेश नं १ सहित मुलुकका विभिन्न स्थान र विदेशमा उत्पादित कृषि तथा औद्योगिक मालसामानहरू राखिनेछ । त्यस्तै कृषि औजार एवं मेसिनरीहरूको प्रदर्शनी र बिक्रीसमेत सो प्रदर्शनीमा हुनेछन् ।

प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रिक प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीहरूको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादनका साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरूको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने छ ।

कृषि उत्पादनका वस्तु सेवाको प्रबर्धन गर्ने, पर्यटन विकास र स्थानीय उत्पादनलाई बजार व्यवस्थापनका लागि एउटा महत्वपूर्ण अवसरको रूपमा सो प्रदर्शनीलाई हेरिएको छ । यसबाट राष्ट्रिय तथा अन्तर्राट्रिय नयाँ लगानीकर्ताहरू आकर्षित हुने विश्वास रहेको प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र राठीले जानकारी गराए ।

उनका अनुसार कृषि, उपभोग्य वस्तु, मिसिनरी औजार, अटो र सेवा क्षेत्रसँग सम्बन्धित उद्योगीहरू र शिक्षा, स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्रका लगानीकर्तासहित सेवा प्रदायक र नागरिक समाजको वृहत्रुपमा सहभागिता हुनेछ । प्रदर्शनीबाट ५० करोड रूपैयाँकको आर्थिक कारोबार हुँदा आर्थिक विकासका लागि महत्वपूर्ण अवसर प्राप्त हुने निश्चित छ ।

सो प्रदर्शनीमा स्वदेशी तथा भारत, चीन, बंगलादेश, पाकिकस्थानलगायतका विदेशी मुलकहरूका मालवस्तुहरू उपलब्ध हुने जानकारी दिएको छ । विराटनगर-२ शंकरपुरमा हुने प्रदर्शनी स्थलमा व्यापार व्यवसायबाहेक अन्य गतिविधि पनि गरिने भएको छ । जसमा विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम, फनपार्कसमेत समावेश गरिएको छ । यसले युवा तथा बालबालिका लागि सकारात्मक उर्जा र विकास हुने अपेक्षा आयोजक समितिले राखेको छ ।

प्रदर्शनी आगामी माघ १९ देखि माघ २८ गतेसम्म १० दिने सञ्चालन हुने जनाइएको छ। प्रदर्शनीका लागि जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका र पर्यटन बोर्डबाट गत वर्षको चैत महिनामा नै स्वीकृति प्राप्त भइसकेको परिसंघका अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रदर्शनीबाट स्वदेशी वस्तु उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान र प्रवर्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।

उद्योगी तथा.संविधानसभाका सांसद् पवन सारडाले भने, ‘बेलाबेला हुने यस्ता प्रदर्शनीले आर्थिक गतिविधि बढ्न सहयोग पुग्छ । साथै काठमाडौंपछि विराटनगर दोस्रो ठुलो सहरको रुपमा कायम रहन टेवा पुग्छ । यसका लागि विराटनगरले वर्षमा चारवटा प्रदर्शनीहरू आयोजना गरेपनि हुन्छ ।’

तर एउटै समयमा चाहीँ यस्ता प्रदर्शनीहरू नगर्नु नै उचित हुनेले बताए ।

प्रदर्शनीमा ३ सय ५० स्टलहरू हुने प्रदर्शनी आयोजक समितिकी सह-संयोजक गिरिजा सारडाले जानकारी दिइन् । ुहाम्रो सम्मान, हाम्रो स्वभिमानु भन्ने नारा दिएर प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।

प्रदर्शनीका लागि विभिन्न उद्योगी व्यापारिक निजी संस्थाहरूले एटल बुक गराउन थालिसकेको सिएनआई प्रदेश नं १ का अध्यक्ष घिमिरेले जानकारी दिए । कृषि तथा औद्योगिक प्रदर्शनीको बारेमा सिएनआई प्रदेश नं १ ले सोमबार नै विराटनगरमा पत्रकार भेटघाट गरेको थियो ।
माघमै अर्को विराट एक्स्पो हुँदै

उद्योग संगठन विराटनगरले आगामी माघमा विराट एक्स्पो (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) गर्ने भएको छ । उसले आगामी माघ २६ देखि फागुन ३ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो ।

संगठनका महानिर्देशक चुडामणि भट्टराईले एक्स्पोको तयारी आन्तरिकरुपमा अघि बढिसकेको जानकारी दिए । उनले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विगतकै एक्स्पो र प्रदर्शनीहरूकै निरन्तरताका रुपमा यसपटक उद्योग संगठनले एक्स्पो आयोजना गर्न लागेको बताए ।

मोरङ व्यापार संघ र उद्योग संगठनले आलोपालो रुपमा विराटनगरमा एक्स्पोहरू आयोजना गर्दै आएका छन् । आगामी एक्स्पो आयोजना सातौं चरणको हुने बताइएको छ ।

संगठनले २०५३ सालदेखि कोशी महोत्सवबाट विराटनगरमा एक्स्पोको सुरुवात गरेको हो । त्यसपछि २०५७ मा पूर्वाञ्चल व्यापार मेला, २०६२ मा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी आयोजना गरिएको थियो । त्यसयता संगठनले आफ्नो पालोमा २०६६, २०७३ र २०७६ मा समेत विराट एक्स्पो आयोजना गरेको थियो ।

आगामी एक्स्पोमा करीब ४०० वटा स्टल रहने जनाइएको छ । स्टलहरूमा १४ वटै जिल्लाको प्रमुख कृषि, त्यहाँका उद्योगको उत्पादन र पर्यटकीय क्षेत्र झल्किने डिस्प्लेहरू राखिने जनाइएको छ ।

एक्स्पोलाई फरक किसिमको बनाउन यसपटक क्षेत्रगत सेमिनार, दैनिक पर्यटकीय गन्तव्य प्याकेज, विटुवी बैठक, स्थानीय फुड फेस्टिभल र विभिन्न जातजातिको भेषभुषालाई समावेश गरी सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।

एक्स्पो अवधिमा बेलुका साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिने छन् । मनोरञ्जनका लागि उपयुक्त हुने हेलिकप्टरको सुविधासहित अन्य व्यवस्थाहरूसमेत एक्स्पोमा राखिने जनाइएको छ ।

एक्स्पोले औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादकत्व र उपभोक्ताबीचको सम्बन्ध विस्तार, उत्पादकहरूबीच स्वस्थ्य प्रतिस्पर्धा, सम्भावित बजार र प्रविधिको पहिचान, लगानीमैत्री वातावरण निर्माण आदिमा सहयोग पुर्याउने उद्देश्य रहेको जनाइएको छ ।

महानिर्देशक भट्टराईले मुलुकभरिको औद्योगिक उत्पादनहरूका साथै सार्क राष्ट्रका प्रदर्शनकर्ताहरूको समेत सहभागिता रहने भएकोले आर्थिक एवं औद्योगिक प्रवद्र्धनमा एक्स्पोले सहयोग पुर्याउने दाबी गरे ।

एक्स्पोमा २० भन्दा बढी क्षेत्रका तीन सय बढी स्टल रहनुका साथै झापा, मोरङ र सुनसरीलगायत भारतको सीमावर्ती क्षेत्रबाट ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु