अलैंची निर्यात ३१ प्रतिशतले घट्यो, निरन्तर मूल्य घट्दा विस्थापन हुँदै किसान



काठमाडौं । नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तुको हो अलैंची । वैदेशिक व्यापारघाटा कम गर्न ठूलो योगदान रहेको अलैंची देशभर ४३ भन्दा बढी जिल्लामा उत्पादन हुँदै आएको छ ।

करिब ७० हजारभन्दा बढी परिवार आश्रित रहेको अलैंची क्षेत्रबाट नेपालले वार्षिक अर्बौ रुपैयाँको निर्यात गर्दै आएको छ । उत्पादनमध्ये ४ प्रतिशतमात्रै नेपाली बजारमा खपत हुने अलैंची पूर्ण रुपमा निर्यात हुने गर्छ ।

तर, पछिल्लो समय अलैंचीको निर्यात घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३१.४६ प्रतिशतले निर्यात घटेको छ। नेपालले गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५३ लाख ६७ हजार ४४३ केजी अलैंची निर्यात गरेको तथ्याङ्क छ ।

नेपालले आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको ८८ लाख ५७ हजार ३४२ केजी अलैंची निर्यात गरेको थियो । सो रकम र परिमाणमा निर्यात भएको तथ्याङ्क हालसम्मकै उच्च हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष भने ३१ प्रतिशतले घटेको तथ्याङ्क छ ।

त्यस्तै, नेपालले आव २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लाखको र आव २०७५/७६ मा ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँको निर्यात गरेको थियो ।

नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले गत वर्ष उत्पादन २० प्रतिशतले घटेकाले निर्यात सोहीअनुसार कम भएको बताए । उनकाअनुसार अघिल्लो वर्ष उच्च उत्पादन भएकाले निर्यात पनि हालसम्मकै बढी भएको थियो । तर, गत वर्ष भने उत्पादन कम हुँदा प्रत्यक्ष असर निर्यातमा देखिएको छ ।

तर, यस सरकारी तथ्याङ्कले भने गत वर्ष सबैभन्दा बढी अलैंची उत्पादन भएको उल्लेख छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत वर्ष ११ हजार ६२१ मेट्रिक टन अलैंची उत्पादन भएको देखाउँछ । जुन विगतको वर्षहरूमा सो परिमाणमा उत्पादन हुन सकेको थिएन ।

आर्थिक सर्वेक्षणअनुुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ५ सय मेट्रिक टन, आव २०७५/७६ मा ७ हजार ९५४ मेट्रिक टन, आव २०७६/७७ मा ९ हजार ५४५ मेट्रिक टन र आव २०७७/७८ मा ८ हजार २८९ मेट्रिक टन उत्पादन भएको थियो ।

सरकारी तथ्याङ्कअनुसार वर्षेनी अलैंची उत्पादन बढ्दै गएको देखिएपनि वास्तविकता भने घट्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् । अध्यक्ष भट्टराईले पनि पछिल्लो समय अलैंचीको उत्पादन घट्दो क्रममा रहेको बताए ।

‘गत वर्ष उत्पादन पनि कम र मूल्य पनि घटेको थियो । जसले गर्दा अलैंचीको निर्यात उच्च घटेको हो,’ उनले क्लिकमाण्डूसँग भने । त्यसैगरी, अलैंची मसलाजन्य वस्तु भएकाले माग र आपूर्तिको आधारमा निर्यात हुने उनको भनाइ छ ।

घट्दो क्रममा मूल्य

विगतमा प्रतिकेजी नै २५ सय रुपैयाँसम्म बिक्री भएको अलैंचीको मूल्य भने पछिल्लो समय घट्दो क्रममा रहेको संघले जनाएको छ । संघकाअनुसार २०७० सालदेखि अलैंचीको मूल्य घट्दो क्रममा छ ।

कुनैबेला प्रतिकेजी २५ सय र प्रतिमन (४० केजी) को १ लाख रुपैयाँको हाराहारीमा बिक्री भएको अलैंची अहिले प्रतिकेजी ७ सयदेखि ८ सयसम्म र प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । यो वर्ष आलैंची प्रतिमन ३२ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

नेपालमा पछिल्लो समय पहाडका अधिकांश क्षेत्रका किसानहरू अलैंची खेतीमा जोड दिँदै आएका थिए । तर, किसानहरूले भनेअनुसार मूल्य नपाएपछि विस्तारै अन्य क्षेत्रका व्यवसायमा आकर्षित हुन थालेका छन् ।

त्यस्तै, कुनैबेला २० हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको अलैंची अहिले १७ हजार हेक्टरमा सीमित भएको छ । आव २०७४/७५ मा १८ हजार हेक्टर क्षेत्रफल र आव २०७५/७६ मा २० हजार ८८० हेक्टर क्षेत्रफलमा फैलिएको अलैंची खेती गत वर्ष १७ हजार १५ हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ । आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफल र आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भएको थियो ।

भारतको उत्पादनले नेपाली बजारमा असर

भारतमा अलैंची उत्पादन नेपालभन्दा पनि अगाडिदेखि नै हुँदै आएको हो । भारतको सिक्किमबाट शुरु भएको अलैंचीखेती पछिल्लो समय भारतका विभिन्न प्रान्तमा व्यवसायिक रुपमा हुन थालेको छ ।

भारत सरकारले अलैंची खेतीका लागि विभिन्न प्रकारका अनुदान तथा सहुलियतको व्यवस्थाले गर्दा विगत ५ वर्षदेखि भारतमै उच्च उत्पादन भइरहेको अवस्था छ । भारतमा उत्पादन बढेसँगै नेपाली अलैंचीले बजार र मूल्य कम पाउन थालेको व्यवसायीहरूको भनाइ छ ।

‘भारतमा अलैंची उत्पादन भएसँगै नेपालको अलैंचीको व्यापारमा प्रत्यक्ष असर पारेको छ,’ उनले भने, ‘अहिले मूल्यसँगै बजार पनि खुम्चिन पुगेको छ ।’

नेपालले गत वर्ष ४ अर्ब ८१ करोडको अलैंची निर्यात गर्दा भारततर्फ मात्रै ४ अर्ब ७७ करोड ८९ लाख रुपैयाँको ५२ लाख ९७ हजार केजी अलैंची निकासी गरेको थियो । साथै, बाँकी ३ करोड ४४ लाख रुपैयाँको ७० हजार केजी पाकिस्तान निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

साथै, भारतले अझै व्यवसायिक रुपमा उत्पादन बढाउने हो भने नेपालको अलैंचीले मूल्य नै नपाउने उनको भनाइ छ । अहिले पनि अस्साममा उत्पादन भएको अलैंची बजारमा आउन थालेपछि नेपालको अलैंचीको माग हुँदैन । त्यसैले, भारतको उत्पादनले गर्दा नेपाली बजारको अलैंचीमा ह्रास आइरहेको उनले बताए ।

सम्भावित देशमा पठाउने तयारी

विगत लामो समयदेखि अधिकांश भारत र केही मात्रामा पाकिस्तानमा मात्रै निर्यात हुँदै आएको अलैंचीलाई अन्य देशमा पनि निर्यात गर्ने तयारी गरेको छ । भारतमा मात्रै नभएर अन्य देशमा पनि निर्यात गर्ने तयारी भइरहेको भट्टराईले बताए ।

युएई, कतार, साउदी अरेबिया, इरान, इराक, अफगानिस्तानमा अलैंची पठाउन सक्ने अवस्था छ । त्यसैले, आगामी दिनमा सो देशहरूमा निर्यात गर्नका लागि कार्यहरू भइरहेको छ ।

‘अहिले विश्वका विभिन्न देशहरूमा नेपालको अलैंची मसलाको रुपमा एक, दुई वटा प्याकेटमा निर्यात भइरहेको अवस्था छ । तर, तथ्याङ्कमा देखिँदैन,’ उनले भने, ‘सम्भवत यो वर्षदेखि नै साना साना भए पनि कन्टेनरहरूलाईं वायर हाउसमा राखेर माग भएको देशमा निर्यात गर्ने तयारी गरेको छ ।’

नेपालमा ४३ वटा जिल्लामा अलैंची उत्पादन हुँदै आएको भनिए पनि अहिले ५३ वटा जिल्लामा उत्पादन हुने गरेको संघले जनाएको छ । त्यसमध्ये ताप्लेजुङले मात्रै २७ प्रतिशत ओगटेको छ । त्यसपछि संखुवासभाले २१ प्रतिशत, पाँचथरले १२ प्रतिशत, इलामले १० प्रतिशत र खोटाङले ८ प्रतिशत ओगटेको छ भने बाँकी २२ प्रतिशत धनकुटा, तेह्रथुम लमजुङ, गोर्खा, दोलखा, रामेछाप, काभ्रे, कास्कीलगायतका जिल्लामा उत्पादन हुने गरेको छ ।


क्लिकमान्डु