४७ अर्ब ऋण लिएर वायुसेवा निगम अध्यक्षले निजी कम्पनी सरह चलाए: पर्यटन मन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमका अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाएका छन् ।

बुधबार नेकपा (एकीकृत समाजवादी) केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले निगमले सबै आन्तरिक तथा वाह्य जहाजहरुलाई उडान गर्न नसकेको बताए ।

निगमका अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इञ्जिन मर्मतमा ध्यान नदिएको उनको आरोप छ ।

जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भए पनि निगमले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको भन्दै उनले असन्तुष्टि पोखे ।

मन्त्री श्रेष्ठले निगमले मन्त्रालयसँग कुनै पनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने बताए ।

‘नेपाल एयरलाइन्स अहिले थला परेर बसेको छ । अब म आफैँ मन्त्री भएर धेरै कुरा के गर्नु ? सरकारको जमानीमा ४७ अर्ब रुपैयाँ ऋण दिएर नेपाल एयरलाइन्सले विमान किनेको छ । अहिले आन्तरिक विमान एउटा चलेको छ, सबै थला परेका छन् । त्यसलाई व्यवस्थापन गर भन्छु, अहिलेको नेतृत्वले केही गर्दैन,’ उनले भने ।

मन्त्री श्रेष्ठले निगम अध्यक्षले निजी कम्पनी चलाएको जस्तो गरेर संस्था चलाउन खोजेको आरोप लगाए ।

‘मन्त्रालयसँग कुनै समन्वय नै गर्दैन । ४७ अर्ब सरकारले ऋण दिएको छ । त्यो जनताको पैसा हो । तर त्यहाँ प्राइभेट कम्पनी चलाएको जस्तो चलाएको छ । एउटा अध्यक्षले प्राइभेट कम्पनी चलाएको जस्तो चलाएको छ,’ मन्त्री श्रेष्ठले भने ।

सरकारले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने स्थिति भयो भने नेपाल एयरलाइन्स समाप्त हुने उनको भनाइ थियो ।

‘जनताको ४७ अरब रुपैयाँलाई उपयोग गर्ने स्थिति बनेको छैन । जनताले सुविधा पाउन सकेको छैन । यसलाई सुधार गरेर जानुपर्छ भन्नेकुरामा हामी लागिरहेका छौँ ,’ उनले भने ।

मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार गर्नुपर्ने बताए ।


क्लिकमान्डु