चोलेन्द्रले सीमा बाहिर गएर बयान दिए : विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले प्रतिरक्षाका क्रममा सीमा भन्दा बाहिर गएर भनाइ राखेको उनको आरोप छ ।

प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै समितिसँग प्रश्न गरेको उनले जानकारी दिए ।

सचेतक विश्वकर्माले महाअभियोगको प्रतिरक्षा गर्ने क्रममा जबराले व्यक्त गरेका सबै कुरालाई समितिले समान्य रुपमा लिएको बताए ।

प्रधानन्यायाधीश जबराले राजनीतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा आफूले एकमतले निर्णय गर्न नसकेको र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने कुरा राखका विश्वकर्माले जानकारी दिए ।

‘महाअभियोग नै लाग्नु हुँदैन भन्ने उहाँको प्रतिरक्षा होला । उहाँले राजनीतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्नुभयो’ उनले भने ।

सचेतक विश्वकर्माले महाअभियोग बारेको पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताए ।

संसद र आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाअभियोगको छिनोफानो हुने उनको भनाइ थियो ।

प्राप्त कागजातहरुको अध्ययनका लागि समितिलाई केही समय अझै लाग्ने उनले बताए । जबराको बयानका आधारमा सर्वसम्मतरुपमा समिति निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।

‘६४ वटै प्रश्न आज सकिन्छ जस्तो लाग्दैन । एकोहोरो स्पष्टीकरण मात्रै भएको भए सकिन्थ्यो, तर प्रतिप्रश्न भइरहेकोले सकिन कठिन छ ‘ उनले भने ।


क्लिकमान्डु