बुध्द एयरले ९ महिनामै गर्यो साढे ७ अर्ब बढी आम्दानी, कोरोनाअघिको भन्दा बढी व्यापार



काठमाडौं । बुध्द एयरले ९ महिनाको अवधिमै साढे ७ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७ अर्ब ६९ करोड ३० लाख (अपरिष्कृत) रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

आन्तरिक तथा बाह्य (भारत) मा हवाई उडानको सेवा प्रदान गर्दै आएको कम्पनी नेपालको सबैभन्दा ठूलो र पुरानो एयरलाइन्स कम्पनी हो । सन् १९९६ देखि हवाई उडानको सेवा प्रदान गर्दै आएको कम्पनीको अध्यक्ष सुरेन्द्र बहादुर बस्नेत हुन् । व्यवस्थापन निर्देशकमा उनकै छोरा विरेन्द्रबहादुर बस्नेत छन् ।

शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँ र १ करोड ८० लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।

कोभिड–१९ का कारण कम्पनीको व्यापार निकै खस्किएको थियो । जसले गर्दा लिएको ऋणमा इक्रा नेपालले वाचलिस्टमा राखेको थियो । तर, कोरोनापश्चात सन् २०२२ को ९ महिनाको अवधिमा उच्च आम्दानी गरेकाले कम्पनीलाई वाचलिस्टबाट हटाइएको छ ।

कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा आन्तरिक हवाई उडानमा यात्रुको संख्या उल्लेख्य बढ्दा राम्रो आम्दानी गरेको जनाएको छ । साथै, आगामी दिनमा समग्र पर्यटकको संख्या बढ्दै जाने र आम्दानी पनि बढ्ने कम्पनीको भनाइ छ ।

कोरोना महामारीका कारण सरकारले लगाइएको लकडाउन तथा कडाइले गर्दा दुई आर्थिक वर्ष कम्पनीको आम्दानी निकै घटेको थियो । तर, कोरोनापछि सन् २०२२ मा मासिक ८५ करोड ५० लाखको हाराहारीमा आम्दानी गरेको छ ।

कोरोनाअघि अर्थात् सन् २०१९ मा कम्पनीले मासिक ५६ करोड ७० लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो । कम्पनीले कोरोना शुरु भएकै बेलामा एटीआर–७२ को ३ वटा हवाई थप गरेको थियो । उक्त हवाई थप गरेकाले पनि आम्दानीमा उछाल आएको कम्पनीको भनाइ छ ।

तर, बजार सन् २०२२ को ९ महिनाको अवधिमा बुध्द एयरको बजार हिस्सा भने गुम्दै गएको देखिन्छ । सन् २०२१ मा कम्पनीको बजार हिस्सा ५८ प्रतिशत थियो भने सन् २०२२ को ९ महिनाको अवधिमा बजार हिस्सा ५६ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी, कम्पनीले अन्तर्राष्ट्रिय उडानबाट पनि उच्च आम्दानी गरेको छ । कम्पनीले सन् २०२१ मा आम्दानी गरेकोमध्ये १ प्रतिशत ओटेकोमा सन् २०२२ को ९ महिनाको अवधिमा ३ प्रतिशत हिस्सा ओगटेको छ ।


क्लिकमान्डु