औषधी उत्पादन गर्ने ४ वटा कम्पनीले एकै वर्ष गरे ७ अर्बको व्यापार



काठमाडौं । नेपालमा विभिन्न प्रकारका औषधी उत्पादन गर्ने ४ वटा कम्पनीले ७ अर्ब रुपैयाँको व्यापार गरेका छन् । कम्पनीहरूले सन् २०२१ मा ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

बजारमा आयातित औषधीको हावी छ । नेपालले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट ३९ अर्ब ९७ करोड ५८ लाख रुपैयाँको औषधी आयात गरेको थियो ।

त्यस्तै, नेपालले गत वर्षमात्रै ७६ अर्ब ८ करोड ९७ लाख रुपैयाँको औषधी आयात गरेको सरकारी तथ्याङ्कले देखाउँछ । तर, पनि कम्पनीहरूले आफ्नो क्षमताअनुसार आवश्यक औषधी उत्पादन गर्दै आएका छन् ।

नेपालमा पनि ५० वटाभन्दा बढी औषधी उत्पादन कम्पनी छन् । साथै, नेपालले उच्च रकम खर्चेर औषधी आयात गरिरहेको अवस्थामा स्वदेशी उत्पादन गर्ने कम्पनीहरूलाई उत्पादन वृद्धि गर्न प्रशस्त अवसर रहेको कम्पनीको भनाइ छ । तर, देशमा कच्चा पदार्थलगायत अन्य विभिन्न समस्याले गर्दा आवश्यक औषधी पर्याप्त मात्रामा उत्पादन हुन सकेको छैन ।

त्यस्तै, सन् २०२१ नेशनल हेल्थ केयर, देउराली जनता औषधी कम्पनी, टाइम औषधी कम्पनी र क्वेस्ट औषधी कम्पनीले रेटिङ गराएको छ।

कुन कम्पनीको आम्दानी कति ?

नेशनल हेल्थ केयर प्रालिः नेपालमा विभिन्न प्रकारका औषधी उत्पादन गर्ने नेशनल हेल्थ केयर प्रालिले सन् २ अर्ब ६२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब २२ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

विगत दुई दशकदेखि औषधी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै कम्पनीको देशभर ९ सय स्टकिस्ट छन् । कम्पनीले विभिन्न २२ क्याटागोरीमा ३५० वटाभन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले मुख्य एन्टीमाइक्रोबायल र एन्टीब्याक्टेरियल औषधी उत्पादन गर्दै आएको छ ।

कम्पनीले १ अर्ब ४० करोड लगानी गरी थप गरी उत्पादनमा जोड दिने तयारी गरेको छ ।

देउराली जनता फार्मेसी प्रालिः देउराली जनता फार्मेसी प्रालिले सन् २०२१ मा १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२० मा कोभिडका कारण उत्पादन क्षमतामा कमी आएकाले व्यापारमा ओरालो लागेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न प्रकारका उत्पादनमा जोड दिएकाले भविष्यमा व्यापार बढाउने र दिगोपन पनि कायम गर्ने उल्लेख गरेको छ ।

कम्पनीले यसअघि २०१६ देखि २०१९सम्म १३ प्रतिशतले आफ्नो व्यापार बढाउँदै गएको थियो । यद्यपी सन् २०२० को शुरुवातीमा आएको कोरोनाका कारण सप्लाई चेन नमिल्दा २२ प्रतिशतले व्यापार कम भएको थियो । तर, २०२१ मा आइपुग्दा व्यापारमा रिबाउन्ड भएर २३ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीको हाल २०० बढी वितरक छन् भने अन्य आन्तरिक बजारमा धेरै स्टक होल्डरहरू छन् ।

आन्तरिक बजारमा फार्मेसीको ठूलो प्रतिस्पर्धा रहेको छ । साथै, ५० भन्दा बढी उद्योगहरू छन् । जसले गर्दा बजारमा कम मूल्यमा उत्पादन गरेर सस्तो मूल्यमा बिक्री गर्नुपर्ने निकै चुनौती रहेको छ ।

हरि भक्त शर्माको पूर्णस्वामित्वमा रहेको कम्पनीले कार्डिभास्कुलर, डाइबेटिज, आइनोकोलोजी, ग्यास्ट्रोलोजीलगायत अन्य विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको छ ।

टाइम औषधी प्रालिः सन् १९९४ मा स्थापना भएको र सन् १९९७ बाट व्यापार शुरु गरेको टाइम औषधी प्रालिले सन् २०२१ ७९ करोड ११ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ६८ करोड ६३ लाख रुपैयाँ व्यापार गरेको थियो । त्यसैगरी, सन् २०१८ मा ७२ करोड र सन् २०१७ मा ६५ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले एन्टीबायोटिक, एन्टीकोल्ड, सप्लिमेन्ट्स, एनाल्जेसिक र एन्टीडाइबेटिक औषधी उत्पादन गर्दै आएको छ । जी. नारायण बहादुर क्षेत्रीको १० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीमा ४० जना शेयरहोल्डर छन् । नेपालकै सबैभन्दा पुरानो औषधी उत्पादक कम्पनीको देशभर २०० वटा वितरक छन् ।

क्वेस्ट औषधी प्रालिः क्वेस्ट औषधी प्रालिले सन् २०२१ मा करिब २ अर्ब रुपैयाँको आम्दानी गरेको छ । नेपालमै पहिलो पटक कार्डियक खण्डमा अणु सार्वजनिक गरेको कम्पनीले सन् २०२१ मा १ अर्ब ९५ करोड रुपैयाँको आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२० मा १ अर्ब ८० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले हरेक वर्ष आफ्नो आम्दानी बढाउँदै गएको छ । त्यसैले, कम्पनीले सन् २०२२ मा आफ्नो आम्दानी २ अर्ब बढी गर्ने देखिन्छ ।

सन् २००१ मा व्यवसायिक शुरु गरेको कम्पनीले पुरानो रोग सम्बन्धी विभिन्न औषधीहरू उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त औषधीको बिक्री वितरणले गर्दा विगत ५ वर्षदेखि आम्दानी बढेको कम्पनीले जनाएको छ । त्यस्तै, सन् २०२१ मात्रै ६५ प्रतिशतले राजस्व संकलन बढेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले सन् २०१७ देखि सन् २०२१ सम्ममा वार्षिक १३ प्रतिशतले आम्दानी बढेको जनाएको छ । साथै, नाफा पनि राम्रो कमाउन सफल भएको कम्पनीको भनाइ छ ।

आन्तरिक बजारमा औषधी उद्योगको बढ्दो प्रतिस्पर्धा र विभिन्न ५० भन्दा बढी उद्योगहरू भएपनि कम्पनीले राम्रो नाफा कमाउन सफल भएको कम्पनीको दाबी छ ।

कम्पनी पूर्णरुपमा कच्चा पदार्थजस्तै एपीआई, एक्जीपिन्ट र प्याकिङ सामग्री आयातमा निर्भर रहेको छ ।

कम्पनीले ठूलो संख्यामा कार्डिओभास्कुलर, डाइबेटिज, देर्माटोलोजिकल र हाइपोलिपीदेमिक लगायत अन्य औषधीको सामान्य तथा विशेष औषधी उत्पादन गर्दै आएको छ ।

कम्पनीले १०० भन्दा बढी औषधी र २५ वटा विभिन्न विधामा डायबेटिज, कार्डिओभास्कुलर क्षेत्रमा औषधी उत्पादन गर्दै आएकाले आन्तरिक बजारको अग्रणी स्थानमा रहेको कम्पनीको दाबी छ ।

त्यसैगरी, कम्पनीको सन् २०२१ को जुलाईसम्ममा १५ जनासँग शेयर बाँडिएको छ । चार वटा निर्देशक रहेकोमा उमेश लाख श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद शर्माको मात्रै ४५ प्रतिशत शेयर रहेको छ भने बाँकी ११ जनासँग ५५ प्रतिशत शेयर रहेको कम्पनीले उल्लेख गरेको छ ।

३ अर्बको रेटिङ

एक वर्षमा करिब ७ अर्बको व्यापार गरेको औषधी कम्पनीहरूले ३ अर्ब बढीको रेटिङ गराएको छ । कम्पनीहरूले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएका छन् ।

तथ्याङ्अनुसार सन् २०२१ मा ४ वटा कम्पनीले ३ अर्ब ३६ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा नेशनल हेल्थ केयरले १ अर्ब रुपैयाँ, देउराली जनता औषमी कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँ, टाइम औषधी कम्पनीले ६१ करोड ५० लाख रुपैयाँ र क्वेस्ट औषधी कम्पनीले ९३ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु