एनबी ग्रुपमा दाजु-भाईबीच सम्पत्ति विवादः लक्ष्मीबहादुर र जितबहादुर अदालत जाने स्थितिमा



काठमाडौं । सँधैजसो विवादमा पर्दै आएको एनबी ग्रुपको परिवारका सदस्यहरुबीच नै विवाद भएको छ । सम्पत्ति हस्तान्तरणको विषयमा लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठबीच विवाद भएको हो ।

विवादको मध्यस्तता गर्ने काम एनबी ग्रुपका कानूनी सल्लाहकार समेत रहेका बरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका छन् । थापाले विगतमा पनि एनबी ग्रुपको तर्फबाट अदालतमा मुद्दा लड्दै आएका थिए ।

एनबी ग्रुपको ‘इमेज’ राम्रो छैन । विवादै विवादमा रहने तथा अदालतमा अत्याधिक बढी मुद्दा हाल्ने कारणबाट एनबी ग्रुप बदनाम छ ।

यो पटक भने एनबी ग्रुपका दाजुभाई लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठबीच सम्पत्ति बाँडफाँडलाई लिएर विवाद भएको हो ।

एनबी ग्रुपका अधिकांश सदस्यलाई बैंकिङ कसुरको मुद्दा लागिसकेको छ भने बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेपछि कालोसूचिमा पनि परेका छन् । बैंकिङ कसुरको मुद्दा भने शक्तिकेन्द्रसँग गरेको चलखेलबाट उम्केका थिए ।

बैंकिङ कसुरको मुद्दा परिवारका सदस्यलाई लाग्ने भएपछि जितबहादुर श्रेष्ठ र उनका छोराहरुको नाममा रहेको सम्पत्ति लक्ष्मीबहादुरका छोरा एल्सन श्रेष्ठको नाममा नामसारी गरिएको थियो ।

एल्सन श्रेष्ठ अमेरिकामा रहेको हुँदा उनको नाममा कम्पनीहरुको सेयर थिएन भने ऋण समेत उनको नाममा थिएन ।

एनबी ग्रुपका लक्ष्मीबहादुरका दुईवटा छोरा एल्सन र विल्सन श्रेष्ठ छन् भने जितबहादुरका जेन, जस र जिवेश श्रेष्ठ छन् ।

अहिले कर्जा सूचना केन्द्रले ऋण नतिरेको भन्दै लक्ष्मी बहादुर श्रेष्ठ, जितबहादुरका छोरा जेन श्रेष्ठ तथा जितबहादुर श्रेष्ठको श्रीमति अनारदेवी समेत कर्जा सूचना केन्द्रको कालोसूचिमा रहेका छन् । नबिल बैंकबाट काठमाडौं रिक्रियसन सेन्टरको लागि लिएको ऋण नतिरेपछि उनीहरु कालोसूचीमा परेका हुन् ।

जितबहादुर भने कालोसूचिबाट हटेका छन् । जितबहादुरले लक्ष्मीबहादुर र उनका छोरा एल्सन श्रेष्ठको नाममा हस्तान्तरण गरेको विभिन्न कम्पनीको सेयर नामसारी गर्न भनेपनि लक्ष्मीबहादुर उनका छोराले त्यो नमानेको बताएको छ ।

पारिवारिक विवादबारे जानकार स्रोतले भन्यो, ‘जितबहादुरले लक्ष्मीबहादुर र उनका छोराहरुले सम्पत्ति फिर्ता नगरको आरोप लगाएका छन् भने लक्ष्मीबहादुरले जितबहादुरले नभएको सम्पत्ति माग गरेको आरोप लगाएका छन् । अदालतसम्मै जाने स्थिति आएको छ ।’

विगतमा एनबी ग्रुपको तर्फबाट मुद्दा लडेका बरिष्ठ अधिवक्ता शम्भु थापाले मध्यस्तता गरेर विवाद मिलाउन नसकेमा यो विषय अदालतमा जाने छ ।
सिन्धुपाल्चोकका नरसिंहबहादुर श्रेष्ठले एनबी ग्रुपको जग हालेका थिए । उनका छोरा लक्ष्मीबहादुर र जितबहादुरले ग्रुपलाई अगाडि बढाउदै बैंक, वित्त, जलविद्युत् तथा उद्योग क्षेत्रमा व्यवसाय विस्तार गरेका थिए ।

तर, गलत नियतले व्यवसाय चलाउने र पब्लिक कम्पनी नै आफ्नो निजी सरह चलाउने एनबी ग्रुपको नीतिले शक्तिकेन्द्र रिझाउन सफल भए पनि व्यवसाय अगाडि बढेन । एनबी ग्रुपको लगानी रहेका बैंकमा नेपाल बंगलादेश र एनसीसी बैंक हुन् । कुनैबेला बहुमत सेयर रहेपनि अहिले दुवै बैंकमा बहुमत सेयर एनबी ग्रुपको छैन ।

यस्तै नेशनल हाइड्रोपावरमा पनि एनबी ग्रुपको लगानी रहेको छ । एनबी इन्स्योरेन्स एनबी ग्रुपको कारण डुब्ने अवस्थामा पुगेको थियो । जसलाई आइएमई ग्रुपले किनेर आइएमई जनरल इन्स्योरेन्सको नाममा रिब्रान्डिङ गरेर व्यवसायिकरुपमा संचालन गरिसकेको छ ।


आशीष ज्ञवाली