डुवानको समस्या हलगर्न छिट्टै धोविखोला कोरिडोर एकीकृत गुरुयोजना अघि बढ्छः मन्त्री चौधरी



काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरी योजना अगाडि बढाउनुपर्ने बताएका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको धोविखोला कोरिडोर कपन-बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठुला बडा मात्र सहभागि भएको जस्तो हुनुभएन’ उनले भने ‘स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ ।’ मन्त्री चौधरीले डुवानको समस्या समेत हल हुनेगरी छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताए ।

कार्यक्रममा सांसद गगन थापाले उक्त क्षेत्रमा खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको दुखेसो पोखे । उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समेत ध्यान दिन सुझाए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोविखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको जनाए ।

उनले आयोजनाको प्रस्तावित नाम धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र श्रोतको सुनिस्चतता अर्थमन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी समेत गराए ।

कार्यक्रममा प्रदेश सांसद कुशुम कुमार कार्की, न्हुछे नारायण श्रेष्ठ, विषय विज्ञ प्रा.डा. नरेन्द्र मान शाक्य, डा. संजय उप्रती, डा. भगवान रत्न कंसाकार, डा. जिव राज पोखरेल, पद्म सुन्दर जोशी, प्रकाश चन्द्र घिमिरे, डा. चिरन्जिवि भट्टराई, गोविन्द शर्मा पोखरेल, कपन-बुढानिलकण्ठ क्षेत्रका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, समाजसेवी लगायत विभिन्न सरोकारवाला पक्षहरुसँग डुवान समस्या समाधानका लागि छलफल गरिएको थियो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सहरी विकासलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको जानकारी दिइन् ।


क्लिकमान्डु