सम्पत्ति विवादले एनबी ग्रुप छुट्टियोः जितबहादुरले खोले जेए ग्रुप, एनबी ग्रुप लक्ष्मीबहादुरले चलाउने



काठमाडौं । पछिल्लो दशक विवादमा आइरहने व्यवसायिक घराना एनबी ग्रुप अन्ततः विभाजन भएको छ ।

एनबी ग्रुपको स्थापना नरसिंहबहादुर श्रेष्ठले गरेका थिए । जसलाई नरसिंहबहादुरका छोराहरु जितबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले अगाडि बढाएका थिए ।

सम्पत्तिको विवाद भएपछि बुबाले बनाएको ग्रुप छोराहरुले विभाजन गरेका हुन् ।

एनबी ग्रुपका अधिकांश सदस्यलाई बैंकिङ कसुरको मुद्दा लाग्ने स्थिति थियो । सदस्यहरु बैंकको कालोसूचीमा थिए । तर, सर्बोच्च अदालतले उनीहरुलाई सफाइ दिएको थियो ।

लक्ष्मीबहादुरका छोरा एल्सन श्रेष्ठ अमेरिकामा थिए । अमेरिकामा बस्ने उनी एनबी ग्रुपले ऋण लिएका कम्पनीको व्यवस्थापन र सञ्चालक थिएनन् ।

बैंकिङ कसुरको मुद्दा परिवारका सदस्यलाई लाग्ने भएपछि जितबहादुर र उनका छोराहरुको नाममा रहेको सम्पत्ति लक्ष्मीबहादुरका छोरा एल्सन श्रेष्ठको नाममा नामसारी गरिएको थियो ।

एनबी ग्रुपका लक्ष्मीबहादुरका दुईवटा छोरा एल्सन र विल्सन श्रेष्ठ हुन् भने जितबहादुरका जेन, जस र जिवेश श्रेष्ठ हुन् ।

जितबहादुर कालोसूचिबाट हटेपछि एल्सनको नाममा नामसारी भएको सम्पत्ति फिर्ता गर्न भनेका थिए ।

तर, सम्पत्ति फिर्ता नभएपछि विवाद भएको स्रोतको दावी छ । लक्ष्मीबहादुरको परिवारले भने दाजु जितबहादुरको परिवारले आफ्नो नाममा नभएको सम्पत्ति दावी गरेको आरोप लगाउँदै आएको छ ।

जितबहादुर र लक्ष्मीबहादुरको निकट रहेको स्रोतले दिएको जानकारीअनुसार सम्पत्तिको मुद्दा अदालतमा समेत पुगेको छ । यद्यपी अहिलेसम्म सम्पत्ति विवादको समाधान आन्तरिकरुपमा खोज्ने प्रयास भने जारी रहेको छ ।

सम्पत्तिको विवाद भएसँगै एनबी ग्रुप प्रष्टरुपमा विभाजन भएको हो । अब एनबी ग्रुपको नेतृत्व लक्ष्मीबहादुर श्रेष्ठले गर्नेछन् । एनबी ग्रुपबाट बाहिरिएका जितबहादुर श्रेष्ठले जेए ग्रुप खोलेका छन् ।

गत बैशाखमा कान्तिपुरलाई दिएको अन्तर्वार्तामा जितबहादुर श्रेष्ठले एनबी ग्रुप छाडेको र जेए ग्रुपमार्फत् व्यवसाय अगाडि बढाउने बताएका थिए ।

‘विचार नमिलेकाले हामी छुट्टियौं । मैले जेए ग्रुप स्थापना गरेको छु । म यसको अध्यक्ष छु, अब ठूलो ग्रुपको रुपमा जेए ग्रुपलाई अगाडि बढाउने हो,’ जितबहादुरले अन्तर्वार्तामा भनेका थिए ।

जितबहादुरले अन्तर्वार्तामा विश्वास गरेर अधिकार दिएको र अधिकार दिएको व्यक्तिले एनबी ग्रुपमा इमानदारीपूर्वक काम नगरेको कारण ग्रुप छाडेको बताएका छन् । जितबहादुरले भाई लक्ष्मीबहादुरको परिवारले धोका दिएको आरोप घुमाउरो पारामा लगाएका छन् ।

सम्पत्ति व्यवस्थापन र हस्तान्तरणमा भाई लक्ष्मीबहादुरको परिवारले धोका दिएको आरोप जितबहादुरको थियो । जितबहादुरले होटलदेखि लिएर मलकारखानासम्म खोल्ने योजना अगाडि बढाएका छन् ।

एनबी ग्रुपबाट दाई जितबहादुर बाहिरिएको विषयमा लक्ष्मीबहादुर श्रेष्ठले भने कुनै प्रतिक्रिया दिएनन् ।

‘हामीबीच केही कुरा मिलेन एनबी ग्रुप मैले अब अगाडि बढाउने हो,’ लक्ष्मीबहादुरले क्लिकमाण्डूसँग भने, ‘यो भन्दा थप कुरा गर्न मिल्दैन ।’

एनबी ग्रुपको कुनैबेला दुईवटा वाणिज्य बैंक सञ्चालन गरेको थियो । नेपाल बंगलादेश (एनबी) बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक ग्रुपको लगानीमा खुलेको हो ।

अहिले एनबी बैंक नबिल बैंकमा एक्विजेशनमा गइसकेको छ । एनसीसी बैंकमा कुनैबेला ५० प्रतिशतभन्दा बढी हिस्सा एनबी ग्रुपको हुने गरेको थियो ।

अहिले एनबी र जेए ग्रुप गर्दा १० प्रतिशतको हाराहारीमा हिस्सा रहेको छ । अहिलेको आइएमई जनरल इन्स्योरेन्समा समेत ग्रुपको केही लगानी रहेको छ ।

ग्रुप विभाजन भएसँगै जितबहादुर श्रेष्ठ र उनका छोराहरु जेएन श्रेष्ठ, जिवेश र जस श्रेष्ठलाई साथ लिएर जेए ग्रुपलाई अगाडि बढाएका छन् ।

जेए ग्रुपको अध्यक्षमा जितबहादुर श्रेष्ठ छन् । उपाध्यक्षमा जेएन श्रेष्ठ छन् । यस्तै निर्देशकमा निर्देशकमा जिवेश श्रेष्ठ तथा कार्यकारी निर्देशकमा जस श्रेष्ठ छन् ।

लक्ष्मीबहादुरले छोराहरु एल्सन र बिल्सनलाई साथ लिएर एनबी ग्रुपलाई अगाडि बढाउने छन् ।

पब्लिक कम्पनी नै आफ्नो निजीसरह चलाउने एनबी ग्रुपको नीतिले व्यवसाय अगाडि बढ्न नसकेको एनबी ग्रुपलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

ग्रुपको खराब व्यवस्थापनको कारण तत्कालिन एनबी बैंकमा १६ वर्ष अगाडि निक्षेपकर्ता पैसा निकाल्न लाइन लागेका थिए । त्यसपछि ग्रुपको ओरालो यात्रा शुरु भयो । अहिले ग्रुप नै विभाजन भयो ।


आशीष ज्ञवाली