मर्मत गर्ने भन्दै रुसले फेरि रोक्यो यूरोपमा ग्यासको आपूर्ति



एजेन्सी । रुसले यूरोपमाथि फेरि ग्यासको आपूर्तिमा रोक लगाएको छ । मर्मत गर्नुपर्ने भएको भन्दै रुसले कम्तीमा तीन दिन ग्यास आपूर्ति रोकिने बताएको छ ।

यसअघि जुलाई महिनामा मर्मतका लागि भन्दै १० दिनसम्म नोर्ड स्ट्रिम १ पाइपलाइन बन्द गरेको थियो ।

रुस र युक्रेनबीचको युद्ध शुरु भएसँगै युरोपले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएपछि रुसले पनि उल्लेख्य मात्रामा ग्यासको आपूर्तिमा कटौती गरेको छ । ग्यास आपूर्तिमा भएको कटौतीलाई रुसले यूरोपमाथि गरेको कारबाहीका रुपमा लिइएको छ ।

नोर्ड स्ट्रिम १ पाइपलाइन सन् २०११ देखि सञ्चालनमा आएको थियो । जसमार्फत् दैनिक १७० मिलियन क्यूबिक मिटर ग्यास रुसबाट जर्मनीसम्म पुग्थ्यो ।

रुसको उक्त कदमपछि यूरोपका लिडरहरु प्रतिबन्ध अझै लम्बिन सक्ने र ग्यासको मूल्य ४०० प्रतिशतभन्दा बढीले बढ्नसक्ने आशंका व्यक्त गरेका छन् । युरोपका लिडरहरुले रुसले ग्यासलाई हतियारका रुपमा प्रयोग गरिरहेको बताएका छन् ।

तर यूरोपले लगाएको आरोपलाई भने रुसी राष्ट्रपति भलाद्मिर पुटिनले भने अस्वीकार गरेका छन् ।


क्लिकमान्डु