८ वर्षमा ३७ मेट्रिक टन सुन आयात, चाँदी १ हजार टन



काठमाडौं । नेपालले ८ वर्षको अवधिमा ३७ मेट्रिक टन आयात गरेको छ । वार्षिक ५ मेट्रिक टनभन्दा बढी आयात गर्दै आएको सुन ८ वर्षको अवधिमा ३५.५२१ मेट्रिक टन सुन नेपाल भित्रिएको सरकारीले तथ्याङ्कले देखाउँछ ।

नेपालीहरूले सम्पत्तिको नाममा पहिलो प्राथमिकता घरजग्गालाई राखेका छन् । घरजग्गापछि सबैभन्दा बढी सुन जोड्ने गर्छन् । जसले गर्दा नेपालमा वार्षिक ५ मेट्रिक टनभन्दा बढी खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अहिले सरकारले व्यवसायीहरूलाई दैनिक १० केजी सुन बजारमा वितरण गर्दै आएको छ । उक्त सुन बागमति प्रदेशका व्यवसायीहरूलाई ५ केजी र अन्य प्रदेशलाई ५ केजी वितरण हुँदै आएको छ ।

तर, बजारमा विभिन्न चाडपर्वको समयमा सुनको माग उच्च हुने गर्छ । सो समयमा १० केजी सुनले नपुग्ने भन्दै व्यवसायीहरूले कोटा बढाउनुपर्ने माग गर्दै आएका छन् ।

तर, पछिल्लो समय विदेशी सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले सुन आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ । सो व्यवस्था गरेपनि सुनको आयातमा भने कमी आएको छैन ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक २०७८/७९ सम्ममा ३७ मेट्रिक टन सुन आयात भएको देखाउँछ । उक्त सुन आयात गर्दा नेपालबाट १ खर्ब ८८ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ बाहिरिएको छ ।

नेपालले आव २०७१/७२ मा ६ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ १.८०३ मेट्रिक टन आव २०७२/७३ मा १६ अर्ब ७ करोड ९५ लाख रुपैयाँको ४.१६५ मेट्रिक टन, आव २०७३/७४ मा २३ अर्ब २३ करोड १६ लाख रुपैयाँको ५.४५० मेट्रिक टन र आव २०७४/७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख रुपैयाँको ७.२३२ मेट्रिक टन सुन आयात गरेको थियो ।

त्यस्तै, आव २०७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको ७.४९२ मेट्रिक टन, आव २०७६/७७ मा १३ अर्ब ४६ करोड ४ लाख रुपैयाँको २.४ मेट्रिक टन, आव २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँको ३.९२५ मेट्रिक टन र आव २०७८/७९ मा ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको ५.०५३ मेट्रिक टन सुन आयात गरेको छ ।

नेपालले स्वीजरल्यान्ड, टर्की र युएईबाट सुन आयात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

१ हजार ३८ मेट्रिक टन चाँदी आयात

त्यसैगरी, नेपालले ८ वर्षको अवधिमा १ हजार ३८ मेट्रिक टन चाँदी आयात गरेको छ । नेपालले उक्त चाँदी आयात गर्दा नेपालबाट ६६ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बाहिरिएको छ ।

नेपालले आव २०७१/७२ मा ७ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको १३७ मेट्रिक टन, आव २०७२/७३ मा ७ अर्ब १२ करोड २४ लाख रुपैयाँको १४० मेट्रिक टन, आव २०७३/७४ मा ८ अर्ब ६० करोड ७५ लाख रुपैयाँको १४० मेट्रिक टन र आव २०७४/७५ मा १० अर्ब १९ करोड ३० लाख रुपैयाँको १८७ मेट्रिक टन आयात गरेको छ ।

त्यसैगरी, आव २०७५/७६ मा ७ अर्ब २० करोड ६० लाख रुपैयाँको १२९ मेट्रिक टन, आव २०७६/७७ मा ६ अर्ब १ करोड रुपैयाँको ९२ मेट्रिक टन, आव २०७७/७८ मा ७ अर्ब ३२ करोड ६९ लाख रुपैयाँको ७२ मेट्रिक टन र आव २०७८/७९ मा १३ अर्ब ९ करोड २९ लाख रुपैयाँको १३८ मेट्रिक टन आयात गरेको छ ।

नेपालले चीन, हङकङ, भारत, इन्डोनेशिया, सिङगापुर, स्वीजरल्यान्ड, टर्की र युएईबाट चाँदी आयात गर्दै आएको छ ।


क्लिकमान्डु