ओप्पो मोबाइलको नेपाली वितरक भाडा नतिरी भाग्यो, मुद्दा हाल्ने घरबेटीको तयारी



दुई महिनाको अग्रिम भाडा तिर्ने गरी घर भाडामा लिने सम्झौता गरेको ओप्पो मोबाइलको वितरक तीन महिनाको घर भाडा नतिरी फरार भएको छ ।

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी ओप्पोको नेपाली वितरक घरबेटीको भाडा नतिरी फरार भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँस्थित हात्तीमहांकाल मार्ग घर नम्बर ९४/५८ भाडामा लिएको ओप्पो मोबाइलको वितरक डीएस नेपाल प्रालि भाडा नदिइ भागेको हो ।

सम्झौताअनुसार डीएस प्रालिले प्रतिमहिना २ लाख ११ हजार ७५० रुपैयाँ घर भाडा तिर्नुपर्छ ।

डीएस नेपाल प्रालि २०७३ असार १ गतेदेखि संगिता बस्नेतको नाममा रहेको घरमा बहालमा बस्दै आएको थियो । कम्पनीले गत (२०७९) बैशाखमा दुई वर्षका लागि घर भाडामा लिने सम्झौता नवीकरण गरेको थियो ।

पहिलो पटक २०७३ असार १ ओप्पो डीएस प्रालिका तर्फबाट चिनियाँ नागरिक यू बाओ जाओले २ वर्ष घर भाडामा लिने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पत्रमा घरधनी संगिता बस्नेतले समेत हस्ताक्षर गरेकी थिइन् ।

सम्झौताको अवधि २०७५ असार १ मा समाप्त भयो । त्यसपछि २०७५ पुषमा दोस्रो पटक घरभाडामा दिने गरी सम्झौता नवीकरण भएको थियो ।

उक्त सम्झौतामा पनि घरधनी संगिता बस्नेत र चिनियाँ नागरिक यू बाओ जाओले नै हस्ताक्षर गरेका थिए ।

दोस्रोपटक तीन वर्षको लागि सम्झौता गरिएको थियो । २०७८ माघमा सम्झौताको अवधि समाप्त भयो । त्यसपछि २०७९ बैशाखमा फेरि दुई वर्षका लागि घर भाडामा लिने सम्झौता भयो ।

दुईपटक ओप्पो डीएस प्रालिको नामबाट सम्झौता भए पनि तेस्रो पटक सम्झौता हुँदा कम्पनीको नाम परिवर्तन भएर डीएस प्रालि राखिएको छ ।

यस्तै, सम्झौतामा पनि चिनियाँ नागरिकको सट्टा नेपाली नागरिक उत्तमबहादुर न्येसारले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा केही विवाद भए मुलुकी देवानी संहिता २०७४ बमोजिम कानूनी उपचारमा जाने उल्लेख छ ।

५ वर्षसम्म नियमित भाडा दिएर बसेको कम्पनी गत असारदेखि भाडा नदिइ घरबाट भागेको घरधनी संगीता बस्नेतले जानकारी दिइन् ।

‘कम्पनीले गत जेठमा घर खालि गर्न लागेको भन्दै इमेल गरेको थियो । हामीले सम्झौताको शर्तअनुसार ३ महिनाको अग्रिम जानकारी दिन र घर मर्मत गर्न भनेका थियौं,’ बस्नेतले भनिन्, ‘तर, उनीहरुले हामीलाई थप केही जानकारी दिएनन् । दुई साता अगाडि छिमेकीले ढोका खुल्ला रहेको जानकारी दिएपछि ओप्पोले घर छोडेको थाहा पाएका थियौं ।’

सम्झौतामा घर छोड्नुभन्दा ३ महिना अगाडि जानकारी गराउनु पर्ने र घर छोड्दा चाबी हस्तान्तरण गर्नु पर्ने उल्लेख भए पनि सम्झौता अवधि बाँकी छँदै बिनाजानकारी घर छोडेको घर धनीको आरोप छ ।

‘हामीले ओप्पोको नेपाल प्रमुख रहेका चिनियाँ नागरिक ली जेङलाई घर भाडा तिर्न आग्रह गरेका थियौं,’ बस्नेतले भनिन्, ‘उल्टै लि जेङले हामीलाई धम्की दिए । उनले भने, म घर भाडा तिर्दिन्, तिमिहरु जे सक्छौं त्यही गर ।’

उसले आफैं जे सक्छौं गर भनिसकेपछि कानूनी उपचारका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्न लागेको बस्नेतलले जानकारी दिइन् ।

‘उसले ६ लाख ३३ हजार घरभाडा तिर्नु पर्नेछ, यस्तै घर मर्मत गर्न १०/१२ लाख रुपैयाँ लाग्ने प्राविधिकले जानकारी दिएका छन्,’ बस्नेलले भनिन्,‘२०/२२ लाख रुपैयाँ धेरै ठूलो होइन । तर, नेपालमा आएर नेपाली नागरिकलाई धम्की दिने, न्यायाधीशलाई खरिद गरेर मुद्दा जित्छु भन्ने गतिविधि गरेपछि हामी बाध्य भएर अदालत जान लागेका हौँ ।’

आफूले करारका कुनै पनि शर्त उलंघन नगरेकाले अदालतबाट न्याय पाउने बस्नेतको विश्वास छ ।

क्लिकमाण्डूले भाडा नतिरी भागेको विषयमा कुरा गर्न डीएस प्रालिका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका उत्तमबहादुर न्येसारलाई पटक पटक फोन गरेको थियो । न्येसार एक पटक फोन उठाए । तर, घरभाडा विवादको विषयमा कुरा गर्न खोजेको बताएपछि उनले फोन काटे । यसपछि पटक पटक फोन गर्दा समेत उनले फोन उठाएनन् ।


क्लिकमान्डु